लमजुङमा ट्राफिक जवान श्रेष्ठ घुस सहित पक्राउ
लमजुङ : लमजुङ सदरमुकाम बेसीशहरमा कार्यरत ट्राफिक जवान मोतीकुमार श्रेष्ठलाई घुस लिदैँ गर्दा अख्तियार अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले मंगलबार साँझ सदरमुकाम बेसीशहरको एक होटलमा सेवाग्राहीसँग ७० हजार घुस लिदैँ गर्दा श्रेष्ठलाई पक्राउ गरेको हो ।
सवारी अनुमतिपत्र बनाइदिन्छु भन्दै दुई जना सेवाग्राहीसँग ७० हजार नगद घुस लिदैँ गर्दा श्रेष्ठ पक्राउ परेका हुन् । दुईजनासँग ३५/३५ हजार घुस लिदैँ गर्दा नगद रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । सेवाग्राहीको गोप्य सुराकीको आधारमा उनी पक्राउ परेका थिए ।
श्रेष्ठलाई थप अनुसन्धानका लागि मंगलबार नै काठमाण्डौ लगिएको छ । अख्तियारले सेवाग्राहीको नाम गोप्य राखेको छ ।