बजेट अभावले ठूला सडक परियोजना प्रभावित
पोखरा : मादी करिडरको निर्माण अहिले ठप्प छ । सडक डिभिजन कार्यालय पोखराका अनुसार ६० लाखको काम गरिसकेको ठेकेदार कम्पनीले पैसा पाएको छैन । कार्यालय प्रमुख प्रेम खत्री भन्छन्, ‘२० लाख रुपैयाँजति दिन सक्छौं होला ।’ कास्कीको थुम्सीकोटबाट भैंसेसम्म ९ किलोमिटरमा टेवा पर्खाल र सडक विस्तारको काम भइरहेको करिडर पूरा गर्न अझै ५ करोड रुपैयाँ चाहिन्छ भन्छन् खत्री ।
हिम्ढुङ एन्ड ठोकर जीएसआर जेसीभीले ७५ असारसम्म पूरा गर्नुपर्ने सम्झौता छ । तर, गत वर्ष ६६ लाखको मात्रै काम भयो भने यो वर्ष ६० लाखको काम भएको छ । तर, कार्यालयले केन्द्रबाट बजेट नआएको भन्दै २० लाख रुपैयाँ मात्रै उपलब्ध गराएको छ । ६ करोड ६६ लाख रुपैयाँ ठेक्काको यो करिडर तनहुँ, लमजुङ र कास्कीको त्रिवेणी सिसाघाटबाट कास्कीको सिक्लेससम्म मादी नदीको किनारै किनार निर्माण गर्ने लक्ष्य हो । इन्जिनियर खत्री भन्छन्, ‘पैसा भएको भए मादी करिडरको धेरै काम यही वर्ष सकिन्थ्यो ।’
विकास बजेट खर्च नभएको समाचारहरू आइरहे पनि कास्की र स्याङ्जाका थुप्रै सडक र पुल निर्माणमा भने बजेट अभाव रहेको खत्री बताउँछन् । उनकै भनाइमा पैसा नभएकै कारण सडक र पुलका ठूला ३५ वटा जति परियोजना प्रभावित छन् । त्यसमध्ये २२ वटा सडक परियोजना रहेको जानकारी उनले दिए । ‘हाम्रो कार्यालयको विकास खर्च ५० प्रतिशत छ’, खत्रीले भने, ‘पैसा आएको भए ६७ प्रतिशत पुग्थ्यो ।’
अर्थ मन्त्रालयको सहमति लिएरै कार्यालयले यो वर्षको काम लगाएको भए पनि मादी करिडरमा २० लाख रुपैयाँभन्दा नआएको उनले बताए । कास्कीकै लामाचौरबाट हर्पाक पुग्ने गरी निर्माणाधीन सडकको ठेक्का ७ करोड ७० लाख रुपैयाँमा लागेको थियो । खत्री भन्छन्, ‘तर अर्थले पैसा पठाउनै सकेन ।’ उक्त सडकमा १ करोड रुपैयाँको काम भइसकेको भए पनि ३५ लाख रुपैयाँ मात्रै दिनसक्ने अवस्था रहेको उनले सुनाए । उनकै भनाइमा अहिले लिंकरोड निर्माणको काम ठप्पै छ ।
पोखरा उपत्यकाभित्रका ७ वटा ताल जोड्ने गरी निर्माणाधीन लिंकरोडको हालत उस्तै छ । ३ करोड १० लाख रुपैयाँको ठेक्कामा काम भइरहेकोमा यो वर्ष ठेकेदारलाई ३० लाख रुपैयाँ मात्रै दिन सकिने इन्जिनियर खत्री बताउँछन् । ‘१ करोड १० लाख रुपैयाँको काम भइसकेको छ, २ करोडको बाँकी छ ।’ बजेट अभावकै कारण त्यो काम अघि बढ्न नसकेको उनले जनाए ।
‘कास्की र स्याङ्जाका परियोजनाका लागि ३०÷३५ करोड रुपैयाँ चाहिन्थ्यो’, इन्जिनियर खत्रीले भने, ‘तर अर्थले यो वर्ष हाम्रो कार्यालयलाई १० करोड रुपैयाँमात्रै पठायो ।’ पृथ्वीराजमार्गको विजयपुरदेखि गौंडाको मुखसम्मको साढे २ किलोमिटर सडक विस्तार र स्तरोन्नतिको काम अलपत्र छ । नाली, कल्भट र पिच निर्माण गर्नुपर्ने उक्त सडकको ठेक्का ३ करोड रुपैयाँमा भएको हो । झन्डै २ करोड रुपैयाँको काम भएर १ करोडको चाहिँ बाँकी छ । गौरीशंकर निर्माण सेवाले पैसा नपाएकै कारण काम ठप्प गरेको छ । धुलो र हिलोले दिक्कार भएका स्थानीयको आक्रोश मत्थर पार्ने उपाय सडक डिभिजन कार्यालयसँग छैन ।