५ कक्षा पढेका चेपाङ युवाको प्यारामोटर उडान
भनिन्छ, कि पढेर जानिन्छ कि परेर जानिन्छ। सम्बन्धित विषयमा विज्ञता हासिल गरेर धेरै वैज्ञानिक बनेको त हामीले थाहा पाएकै हो। त्यसैले वैज्ञानिक बन्न सम्बन्धित विषयमा विज्ञता हासिल गर्नैपर्छ। तर, चितवनको राप्ती नगरपालिका २, गड्यौलीका २० वर्षीय सरोज चेपाङले भने पाँच कक्षा पास गरेकै भरमा प्यारामोटर बनाएर आकाशमा उडाउन सफल भएका छन्।
घरपछाडि नै विद्यालय भएर पनि कक्षा ६ मा पढ्दापढ्दै छाडेका उनले पढेरभन्दा पनि परेरै प्यारामोटर उडाए। पटकपटक प्रयास गर्दा पनि सफल हुन नसकेपछि धेरैले विश्वास गरेनन्। तर, ४ चैतमा उनले राप्ती बगरबाट परीक्षणको लागि करिब ४० मिनेटसम्म प्यारामोटर उडाउन सफल भए। यसअघि उनले गत १६ फागुनमा नै उडाउने प्रयास गरेका थिए। तर, घरबाट राप्ती किनारसम्म लैजाने क्रममा घर नजिकैको ओरालोमा दुर्घटनाग्रस्त भएपछि उडाउन तयार पारिसकेको प्यारामोटर पनि पूर्णरूपमा क्षतिग्रस्त बन्न पुग्यो। जसले गर्दा फेरि नयाँ निर्माण गर्नुपर्यो। उनलाई फेरि बनाउन अर्को १० दिन समय लाग्यो। त्यसपछि ३ चैतमा उनले परीक्षणको लागि दोस्रो पटक उडाउने प्रयास गरे।
नदी किनारमा हावा चलेकोले त्यो दिनको प्रयासबाट पनि सफलता पाउन सकेनन्। अन्ततः ४ चैतमा तेस्रो प्रयासबाट भने उनी पूर्णरूपमा सफल भइछाडे। स्कुटरको टायर, सालको काठको पंखा, आल्मुनियम, मोटरसाइकलको ब्रेक र ह्यान्डिल, मोटरसाइकलकै मोटर आदिको जडानबाट निर्माण गरेको प्यारामोटर चढेर आफ्नो गाउँ हेरे। राप्ती बगरबाट उडाएको प्यारामोटर आफ्नै घरमा अवतरण गर्ने लक्ष्य थियो। तर, पत्रकारहरूको आग्रहमा उनले राप्ती बगरमै अवतरण गरे। त्यसपछि उनलाई गाउँलेले अवीर जात्रा नै गराए। किनकि सरोजलाई पनि जिन्दगीकै सबैभन्दा ठूलो खुसीको क्षण थियो, त्यतिबेला।
लामो समयपछिको प्रयासपछि उनको सानैदेखिको सपना पनि पूरा भएको छ। आवश्यक सामान सहजै नपाउने भएकोले सामान खोज्न धेरैपटक काठमाडौं, नारायणगढ र वीरगन्ज धाए। खासमा उनले मिनी एयर क्राफ्ट बनाएर उडाउने योजनाअनुसार गत साउनबाटै यो कामको थालनी गरेका थिए। घरको आर्थिक अवस्था कमजोर हुनु र आवश्यक सामग्री सहजै नपाउँदा उनको सपना पूरा समय लाग्यो। लामो समय भइसक्दासम्म पनि उडाउन नसकेपछि उनलाई धेरैले बौलाहा पनि भने। देखेसुनेका धेरैले विश्वास गरेनन्।
