प्रदेश र राष्ट्रियस्तरमा अन्नपूर्ण ब्याडमिन्टन

प्रदेश र राष्ट्रियस्तरमा अन्नपूर्ण ब्याडमिन्टन

काठमाडौं : अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिकको आयोजनामा हुँदै आएको ‘अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता’ यसपटक प्रदेश र केन्द्रीयस्तरमा सञ्चालन हुने भएको छ। मुलुक प्रादेशिक संरचनामा गएसँगै प्रतियोगिताको संरचनालाई पनि सोहीअनुसार परिवर्तन गरिएको हो। प्रदेशमा छनोट प्रतियोगिता र काठमाडौंमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताको मिति चाँडै सार्वजनिक गरिने आयोजक अन्नपूर्ण पोस्ट्ले जनाएको छ।

प्रतियोगिताको संरचनासँगै प्रादेशिक छनोट र काठमाडौंमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा यसपटक दुई विधा थप गरिएको छ। यसपटक १९ वर्षमुनिका महिला र पुरुषतर्फको स्पर्धा थप गरिएको हो। जसअनुसार प्रदेशस्तरीय छनोट प्रतियोगिताको प्रत्येक विधामा प्रथम र द्वितीय हुने खेलाडीले राष्ट्रिय वरीयता प्राप्त र अन्तर्राष्ट्रिय खेलाडीसँग राजधानीमा हुने अन्नर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितालाई गत वर्षको भन्दा अझ भव्य बनाइने बताइएको छ। ‘हाम्रो यो प्रयास नेपालमा ब्याडमिन्टन खेलको विकासका लागि पनि हो’, अन्नपूर्ण मिडिया नेटवर्कका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले भने, ‘त्यसका लागि हामीले मोफसलमा रहेका प्रतिभाको खोजीसँगै उनीहरूलाई नेपाली राष्ट्रिय खेलाडी र विदेशी खेलाडीसँग नेपालमै खेल्ने अवसर पनि सिर्जना गर्दैछौं।’

प्रदेशस्तरमा पुरुष एकल, महिला एकल, पुरुष युगल, मिक्स युगल, १९ वर्षमुनिका महिला र पुरुष जुनियर गरी ६ वटा स्पर्धामा प्रतिस्पर्धा हुनेछ। सातवटै प्रदेशमा यी स्पर्धामा प्रथम र द्वितीय हुने खेलाडीले काठमाडौंमा हुने अन्तिम चरणको प्रतियोगितामा सहभागिताको अवसर पाउनेछन्। प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुन एकलतर्फ प्रत्येक खेलाडीले तीन सय तथा युगल र मिक्स युगलतर्फ पाँच सय रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्नेछ।

प्रदेशस्तरीय प्रतियोगितामा पहिलो र दोस्रो हुने खेलाडीले भने काठमाडौंमा हुने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा बिनाशुल्क सहभागिताको अवसर पाउनेछन्। उनीहरूलाई काठमाडौं आउने र फर्कने व्यवस्थासमेत आयोजकले नै गर्नेछ। अन्तर्राष्ट्रिय प्रतियोगितामा पुरुष र महिलातर्फ प्रथम हुने खेलाडीले दुई तोला, दोस्रो हुने खेलाडीले एक तोला र तेस्रो हुने दुई खेलाडीले आधा÷आधा तोला सुन पुरस्कार प्राप्त गर्नेछन्।

यसैगरी पुरुष युगल र मिक्स युगलतर्फ प्रथम हुने दुई खेलाडीमध्ये दुवैले एक÷एक तोला, द्वितीय हुने दुई खेलाडीले आधा÷आधा तोला तथा तृतीय हुने दुई जोडीका चार खेलाडीले चार÷चार आना सुन पुरस्कार पाउने छन्। जुनियरतर्फ महिला र पुरुषतर्फ प्रथम हुने खेलाडीले एक÷एक तोला, द्वितीय हुने खेलाडीले आधा÷आधा तोला तथा तेस्रो हुने दुई खेलाडीले चार÷चार आना सुन प्राप्त गर्नेछन्।

कर्पाेरेट तथा एक्जुकेटिभतर्फको पुरुष एकलतर्फ प्रथम हुने खेलाडीले दुई तोला, द्वितीय हुने खेलाडीले एक तोला र तृतीय हुने खेलाडी दुई खेलाडीले चार÷चार आना सुन पुरस्कार प्राप्त गर्नेछन्। पुरुष युगलतर्फ प्रथम हुने जोडीको प्रत्येक खेलाडीले एक÷एक तोला, द्वितीय हुने जोडीका प्रत्येक खेलाडीले आधा÷आधा तोला तथा तेस्रो हुने दुई जोडीका चार खेलाडीले चार÷चार आना सुन प्राप्त गर्नेछन्।

यसपटक प्रतियोगितामा उल्लेख्य संख्यामा विदेशी खेलाडीको सहभागितामा जोड दिइएको अन्नपूर्ण मिडिया नेटवर्कका मानव संसाधन विभाग प्रमुख सुदम सिजापतिले जानकारी दिए। ‘यसपटक बढीभन्दा बढी विदेशी खेलाडीको सहभागिता जोड दिएका छौं। एक देशबाट बढीमा चारजनासम्म पर्ने गरी धेरैभन्दा धेरै विदेशी खेलाडीलाई सहभागी गराउने प्रयासमा छौं’, सिजापतिले भने, ‘नेपाली खेलाडीले घरमै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको अनुभव गर्न पाउन भन्ने हाम्रो उद्देश्य हो।’ खुला महिला र पुरुषतर्फ दुई हजार पाँच सय, पुरुष युगल र मिक्स युगलतर्फ चार हजार तथा जुनियर महिला र पुरुष दुवैतर्फ पाँच÷पाँच सय रुपैयाँ प्रदेश शुल्क लाग्नेछ। कर्पाेरेट र एक्जुकेटिभ पुरुष एकलतर्फ दुई हजार पाँच सय, कर्पाेरेट र एक्जुकेटिभ युगलतर्फ चार÷चार हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ।

ब्याडमिन्टन संघसँग सम्झौता

अन्नपूर्ण पोस्ट् अन्तर्राष्ट्रिय कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आयोजनाका लागि शुक्रबार नेपाल ब्याडमिन्टन संघसँग सहकार्यको सम्झौता भएको छ। सम्झौतापत्रमा अन्नपूर्ण पोस्ट्को प्रकाशन कम्पनी अन्नपूर्ण मिडिया नेटवर्कका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेल र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रदेशस्तरीय छनोट प्रतियोगिता तथा काठमाडौंमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा ब्याडमिन्टन संघले प्राविधिक सहयोग गर्ने र त्यसबापत नेपाली ब्याडमिन्टनको विकासका लागि अन्नपूर्ण पोस्ट्ले तीन लाख रुपैयाँ सहयोग गर्नेछ।

यसैगरी प्रतियोगितामा विदेशी खेलाडीको सहभागिताका लागि पनि ब्याडमिन्टन संघले पहल गर्नेछ। यसैगरी प्रतियोगिता आयोजनाका लागि गरेको सहयोगबापत ब्याडमिन्टन संघले आयोजना गर्ने योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज—२०१८ को फाइनल खेलको एपी वान एचडी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने सहमति पनि भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.