बालुवाले छोपेर सखुवाको काठ तस्करी
विराटनगर : ढुवानीका साधनमा बालुवाले छोपेर बहुमुल्य सखुवा (साल) को काठ तस्करी गर्ने गरिएको नयाँ तथ्य सार्र्वजनिक भएको छ। तस्करीमा संलग्नले प्रहरी र वन कर्मचारीको आँखा छल्नका लागि ढुवानीका साधनमा काठ लोड गरेर माथिबाट बालुवाले छोप्दै तस्करी गर्ने गरेको खुलेको हो। झट्ट हेर्दा बालुवा ढुवानी गरे जस्तो देखाएर काठको तस्करी गर्न नयाँ उपाय अपनाउन थालिएको प्रहरीले जनाएको छ। वनबाट अवैध रुपमा काटेर ल्याइएका काठ ढुवानीका साधनमा लोड गरेपछि बालुवाले पुरेर तस्करीमा संलग्नले गन्तव्य सम्म पुर्याउने गरेका हुन्।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका ७ बाट प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले ट्रयाक्टरमा लोड गरिएको सखुवाको चिरान काठ बालुवाले छोपेर तस्करी गर्दै गरेको अवस्थामा फेला पारेपछि काठ तस्करी गर्ने नयाँ तरिका बाहिर आएको छ।
दमकबाट बेलबारीतर्फ उक्त काठ लगिएको पत्ता लागेको छ। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ त ३६३१ नम्बरको ट्रयाक्टरमा चिरान गरिएका ५३ वटा सखुवाका काठ बरामद भएका छन्। उनले तस्करी गर्दै गरेको अवस्थामा १७ दशमलव ५७ क्यूफिट काठ नियन्त्रणमा लिइएको जानकारी दिए।
काठसहित ट्रयाक्टरका सहचालक झापा दमक नगरपालिका ३ का २१ वर्षीय अनिल लिम्बू, सुमन राई र इलाम चुलाचुली ६ का १६ वर्षीय मानबहादुर लिम्बू पनि पक्राउ परेका छन्। चालक र ट्रयाक्टरका मालिक भने फरार भएको प्रहरीले जनाएको छ। काठ र ट्रयाक्टर दमक ३ का अर्मान प्रधानको भएको खुलेको छ।
प्रनि श्रेष्ठका अनुसार मोरङको बेलबारीतर्फ तस्करी गरेर लैजाँदै गरेको अवस्थामा काठ र ट्रयाक्टरसहित तीन जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरुले काठ दमकबाट ल्याएको बताएका छन्। बेलबारीमा काठ जिम्मा लिनेका बारेमा भने खुलिनसकेको प्रहरीले जनाएको छ।
‘काठ लोड गरेर बालुवाले छोपेको ट्रयाक्टर सँगसँगै मोटरसाइकलमा बाटो ‘क्लियर’ गर्दै काठ तस्करीमा संलग्न प्रधान पनि आएको थाहा पाइयो,’ श्रेष्ठले भने, ‘ट्रयाक्टरलाई नियन्त्रणमा लिएको थाहा पाएपछि उनी फरार भएका छन्।’ उनका अनुसार कानेपोखरीमा नेपाल र ट्राफिक प्रहरीको संयुक्त चेकिङ छल्न नसकेपछि ट्रयाक्टर राजमार्गमै रोकेर राखिएको थियो।
धेरै बेर रोकेर राखिएको ट्रयाक्टरमा काठ तस्करी भइरहेको छ भन्ने सूचना आएपछि नियन्त्रणमा लिएर चेकजाँच गर्दा बालुवाले छोपेर राखेको अवस्थामा काठ फेला परेको जानकारी उनले दिए। त्यस लगत्तै फरार बनेका प्रधान र ट्रयाक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लामो समयदेखि दमक लगायतका स्थानबाट काठ तस्करी गर्ने धन्दामा प्रधानको संलग्नता रहँदै आएको खुलेको छ।
‘झट्ट हेर्दा ट्रयाक्टरमा बालुवा ढुवानी गरे जस्तो देखिन्छ,’ प्रनि श्रेष्ठले भने, ‘तर बालुवाले छोपेर काठ तस्करी हुन थालेको नयाँ तथ्य बाहिर आएको छ।’ उनले बालुवा लगायतका निर्माण सामग्रीले छोपेर काठ तस्करी हुने गरेको पाइएपछि प्रहरीले सबै ढुवानीका साधनमाथि निगरानी बढाएर कडाइ गर्न थालेको बताए।
बरामद गरिएको काठ र नियन्त्रणमा लिएका व्यक्तिसहित ट्रयाक्टरलाई सेक्टर वन कार्यालय बेलबारीमा राखेर कारवाही अघि बढाउन अनुसन्धान सुरु गरिएको छ। कार्यालयका सुविदार गणेश कार्कीले पक्राउ परेकाहरुविरुद्ध वन मुद्धा चलाउन बुधबार म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिए।