धनगढी प्रिमियर लिगमा ‘गोल्डेन बुट’ पुरस्कार
काठमाडौं : चैत १७ गतेदेखि धनगढीमा सुरु हुने दोस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको ‘मोस्ट भ्यालुएवल प्लेयर’ ले गोल्डेन बुट (सुनको जुत्ता) पुरस्कार पाउने भएको छ । डीपीएलको मोस्ट भेलुएबल खेलाडीलाई किरण सुज म्यानुफ्याक्चर्सको मुख्य उत्पादन गोल्ड स्टार जुत्ताले गोल्डन बुट प्रदान गर्ने भएको हो । चाँदीमाथि सुनको लेपन लगाइएको गोल्डेन बुट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गरिने आयोजकले जनाएको छ ।
म्यान अफ दी सिरिजका लागि भने छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । डीपीएलका लागि गोल्ड स्टार जुत्ताले प्रतियोगितामा सहप्रायोजनसमेत गरेको छ । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा आइतबार किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणा र डीपीएलका सञ्चालक सुवास शाहीले हस्ताक्षर गरे । सम्झौताअनुसार गोल्ड स्टारले डीपीएलका लागि १६ लाख रुपैयाँ सहयोग गर्नेछ । जसमा नौ लाख नगद र सात लाख रुपैयाँबराबरको जिन्सी हुने जानकारी निर्देशक विदुषीले दिइन् ।
‘लोकप्रिय खेल क्रिकेटमा सहयोग गर्न पाउनु कम्पनीका लागि खुसीको कुरा हो’, विदुषीले भनिन् । वैशाख १ गतेसम्म सञ्चालन हुने डीपीएलमा विभिन्न ६ सहरका फ्रेन्जाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डन्सबीच प्रतिस्पर्धा हुनेछ । लिगको विजेता टोलीले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले पनि १० हजार रुपैयाँ पुरस्कार पाउनेछ । म्यान अफ दी सिरिजलाई मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ ।