अदालत नगई अभियुक्तको म्याद थप

अदालत नगई अभियुक्तको म्याद थप

दमौली : लागुऔषध मुद्दामा जिल्ला प्रहरी कार्यालय तनहुँमा थुनामा रहेका व्यास–६ श्याम्घाका बमबहादुर विकको अदालत नै नगई म्याद थप भएको छ। यसअघि कुनै पनि मुद्दा दर्ता भएपछि म्याद थपका लागि भौतिक रूपमा अभियुक्त आफंै अदालत पुग्नुपर्ने बाध्यता अब तनहुँमा रहेन।

जिल्ला अदालत तनहुँले म्याद थप प्रयोजनका लागि थुनुवालाई मातहतका प्रहरी इकाइबाटै ‘भिडियो कन्फ्रेन्सिङ’का आधारमा म्याद थपको व्यवस्था सुरु गरेको छ।

प्रमुख जिल्ला न्यायाधीश अर्जुन कोइरालाले अदालतको सभाकक्षमा रहेको कम्प्युटरमार्फत जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका विकसँगको बयानका आधारमा प्रहरीलाई उनीविरुद्धको लागुऔषध मुद्दामा म्याद थपको अनुमति दिएका हुन्।

कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सेवा उद्घाटन गरे। यस्तो सुविधा उपलब्ध गराउने प्रदेश ४ मा तनहुँ एक मात्र जिल्ला भएको छ।

तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले टाढाटाढा इलाका प्रहरी कार्यालय रहने भन्दै म्याद थपकै लागि दमौली ल्याउनुपर्दा समय, शक्ति र सुरक्षाका हिसाबले समस्या पर्ने गरेको बताए।

तनहुँका अन्य प्रहरी एकाइमा समेत इन्टरनेट र भिडियो सुविधासहितको अनुसन्धानकक्ष विस्तार गरी सीधै अदालतमा सम्पर्क गर्ने प्रबन्ध मिलाइने उनले बताए।

सर्वोच्च अदालतका रजिस्ट्रार महेन्द्रनाथ उपाध्यायले आधुनिक प्रविधिका माध्यमबाट छिटोछरितो न्याय दिन यस्तो सेवा थालिएको बताए।

अब अदालतले फरेन्सिक ल्याब रिपोर्टसँगै विज्ञको राय लिन पनि यस्तो सुविधा उपयोग गर्नेछ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले सुरक्षा हिसाबले जटिल प्रकृतिका मुद्दाका साथै समयको बचतका लागि पनि आधुनिक प्रविधिको उपयोगले सहजता ल्याउने विश्वास व्यक्त गरे।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.