चार वर्षमा बनेन स्वास्थ्यचौकी भवन
बेनी : १८ महिनामा सकिनुपर्ने म्याग्दीको एक स्वास्थ्यचौकी भवन चार वर्षसम्म पनि तयार भएको छैन। बेनीदेखि एक दिनको पैदल दूरीमा रहेको अन्नपूर्ण–८ राम्चे स्वास्थ्यचौकी भवन निर्माणमा ढिलाइ हुँदा सेवा प्रवाहमा समस्या भइरहेको छ। भवन अभावमा स्वास्थ्यचौकी वडा कार्यालयसँगै सञ्चालन गरिएको छ।
बर्थिङ सेन्टर, अन्तरंग र बहिरंग विभाग हुने गरी २०७१ देखि अत्याधुनिक भवन निर्माण थालिए पनि समयमै पूरा नहुँदा स्वास्थ्य परीक्षण, प्रसूति र औषधि भण्डारणमा समस्या भइरहेको स्वास्थ्यचौकी प्रमुख चाँदनी घलेले बताइन्। ‘चार वर्षदेखि भवन बन्न सकेको छैन। साँघुरो कोठामा २/४ जना बिरामी आउनुभयो भने भीडै हुन्छ’, उनले भनिन्, ‘प्रसूतिको बेला सबैभन्दा बढी समस्या हुन्छ। कहिलेकाँही त वडा कार्यालयको कोठा प्रयोग गर्छौं।’
राम्चेसहित काफलडाँडा र नागीबाट स्वास्थ्यचौकीमा बिरामी पुग्ने गरेका छन्। राम्चेमा २ सय र काफलडाँडामा १ सय ५० परिवार छन्। ‘खोप लगाउनुपर्ने र मौसम परिवर्तन हुँदा बढी बिरामी हुन्छन्, त्यतिबेला बाहिरै लाइन लगाएर राख्नुपर्छ’, प्रमुख घलेले भनिन्, ‘स्वास्थ्यचौकी भवन पुरानो भएर चुहिने अवस्थामा पुगेको छ, औषधिको सहज व्यवस्थापनसमेत हुन सकेको छैन।’
भवन तथा सहरी विकास डिभिजन कार्यालय बागलुङले करिब २ करोडको लागतमा निर्माण सुरु गरेको उक्त भवनको ठेक्का भगवती निर्माण सेवाले लिएको छ। ठेकेदारले कामदार र निर्माण सामग्रीको पैसा समयमै उपलब्ध नगराउँदा कहिले कामदार र कहिले निर्माण सामग्री अभावले काम प्रभावित भएको स्वास्थ्यचौकी व्यवस्थापन समितिका सदस्य यामबहादुर पुर्जाले बताए।
लामो समयसम्म भवन अलपत्र बनेपछि जिल्ला स्वास्थ्य कार्यालय र भवन डिभिजन कार्यालयमा समेत स्थानीयले दबाब दिएका थिए। ‘ठेकेदार नै ठीक भएन। कामदारले पैसा नपाएपछि आएका कामदार फर्कन थाले। स्थानीय तहको निर्वाचनपछि वडा कार्यालयले समेत आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउँदासमेत कामले गति लिएन’, उनले भने, ‘वडा कार्यालयसँगै स्वास्थ्यचौकी राख्दा ज्यादै समस्या भएको छ।’
स्वास्थ्यचौकी रहेको भवन पुरानो भएकाले भत्किने अवस्थामा पुगेको उनले बताए। राम्चेको मात्र नभई भवन डिभिजन कार्यालयले निर्माण गरिरहेको बिम, बरंजा र पिप्ले स्वास्थ्यचौकी भवनको प्रगति पनि सन्तोषजनक छैन।
डिभिजन इन्जिनियर गणेश महर्जनले भौगोलिक विकटता र व्यवसायीले समयमै काम नगर्दा भवन निर्माणमा ढिलाइ भएको बताए। ‘राम्चे स्वास्थ्यचौकीको हामी आफैंले स्थलगत अनुगमन गरेर अबको दुई/चार महिनाभित्र सम्पन्न हुँदै छ। अन्य स्वास्थ्यचौकीमा पनि कडा निगरानी गरिरहेका छौं’, उनले भने, ‘जनप्रतिनिधि आएकाले अब काममा विलम्ब हुँदैन।’
चालु आवमा जिल्लामा कुइनेमंगले, घार, हिस्तान, पुलाचौर, कुहुँ, ओखरबोट र मल्कबाङ स्वास्थ्यचौकी भवन निर्माण प्रक्रिया अघि बढेको भवन डिभिजन कार्यालयले जनाएको छ।
ठेकेदार गोपाल भट्टचनले भौगोलिक विकटता र प्रतिकूल मौसमका कारण निर्माणमा ढिलाइ भएको स्विकारे। ‘बालुवा, सिमेन्ट, रड, ढुंगाजस्ता निर्माण सामग्री ढुवानी गर्न ज्यादै समस्या भइरहेको छ’, उनले भने।