प्रधानन्यायाधीशका लागि तीन जनाको प्रस्ताव
काठमाडौं : न्यायपरिषद्को मंगलबार बसेको बैठकले रिक्त प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सर्वोच्च अदालतका वरिष्ठ तीन जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाएको छ। परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, वरिष्ठतम न्यायाधीश ओमप्रकाश मि श्र र चोलेन्द्रशमशेर राणाको नाम प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेको हो।
परिषद्को प्रस्तावपछि प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक व्यवस्था छ। संविधानतः सर्वोच्चमा तीन वर्ष काम गरिसकेका न्यायाधीशलाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गर्न सकिन्छ। परिषद्ले अभिलेखसमेत संलग्न गरी जोशी, मि श्र र राणाको नाम वरिष्ठता क्रमअनुसार नै संवैधानिक परिषद्समक्ष प्रस्ताव गरेको हो।
‘प्रधानन्यायाधीशमा नियुक्ति गर्ने प्रयोजनका लागि रोस्टरमा राख्न न्यायपरिषद् सचिवबाट अभिलेखसहित संवैधानिक परिषद्मा पठाउने प्रचलन छ। त्यसलाई हामीबाट समर्थन गर्ने काम भएको छ,’ न्यायपरिषद् सदस्य पदम वैदिकले अन्नपूर्णसँग भने।
संविधानको धारा १२९ को उपधारा ३ मा सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशमा नियुक्तिका लागि योग्य हुने भनिएको छ। यद्यपि, सर्वोच्चका सबैभन्दा वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायीशमा नियुक्त गर्ने न्यायिक परम्परा छ। तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले फागुन ३० गते पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त छ। पराजुलीको राजीनामा पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोही मितिमा स्वीकृत भइसकेको छ। पराजुलीको अवकाशपछि हाल सर्वोच्चका वरिष्ठतम् न्यायाधीश जोशी कामु प्रधानन्यायाधीश छन्।