पूर्व- पश्चिम रेलमार्गको लागि माटो परीक्षण हुँदै
तौलिहवा : पूर्व पश्चिम मेची महाकाली रेलमार्ग निमार्णको कामले गति लिन थालेको छ। रेलमार्गको लागि अहिले कपिलवस्तुका विभिन्न स्थानमा माटो परिक्षणको काम भैरहेको छ। रेलमार्गको कामलाई विभिन्न प्याकेजमा पूर्णता दिँदै आएको रेल्वे विभागले प्याकेज १ अन्तर्गतको बुटवल लमही खण्डको १ सय १० किलोमिटरमा काम अगाडि बढेको हो।
नेपालीहरुको सपना बनेको रेलमार्ग निमार्णको काम धमाधम अगाडि भइरहेको देख्दा खुसी लागेको बुद्धभूमी नगरपालिका बडा नं. १ का बडा अध्यक्ष भेषराज शर्माले बताए।
प्याकेज १ अन्तर्गत अहिले कपिलवस्तुका वाणगंगा र बुद्धभूमि नगरपालिकाका विभिन्न स्थानमा माटो परीक्षण भइरहेको छ। यस क्षेत्रमा माटो परीक्षणको जिम्मा पाएको ईआरएमसिजिओ टेक्नीकल प्रा.लि.ले काम अगाडि बढाएको हो।
माटो परीक्षण प्रत्येक ५ सय मिटरमा गर्ने गरिएको छ। पानी जम्ने खाल्टा नालाहरुमा ३ सय मिटरमा माटो परिक्षण गरिरहेको कालिंका ड्रिलिंग प्रा.लि का प्राविधिक शिवराम रिजालले बताए।
पुल क्षेत्रमा ३० मिटर र मैदान क्षेत्रमा १५ मिटर गहिराइमा पुगि रेल्वे मार्गको नमुना संकलन गरिएको रिजालले जनाए। 'हामीले ठाउँ ठाउँबाट नमुना संकलन गरिरहेका छौ उनले भने, 'संकलित नमुनालाई परीक्षणका लागि काठमाडौं लैजान्छौ।' नमुना संकलनका लागि रोटरी रिर्भस र जिओ कोर सिस्टम नामक २ यन्त्र प्रयोगमा ल्याइएको उनले जनाए।
रोटरी रिर्भस फराकिलो सडक भएको ठाउँमा प्रयोग गरिएको छ भने बोरिंग खन्न समेत प्रयोग गरिएको । जियो कोर सिस्टम बन क्षेत्र र साँधुरो बाटो भएका ठाउँमा प्रयोग गरी माटो संकलन गरेको रिजालको भनाई छ। एक महिना अगाडी चन्द्रौटाबाट सुरु गरिएको काम शिवराज नगरपालिका, बुद्धभूमी नगरपालिका र वाणगंगा नगरपालिकाका विभिन्न स्थानमा नमुना संकलन भइसकेको छ। बैशाखभित्र नमुना संकलनको काम पुरा हुने काममा खटिएका प्राविधिकहरु बताउँछन्।