बच्चा जन्माउन उक्साएको भन्दै विरोध
इलाम : इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध सुरु गरेका छन्। नेपाल महिला संघलगायतका महिला अधिकारवादीले यसको विरोध गरेका हुन्।
नगरपालिकाले इलाम नगरभित्र जनसंख्या वृद्धि गर्न र स्तरोन्नति गरी उपमहानगरपालिका बनाउने भन्दै बढी बच्चा जन्माउने महिलालाई बढी रकम उपलब्ध गराउने निर्णय गरेको थियो।
यो निर्णय महिलाका लागि स्वीकार्य नहुने महिला संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। महिला संघ, इलामका अध्यक्ष निर्मला सञ्जेलले भनिन्, 'महिलालाई बच्चा जन्माउने मेसिनमात्र नसम्झन हामी नगरपालिकालाई आग्रह गर्छौं।'
यस निर्णयले गरीबलाई अझ गरीब बनाउने, अशिक्षितको संख्या वृद्धि हुने महिला संघको भनाइ छ। नगरपालिकाका प्रमुख पुरुष भएकाले यस्तो निर्णय भएको भन्दै महिलालाई होच्याउने कार्य भएको महिला संघको ठहर छ।
नगरमा भौतिक पूर्वाधार, सडक, स्वच्छ र पर्याप्त पिउने पानीको अभाव, स्वास्थ्य शिक्षा, व्यवस्थित बसोबासलगायतका कुरामा इलाम नगरपालिका कमजोर भएका अवस्थामा यस्तो निर्णय गरिनु लज्जास्पद भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यो निर्णय सात दिनभित्र नसच्याए चरणबद्ध आन्दोलनका कार्यक्रम गरिने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ। रासस