मदनको मृत्यु अझै रहस्यपूर्ण : राष्ट्रपति
दमक : राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको मृत्युको रहस्य अझैसम्म खुल्न नसक्नु दुःखद भएकोे बताएकी छन् । समकालीन विश्वपरिवेशमा चर्चित सिद्धान्त दिएका मदनको युवा अवस्थामै अकल्पनीय दुर्घटना भएको स्मरण गर्दै उनले यसको सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद पक्ष रहेको बताइन्।
मोरङको उर्लाबारीमा जननेता मदन भण्डारी संग्रहालयको शुक्रबार उद्घाटन गर्दै भण्डारीले भनिन्, ‘कञ्चनजंघाको हिमालको काख ढुंगेसाँघुमा जन्मिएर समकालीन विश्वपरिवेशमा एक चर्चित सिद्धान्तका प्रतिपादक बन्न सफल लोकप्रिय मदनले दासढुंगामा युवा अवस्थामै दुर्घटनामा ज्यान गुमाउनुपरेको थियो । आजसम्म पनि त्यो अकल्पनीय दुर्घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन । यो दुःखद पक्ष हो ।’
उनले मदनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद अहिले पनि उत्तिकै सान्दर्भिक रहेको दाबी गरिन् ।जबजले वामपन्थी धारलाई अगाडि बढाउन अहिले पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको उनको तर्क थियो ।
उनले स्वर्गीय नेता भण्डारीलाई लोकतन्त्रका प्रबल अनुयायी तथा राष्ट्रियताका हिमायतीका रूपमा चित्रण गरिन् । मदनले देखाएकै सिद्धान्तको जगमा टेकेर आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरण भएको उनले बताइन् ।
कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले जननेता भण्डारीले देखाएको बाटोले देशले राजनीतिक स्थायित्व प्राप्त गरेको बताए । संग्रहालयले नयाँ पुस्तालाई भण्डारीबारे महत्वपूर्ण जानकारी दिने बताउँदै उनले देशमा सुशासन कायम हुने कुरामा विश्वस्त रहन अपिल गरे ।
संग्रहालयमा मदनका सामग्री
मदनको व्यक्तित्व तथा कृतित्वलाई उजागर गर्न संग्रहालयमा मदन भण्डारीको जिवनीमा आधारित सामग्री राखिएको छ ।
भण्डारीको लाउने लुगादेखि उनको राजनीतिक यात्रासँग सम्बन्धित सामाग्रीहरु संग्रहालयमा संगृहीत गरिएको छ । तीन तलाको संग्रहालय भवनमा १६ वटा कक्ष निर्माण गरिएका छन् ।
भुइँतलामा भण्डारीको राजनीतिक तथा सामाजिक जीवनमा आधारित सामग्रीजस्तै उनको चुलिएको व्यक्तित्व, प्रारम्भिक शिक्षा, राजनीतिक तथा वैचारिक दृष्टिकोण, चौथो महाधिवेशनमा भण्डारीको उपस्थितिजस्ता कुरा समेटिएका छन् ।
मदनका पारिवारिक सामग्री, भूमिगत कालमा सेल्टरका लागि प्रयोग भएका घर, दासढुंगामा भएको दुर्घटनामा प्रयोग भएको जिप राखिएको छ । त्यस्तै, भण्डारीका एल्बममा रहेका तस्बिर, १४० सिट क्षमताको जनताको बहुदलीय जनवाद पाठशाला निर्माण गरिएको छ ।
प्रतिष्ठानको हाताभित्र मदनको पूर्णकदको सालिक (स्मृत्ति पार्क), बाल उद्यान तथा पुष्प बगंैचासमेत निर्माण गरिएको छ ।
भण्डारीबारे युवा पुस्तालाई जानकारी दिने उद्देश्यले संस्कृति तथा पर्यटन मन्त्रालयअन्तर्गत पुरातत्व विभागको आर्थिक सहयोगमा प्रतिष्ठानले संग्रहालय निर्माण गरेको हो ।
निर्माण सुरु गरिएको १० वर्षपछि बल्ल संग्रहालयले पूर्णरूप पाएको छ । संग्रहालय ३ करोडमा सम्पन्न भएको अध्यक्ष गुरु बरालले जानकारी दिए ।