स्कुटरको टायर, सालको काठको पंखा, आल्मुनियम, मोटरसाइकलको ब्रेक-ह्यान्डिल, मोटरसाइकलकै मोटरको जडानबाट निर्माण गरेको प्यारामोटर ४० मिनेटसम्म चढेर आफ्नो गाउँ हेरे सरोज चेपाङले।
आफूले गर्न लागेको कामले पूर्णरूपमा सफलता पाउन नसकेपछि उनलाई नैतिकरूपमै चौतर्फी दबाब पर्यो। तत्काल उडाएर देखाउनै पर्ने स्थिति आएपछि उनी बनाइरहेको मिनी एयर क्राफ्टको काम छोडेर सानो खालको प्यारामोटर बनाउनतर्फ कस्सिए। अन्ततः उनले सानो प्यारामोटर बनाएर उडाए। मिनी एयर क्राफ्टको काम भने अघि बढ्न सकेको छैन। ‘सामान किन्ने पैसा नभएपछि समयमै मिनी एयर क्राफ्ट तयार पार्न सकिएन,’ उनले भने। तर, अहिले प्यारामोटर बनाएर उडाएको सञ्चारमाध्यममार्फत धेरैले थाहा पाएपछि भने सहयोगको लागि विभिन्न स्थानबाट आश्वासन आउन थालेको छ, जसले उनलाई थप हौसला मिलेको छ।
‘उडाउनुभन्दा पाँच मिनेट अघिसम्म पनि धेरैले उडाउँछ भरेर विश्वास गरेकै थिएन,’ उनले भने, ‘तर, मलाई भने उडाएर राम्रोसँग अवतरण गर्न सक्छु भन्नेमा शतप्रतिशत विश्वास थियो। त्यसैले त ४० मिनेटसम्म उडाउन सफल भएँ।’
उनको बुबा कतारमा काम गर्छन्। उनकै कमाइमा सात जनाको परिवार बाँचिरहेको छ। बुवाकै कमाइमा उनले प्यारामोटर बनाउने सामग्री खरिद गरेका थिए। ‘घरमा अन्य आयस्रोत नभएकोले बुवाकै तलब कुर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘त्यही भएर पनि समयमै काम गर्न नसकेको हो।’ अहिलेसम्म उनले यही कामका लागि सात लाख रुपैयाँ खर्च गरिसकेका छन्। अझै पनि रकम अपुग भएकै कारण मिनी मोटर क्राफ्टले पूर्णता पाउन सकेको छैन। उनका अनुसार त्यो कामले पनि पूर्णता पाउन ७० देखि ८० हजार रुपैयाँ लाग्छ। त्यसको लागि राप्ती नगरपालिकाले ८० हजार रुपैयाँ सहयोग दिने घोषणा गरिसकेको छ। सरोजको प्रयासको मूल्यांकन गर्दै चितवन युवा समूह दोहा कतारले शनिबार ८१ हजार रुपैयाँ सहयोग गरेको छ। अन्य संघसंस्थाले पनि उनको कामलाई पूर्णता दिलाउन सहयोग गर्ने बताएका छन्। पैसा हात परेपछि सामान ल्याएर छिट्टै् उडाउने उनले बताए।
४ चैतमा उडाइएको प्यारामोटर बनाउन २५ दिन खर्चिएका थिए। तर, पैसा र सामानको समस्या नहुने हो भने १५ दिनमै प्यारामोटर तयार पार्न सकिने उनी बताउँछन्। परिवारले पनि छोराको इच्छा चाहनालाई मर्न दिनहुन्न भन्ने पक्षमा भएकोले सधैं हौसला मिलेको उनको भनाइ छ। अहिले उनलाई भेट्न आउने मानिसबाट पनि थप हौसला मिलेको छ। उनी भन्छन्, ‘मलाई अझ योभन्दा ठूल्ठूला काम गर्ने हौसला मिलेको छ।’
