सपनाको संसार : रामोजी फिल्म सिटी
ठूल्ठूला ढुंगा र पहाड फुटाएर बसाइएको भारतको तेलंगना राज्यको प्रसिद्ध सहर हैदराबादको आफ्नो छुट्टै प्रसिद्धि छ। बन्जर माटो र तातो हावालाई ऊर्जामा रुपान्तरित गरी विकासको अद्भुत उदाहरणका रूपमा उदाउँदै गएको हैदराबाद पछिल्लो समय सूचनाप्रविधिको क्षेत्रमा समेत निकै फड्को मार्न सफल भएको छ।
विशेषतः मोती, हीरा र सुनका गहनाहरूको पारखीका लागि निकै रुचाइएको हैदराबाद सहरको यात्रालाई अविस्मरणीय बनाउँछ, रामोजी फिल्म सिटीले। यहाँ घुम्न आउनेका लागि रामोजी फिल्म सिटी नपुगी नहुने गन्तव्यका रूपमा स्थापित हुँदैछ। लाखौं अभिनेता र कलाकारको सपना रहेको यो फिल्म सिटीभित्र प्रवेश गर्दा ‘सपनाको संसार’मा पुगेझैं हुन्छ। विश्वभरि निकै रुचाइएका विश्वकै महँगा फिल्महरू निर्माण भएको थलोमा पुग्दा पर्दामा हेरिने झिलिमिली आँखाअगाडि नाच्न थाल्छ। यहाँ स्थायी र अस्थायी ठूल्ठूला हवेली र बंगलाहरू हजारौंको संख्यामा निर्माण गरिएका छन्।
बलिउडका चर्चित अभिनेता डेभिड धवनले निर्माण गरेको चलचित्र ‘बडे मिया, छोटे मिया’को छायांकनका क्रममा निर्माण गरिएको मुम्बईको झोल बस्तीको सेट हालसम्म पनि फिल्म सिटी घुम्न आउनेका लागि आकर्षणको केन्द्र बन्न पुग्छ। अभिनेत्री विद्या बालनको सुपरहिट चलचित्र ‘डर्टी पिक्चर’का गीतहरू रेकर्ड गरिएको बगैंचाहरूमा उनकै कल्पना गरी एक हूल केटीहरूले विभिन्न पोज दिएर फोटो खिचाइरहेका थिए।
हिन्दी सिनेमामा देखाइने हाइवेका दृश्यहरू छायांकन गर्न बनाइएका ठूल्ठूला सडकहरूमा घुम्दा हाइवेमै घुमेको अनुभूति हुन्छ। खेत, खलिहान, नदी, झरना, पोखरी, जंगल, मन्दिर, चर्च, मस्जिद, शमसानघाट, हवाई अड्डा, अस्पताल, रेलवे स्टेसन, गुफाहरूलगायत फिल्म निर्माणका लागि चाहिने सबै भौतिक पूर्वाधार उपलब्ध फिल्म सिटी साँच्चै अद्भुत रहेको छ। प्रविधि र आधुनिकताको अनुपम संगम रहेको छ रामोजी फिल्म सिटी।
फिल्म सिटीभित्र व्यापार प्रवद्र्धनका लागि दर्जनौं कर्पोरेट हाउसहरू निर्माण गरिएको छ। यहाँ घुम्न आउने पर्यटकको सेवासुविधालाई ध्यानमा राखेर व्यवस्थित होटल र मलहरूसमेत उपलब्ध छ। पूरै फिल्म सिटीलाई राम्ररी अवलोकन गर्न चाहने पर्यटकहरू यहाँ होटेल बुक गरी फिल्मी दुनियाँको अनुभव लिने गर्छन्। तेलंगना सरकारका लागि पर्यटक भित्र्याउने गतिलो थलो बनेको छ, रामोजी फिल्म सिटी।
विश्वभरि निकै रुचाइएका विश्वकै महँगा फिल्महरू निर्माण भएको थलो रामोजी फिल्म सिटीमा पुग्दा पर्दामा हेरिने झिलिमिली आँखाअगाडि नाच्न थाल्छ।
नेपालका १५ सदस्यीय सञ्चारकर्मीको टोलीलाई भारतीय राजदूतावासको तर्फबाट गराइएको एक साताको भारत भ्रमणका क्रममा हामीले तीन दिनका लागि हैदराबाद भ्रमण गर्ने अवसर पायौं। यही क्रममा बृहत् क्षेत्रफलमा फैलिएको फिल्म सिटी घुमियो। टुरिस्ट बसभित्र फिल्म सिटीको महŒवका बारेमा जानकारी गराउन उपलब्ध गाइडको रोमाञ्चक प्रस्तुति थप आकर्षण हो। नेपाली परिवारमा निकै रुचाइएका हिन्दी धार्मिक टेलिशृंखलाहरू रामायण, महाभारतको छायांकन भएको थलोमा हाल पनि अति नै सुन्दर सेट यथावत् सजाइएको छ। सेटभित्र प्रवेश गर्दा त्रेता र द्वापर कालमा सजिलै महाराज दशरथ र जनकको मन्त्रिमण्डलको बैठकमै पुगेझैं अनुभव हुन्छ। ती दरबारहरूमा कलाकारहरूको साटो प्रतिमा सजाइएका छन्।
६ सय दिनको लामो सुटिङपछि निर्माण भएको ‘बाहुबली’को सेटलाई समेत पर्यटकीय गन्तव्यका रूपमा तयार पारिएको हेर्न पाउँदा नेपालका पुरातात्विक र धार्मिक तथा पर्यटकीय स्थलको संरक्षणमा नदेखाइएको चासोले मन चिसो बनायो।
तेलंगनाका प्रसिद्ध फिल्म निर्माता रामोजी रावले ६० वटा चलचित्र निर्माणपश्चात् दुई हजार एकड जग्गामा सन् १९९६ मा निर्माण गरेको सपनाको संसारले बलिउडलाई एकसेएक सुपरहिट चलचित्र दिन सफल भएको हो। क्षेत्रफलका आधारमा गिनिज बुकले समेत रामोजी फिल्म सिटीलाई विश्वकै सबैभन्दा ठूलो फिल्म स्टुडियोका रूपमा प्रमाणित गरेको छ। प्राविधिक रूपमा अति नै विकसित सेटहरू र भौगोलिक रूपमा बनाइएका विश्वकै नमुना भौतिक संरचनाहरूले पर्दामा यथार्थलाई उतार्न निर्देशकहरूलाई सघाउँछ।
प्रत्येक वर्ष यस फिल्म सिटीबाट हिन्दी, तमिल, तेलगु, मलयालम, क्यानेडा, गुजराती, बंगाली, ओरिया, भोजपुरी, अंग्रेजीलगायत विभिन्न भाषाका टेलिभिजन सिरियलहरू निर्माण भई सेटलाइट र केबुल कनेक्सनको माध्यमबाट हाम्रा घरघरमा आइपुग्छन्। नेपालमा हिन्दी भाषाका टीभी सिरियलहरू निकै रुचाइएको हुनाले आफूले हेर्दै आएका दृश्यहरू यहीँ छायांकन भएको भनी अनुभव गर्दा निकै रमाइलो हुँदो रहेछ।
देशविदेशका सयौं सहरमा रहेका नमुना बगैंचाहरूलाई सेटको रूपमा निर्माण गरिएको फिल्म सिटीमा अमेरिका, युरोप लगायतका घरहरूसहित अन्तर्राष्ट्रिय विमानस्थल, अस्पताल, कारागार, बस्ती र गाउँहरूको दर्जनौं सेट निर्माण गरिएका छन्। टुरिस्ट गाइडले उपलब्ध गराएको जानकारीअनुसार फिल्म सिटीभित्र सानाठूला गरी एक सय २० वटा मनमोहक बगैंचा निर्माण गरिएका छन्। निर्देशकहरूले आफ्नो चाहनाअनुरूप सेट परिवर्तन गर्नेसमेत व्यवस्था गरिएको हुनाले एउटै लोकेसनमा पनि परिवर्तित परिदृश्यहरू छायांकन गर्न सहज हुने रहेछ।
सिनेमामा दर्शकले पर्दामा विभिन्न कलाकार, गीत र नृत्य आदिलाई बढी स्मरण गर्छन्। तर, यतिले मात्रै फिल्म निर्माण हुँदैन। यसका लागि सयौं व्यक्तिको प्रत्यक्ष र अप्रत्यक्ष संलग्नता हुन्छ। पर्दा पछाडिका नायकहरूबारे फिल्म सिटी घुम्न आउनेहरूलाई अवगत गराउने काम पनि गरिन्छ। सिनेमा निर्माणमा प्रयोग हुने प्रविधि र जनशक्तिको प्रयोगका विषयमा बनाइएको प्रस्तुति देखाएर यसका जटिलताहरूका विषयमा हामीलाई जानकारी गराइएपछि सिनेमा निर्माण सोचेभन्दा धेरै गाह्रो विषय रहेको अवगत भयो।