औंठी केवल फेसन होइन

औंठी केवल फेसन होइन

पूर्वमा डिपार्टमेन्ट स्टोरको संस्कृति भित्र्याउने बलराम आचार्य सफल व्यवसायीका रूपमा चिनिन्छन्। गोरखा डिपार्टमेन्ट स्टोरको पाँचवटा शाखा सहितको चेन स्टोरका सञ्चालक आचार्य शान्त स्वभावका छन्। उनका अनुसार व्यवसायीलाई सफल हुन मानसिक शान्ति पनि चाहिन्छ र त्यसका लागि उनले लगाएको औंठीले सहयोग गरेको उनको विश्वास छ।

आचार्यले ज्योतिषलाई देखाएर राशिअनुसारको रत्न पुष्पराज लगाएका छन्। उनले पुष्पराज लगाएको ३० वर्ष भयो। पुष्पराज लगाएपछि मानसिक शान्ति मिलेको उनको अनुभव छ। भन्छन्, ‘एकपटक हीरा लगाएको थिएँ तर त्यसले मानसिक रूपमा अशान्ति दियो र फुकालेँ।’

उनका अनुसार रत्न लगाउँदा धेरै कुरामा ध्यान दिनुपर्छ। राशिअनुसार छान्नुपर्छ र लगाउँदा रत्नले छाला छुनुपर्छ। ‘रत्न फेसन मात्र होइन भन्ने मैले अनुभव गरेको छु’, उनी भन्छन्।

इटहरीका समाजसेवी तथा फोटोपत्रकार सुवर्ण विष्टले समेत सुनको औंठीमा पुष्पराज लगाएका छन्। उनले ज्योतिषको सल्लाहअनुसार पुष्पराज लगाएका हुन्। कुम्भ राशिका उनी औंठी लगाएपछि ‘शुभ’ भइरहेको बताउँछन्।

व्यवसायी मात्र होइन, विद्यार्थीमा पनि औंठीमोह छ। काठमाडौं बसेर नर्सिङ पढ्दै गरेकी ज्योति खतिवडाले औंठी लगाउन थालेको केही वर्ष भयो। उनी नर्सिङकी विद्यार्थी हुन्।

उनले सुनको औंठी लगाउने गरेकी छन्। उनीसँग फरकफरक औंठी छन्। बिहेमा पाएको औंठीबाहेक पनि उनले केही औंठी किनेकी छन्। ‘फाइदा बेफाइदा आफ्नो ठाउँमा छन्’, उनी भन्छिन्, ‘तर औंठी लगाउँदा राम्रो देखिन्छ र लगाएको हो।’

उनका अनुसार सुन स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ। उनी महँगा औंठी लगाएर हिँड्दा वा खोलेर कतै राख्दा भने ध्यान दिनुपर्ने बताउँछिन्।

रत्न र गहनाको प्रयोग संसारमा निकै अघिदेखि भएको हो। पौराणिक कालका कथामा समेत गरगहना र रत्नहरूको वर्णन पाइन्छ। सयौं वर्षअघिको मानिने रामायण, महाभारतकालीन कथामा रत्नको महत्र्व र प्रयोगबारे व्याख्या छ। आजका दिनसम्म पनि हिन्दू धर्ममा राशि र रत्नप्रति मानिसको विश्वास छ।

हिन्दू धर्मावलम्बीहरू जन्म मितिअनुसार राशि अनि राशिअनुसारका रत्न लगाउने गर्छन्। अनि यस्ता रत्न प्रायःजसोले औंलामा औंठीको रूपमा लगाउँछन्। औंठीमा प्रयोग गरिएको रत्न, धातुअनुसार यसको मूल्य फरक पर्छ र त्यसले पार्ने प्रभाव पनि फरक पर्छ।

औंठीलाई प्रायः सबै धर्मका मानिसले धारण गर्छन्। तर, औंठी धारण गर्ने कारण भने फरकफरक हुन सक्छन्। प्रायःले फेसनको रूपमा लगाउँछन्। त्यसभित्र पनि राशि र त्यसले पार्ने प्रभावका आधारमा औंठी र रत्न लगाउनेहरू भने कमै मात्र छन्। यस्तो मान्यतामा धर्मले समेत प्रभाव पार्छ।

क्रिस्चियनले औंठी साटासाट गरेर विवाह गर्छन्। औंठीलाई विवाहको महत्र्वपूर्ण सामग्रीका रूपमा लिइन्छ। तर, त्यहाँ कुनै मान्यता भने रहेको पाइँदैन। इटहरीका कलाकार तथा व्यवसायी राजकुमार दाहाल इसाई धर्म मान्छन्। उनले आफैंले पनि औंठी लगाएका छन्। तर, औंठी लगाउँदा उनी रत्नलाई भने उति महत्र्व दिँदैनन्। ‘सोख र फेसनको रूपमा लगाउने हो’, उनी भन्छन्।

उता मुस्लिम समुदायमा भने औंठी र रत्नलाई त्यति महत्र्व दिइँदैन। महिलालाई सौन्दर्यका लागि जति औंठी लगाए पनि छुट छ। तर, पुरुषलाई भने औंठी उति आवश्यक मानिन्न। तर पनि फेसनको रूपमा औंठीको प्रयोग मुस्लिम समुदायका पुरुषहरू पनि गर्छन्।

‘रहरले लगाउँछन्, पुरुषले त एकदमै सानो लगाउँछन्’, सुनसरीको भुटाहास्थित जामी अतुल इस्ला मदरसाका प्राधानाध्यापक मोहम्मद रिजाजुद्दिन अन्सारी भन्छन्, ‘तर हिन्दूहरूको जस्तो राशिअनुसार लगाउने भन्नेचाहिँ हुँदैन।’

रत्नहरू खनिज पदार्थ हुन्। हिन्दू धर्मको ज्योतिष विज्ञानमा रत्नले मानिसको राशिका आधारमा प्रभाव पार्छ भन्ने विश्वास गरिन्छ।

हिन्दू धर्ममा ज्योतिषशास्त्रअनुसार पृथ्वीमा जन्मिने प्रत्येक मानिससँग उसको जन्मकुण्डलीका आधारमा राम्रो तथा नराम्रो दुवै ग्रह हुन्छ। यस्ता रत्नमा सबै ग्रहलाई शान्ति गर्ने क्षमता हुने बताइन्छ। तर, रत्न चिन्न नसक्दा त्यसले पार्ने प्रभाव भने सोचेजस्तो नहुने व्यवसायी भीम पाण्डे बताउँछन्।

इटहरीस्थित पाण्डे जेम्सका सञ्चालक पाण्डेका अनुसार रत्नहरू विभिन्न गुणस्तरमा पाइन्छन्। रत्न किन्न अनुभव चाहिन्छ। व्यवसायीले राम्रो भन्दै सस्तो रत्नसमेत बेच्ने गरेका छन्। ‘रत्नसँगै औंठी बनाउन प्रयोग गरिने धातुसमेत स्तरीय हुनुपर्छ र रत्नसँग मिल्ने धातु नै प्रयोग गर्नुपर्छ’, उनी भन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.