उपसभामुख राधिकाको स्पष्टिकरण: गाई काट्नुपर्छ भनेको होइन
काठमाडौँ: प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले गाई काटेर खानुपर्छ भने आफूले अभिव्यक्ति नदिएको र त्यसका लागि कुनै लविङ पनि नगरेको स्पष्टिकरण दिएकी छन् ।
सोमबार एउटा प्रेस नोट जारी गर्दै उनले लडेर मरेको गाईलाई मारेको आरोप लगाएर पक्राउ गरिएका गाउँलेलाई न्यायका लागि पहल गर्दा आफूमाथि झुटो आरोप लगाएर बदनाम गर्न खोजिएको गुनासो गरेकी छन् ।
'मकवानपुरको घटनामा व्यक्तिगत रिसिइबीका कारण लडेर मरेको गाईलाई मारेको आरोप लगाई सोझा गाउँलेसँग पैसा असुल्ने र दुःख दिने विचौलियाबाट पीडितहरु न्याय माग्दै भौतारिरहेको बेला सहयोग गरेकी हुँ', उनले भनेकी छन्, 'यस्ता विषयलाई सम्बन्धित निकायसम्म पुर्याई न्याय प्रदान गर्नु सबैको जिम्मेवारी हो । गृहमन्त्रीसमक्ष यो विषयको ध्यानाकर्षण गराउनु मेरो पनि कर्तव्य हो । निर्दोषले न्याय पाउनु पर्छ भन्ने मेरो भनाइ हो ।'
उनले यो प्रसङ्गमा भएको गलत प्रचारको पछि लागेर अनावाश्यक बहस नगर्न पनि अपिल गरेकी छन् । 'देशमा ठूलो बलिदानको जगमा धर्मनिरपेक्षतासहितको नयाँ संविधान जारी भएको छ । संविधानको मूल मर्मसँग बाझिएका कानूनहरु क्रमशः संशोधन हुँदै जानेछ', उनले भने, 'यस सन्दर्भमा अनावश्यक बहस र गलत प्रचारको पछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दछु । साथै सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एबम् साइबर कानुनको ख्याल गर्न पनि अनुरोध गर्दछु ।'
उनले सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता तथा साइबर कानुनको ख्याल गर्न पनि अनुरोध गरेकी छन् । 'यस्ता गलत सूचना प्रवाह गरी सामाजिक सद्भावमा ठेस पुर्याउने, धर्म निरपेक्षता माथि प्रहार गर्ने र पराजित मानसिकताबाट ग्रसित भै राजनीतिक स्वार्थ पूर्तिका लागि उत्तेजना फैलाउनेसँग सतर्क रहन आग्रह गर्दछु', उनले भनेकी छन् ।
प्रेस नोटको पूर्ण पाठ
मिति २०७४ चैत्र ७ गते नेपाल तामाङ घेदुङले मकवानपुर जिल्लाको हे.उ.न.पा. १२ पदमपोखरीको घटना सम्बन्धमा गृहमन्त्री समक्ष ध्यानाकर्षण गराएको घटना सन्दर्भमा मेरो नाम जोडेर गरिएका गलत प्रचारबाजी प्रति गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल तामाङ घेदुङले गृहमन्त्रीसमक्ष राखेका विषयवस्तु ध्यनाकर्षण पत्रमा स्पष्ट रुपमा उल्लेख गरिएको छ र सन्दर्भवश म त्यस टोलीमा सहभागी भएको हो । तर केही अनलाईन मिडियाले नियोजित रुपमा मसँग केही नबुझी, पत्रकारिताको सामान्य मूल्यलाई पनि ख्याल नगरी तथ्यलाई बंग्याएर जसरी प्रचार गरियो, यो सरासर झुठ र निन्दनीय छ ।
त्यही गलत समाचारको पछि लागेर सामाजिक सञ्जालमा आवेश पोख्ने र अमर्यादित गतिविधि समेत हुनु झनै दुःखद छ । मकवानपुरको घटनामा व्यक्तिगत रिसिइबीका कारण लडेर मरेको गाईलाई मारेको आरोप लगाई सोझो गाउँलेसँग पैसा असुल्ने र नाजायज दुःख दिने विचौलियाबाट पीडितहरु न्याय माग्दै भौतारिरहेको सन्दर्भमा यस्ता विषयलाई सम्बन्धित निकायसम्म पुर्याई न्याय प्रदान गर्नु सवैको जिम्मेवारी हो । गृहमन्त्री समक्ष यो विषयको ध्यानाकर्षण गराउनु मेरो पनि कर्तव्य ठान्दछु र निर्दोषले न्याय पाउनु पर्दछ भन्ने मेरो भनाइ हो ।
देशमा ठूलो बलिदानको जगमा धर्मनिरपेक्षता सहितको नयाँ संविधान जारी भएको छ । संविधानको मूल मर्मसँग बाझिएका कानूनहरु क्रमशः संशोधन हुँदै जानेछ । यस सन्दर्भमा अनावश्यक वहस र गलत प्रचारको पछि नलाग्न आम जनसमुदायलाई आग्रह गर्दछु । साथै सञ्चारकर्मी र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आमसञ्चारको मूल्य मान्यता एवं साईबर कानुनको ख्याल गर्न पनि अनुरोध गर्दछु । यस्ता गलत सूचना प्रवाह गरी सामाजिक सद्भावमा ठेस पुर्याउने, धर्म निरपेक्षतामाथि प्रहार गर्ने र पराजित मानसिकताबाट ग्रसित भै राजनीतिक अभीष्ट पूर्तिका लागि उत्तेजना फैलाउनेहरुसँग सतर्क रहन सबैमा आग्रह गर्दछु ।
१२ चैत्र, २०७४
राधिका तामाङ
उप सभामुख
प्रदेश-३