मुकेशको ‘मनोकांक्षा २’ बजारमा
काठमाडौं : गीतकार मुकेश राईले दोस्रो गीति एल्बम ‘मनोकांक्षा २’ ल्याएका छन्। ललितपुरमा बिहीबार आयोजित एक कार्यक्रममा राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाले एल्बमको विमोचन गरे।
सुशीला लाबुङ राई प्रस्तुतकर्ता रहेको एल्बमको बजार व्यवस्थापन स्टारलाइट इन्टरटेनमेन्टले गरेको जनाइएको छ। एल्बममा ‘मेरो प्यारो नेपाल’, ‘अनमोल मायाको’, ‘दुःखमा झर्ने’, ‘अनमोल मायाको’, ‘साथी तिमी मेरो’, ‘तिमी मेरो संसार’, ‘फिक्का–फिक्का भाको छ’ र ‘के कुरा बसन्तको’ बोलका गीत समेटिएका छन्।
ताराप्रकाश लिम्बु र हरि लम्सालका संगीतमा ताराप्रकाशसहित राजेशपायल राई र बानिका प्रधान, मेलिना राई, मिलन अमात्य, प्रमोद खरेल र अमृता लिम्बुले स्वर भरेका छन्। गीत जीवनवादी, आशावादी रहेको टिप्पणी गर्दै कवि तथा गीतकार स्वप्नील स्मृतिले यो एल्बम उत्कृष्ट रहेको बताए।
गीतकार राई इलाम घर भई बेलायतमा बसोबास गर्दै आएका छन्। एसएलसीपछि ब्रिटिस आर्मीमा भर्ती भएका उनले सन् २००७ मा अवकाश पाएका थिए। सन् १९९० मेईमा भर्ती भएका उनले ब्रिटिस गोर्खा सेनाको क्विन्स ओन गोर्खा लजिस्टिक कोरमा १७ वर्ष काम गरेका थिए। विद्यार्थीकालदेखि साहित्यमा रुचि राख्दै आएका उनले सैनिक जीवनमा पनि त्यो रुचिलाई निरन्तरता दिएको बताए। यसअघि उनका ‘अनुभूतिका रङहरू’ कविता संग्रह २०६८, ‘मनोकांक्षा’ गीति एल्बम २०७० र ‘रङ जिन्दगीको’ गीति संग्रह २०७२ प्रकाशित छन्।