उनको काम देखेर छिमेकी पनि दंग छन्। ‘लामो समयसम्म पनि कामले सफलता नपाउँदा धेरैले सरोज बौलाएर पाजी भयो भन्थे। अहिले उही सरोज काजी भएको छ,’ छिमेकी निर्मला श्रेष्ठले भनिन्। आफैंले प्यारामोटर बनाएर उडाएपछि अहिले उनलाई भेट्ने मानिसको लर्को नै लागेको छ। सामान्य परिवारमा जन्मेहुर्केका सरोज सानैदेखि पढाइमा भन्दा पनि नयाँनयाँ विकास गर्नमै रुचि राख्थे। करिब चार वर्ष काठमाडौं बसेका उनी प्रविधिसँग खेल्न काठमाडौंमै सिकेका थिए। काठमाडौंमा सिकेको सीपलाई कसैले विश्वास नगरेपछि उनी आफ्नै घरमा बसेर नयाँ प्रविधिको आविष्कार गर्नतर्फ लागे। आफूले सिकेको सीपअनुसार काम खोज्दा कसैले पनि विश्वास नगरेपछि आफैं नयाँ आविष्कारतर्फ लागेको उनको भनाइ छ।
‘मैले यो काम जानेको छु भनेर काम खोज्दै हिँड्दा कसैले विश्वास गरेनन्,’ उनी भन्छन्, ‘उनीहरूलाई देखाउनै भए पनि मैले यो काम गर्नैपर्ने थियो। अहिले आफैंलाई गर्व लागेको छ।’ छोराको सफलता देखेर बुवाआमा झनै खुसी छन्। ‘सुरुसुरुमा त छोराले के गर्न लाग्यो हो भनेर हामी पनि अचम्ममा थियौं,’ आमा लीला चेपाङ भन्छिन्, ‘तर, उसको इच्छाविपरीत भने हामी कहिल्यै पनि उभिएनौं। छोराको सफलता त्यसैको प्रतिफल हो भन्ने लाग्छ।’ कतिपय अवस्थामा घरमा पैसा नभएकोले धेरै दिनसम्म काम रोकिएको सम्झँदै उनी थप्छिन्, ‘बुवाको तलब आउन महिना दिन नै कुर्नुपर्ने। गाउँमा ऋण खोज्दा पनि भनेको समयमा नपाइने। यस्तै अनेक समस्याले गाह्रो थियो। तर, अहिले छोराको सफलताले त्यतिबेलाको सबै पीडा बिर्सिएकी छु।’
सरोजले प्यारामोटर बनाउँदै छ भन्ने थाहा पाएपछि रत्ननगर महोत्सवमा स्टल राख्न आयोजकले माग गरेका थिए। तर, उनी आफ्नै घरगाउँलाई चिनाउने पक्षमा भएकोले प्रस्ताव अस्वीकार गरे। ‘म मेरो पौरख आफ्नै घरबाट सबैलाई देखाउन चाहन्थेँ,’ सरोज भन्छन्, ‘त्यसैले स्टलको लागि बोलाए पनि म गइनँ। किनकि त्यतिबेला कामले पनि सफलता पाइसकेको थिएन।’
आदिवासी जनजातिभित्रको सीमान्तकृत समुदायको रूपमा सूचीकृत समुदाय हो, चेपाङ। यो समुदाय विपन्न समुदायभित्र पर्छ। चितवनको अधिकांश पहाडी गाउँमा यो समुदायको बसोबास छ। शिक्षा, स्वास्थ्यलगायतका प्रमुख पूर्वाधारबाटै पछाडि परेका चेपाङ समुदायभित्रकै एकजना व्यक्तिले गरेको यो फरक कार्यप्रति अहिले धेरैको चासो बढेको छ। सबैको ध्यान तानेको छ। सधैं विपन्नता र अभावको विषयमा चेपाङ समुदायलाई बुझ्ने गरेका व्यक्तिलाई पनि सरोज चेपाङको आँट र साहसले फरक पाठ सिकाएको छ।