कामकला
कामकलाको उद्भव र विकास प्रणवबीज ॐकारबाट भएको छ। अ, उ, म् को संयुक्त रूप ॐकार हो। यसलाई सृष्टि, स्थिति र प्रलयको सांकेतिक अक्षर मानिएको छ। अ . सृष्टि, उ . स्थिति र म् . प्रलयका सांकेतिक अक्षर हुन्। सृष्टिकालमा अ, उ, म् को संयुक्त रूप ॐकार बन्छ भने प्रलयकालमा उ, अ, म् यस्तो क्रम बन्छ र उ, अ, म् को संयुक्त रूप वंकार बन्छ। वंकार अमृतबीज हो र अमृत अमरत्व हो, जसले मृत्युबाट अमरत्वतर्फ लैजान्छ। त्यसकारण मृत्योर्मा अमृतं गमय यस्तो कामना गरिन्छ। प्रलयकालको त्यो महानिशामा केवल वंकारको मात्र सत्ता बाँकी रहन्छ।
प्रणवबीज ॐकारमा दायाँबाट बायाँतिर फर्केको अंग्रेजीको थ्री (घ) जस्तो आकृतिले अ, उ, म् को संकेत गर्छ। त्यसको पछाडिपट्टिको धुपौरोको बिँडजस्तो घुमाउरो आकृतिले कला र त्यसदेखि माथिको अर्धचन्द्रको खोप्लेटोजस्तो आकृतिले नाद तथा त्यसदेखि माथिको बिन्दुले चाहिँ बिन्दुकै संकेत गर्छ। कला, नाद र बिन्दुलाई दार्शनिक एवं तान्त्रिक दृष्टिले व्याख्या गरिन्छ। दार्शनिक दृष्टिले जीव र ब्रह्मको मिलनको प्रक्रियालाई कला, जीव र ब्रह्मको मिलनलाई नाद एवं जीव र ब्रह्मको एकात्मकतालाई बिन्दु मानिन्छ।
तान्त्रिक दृष्टिले शिव र शक्तिको मिलनको प्रक्रियालाई कला, शिव र शक्तिको मिलन नाद, शिव एवं शक्तिको एकात्मकतालाई बिन्दु मानिन्छ। शुक्लबिन्दु एवं रक्तबिन्दुको मिलनबाट महाबिन्दु बन्छ र त्यही महाबिन्दुबाट चराचर जगत्को सृष्टि हुन्छ। शुक्लबिन्दु शिवतत्व र रक्तबिन्दु शक्तितत्व हो। शिव पुरुषतत्व र शक्ति चाहिँ स्त्रीतत्व हो। पुरुषको वीर्य सेतो वर्णको हुन्छ। अतः शुक्लबिन्दुले शिव अर्थात् पुरुषतत्वको संकेत गर्छ। स्त्रीको रज रातो वर्णको हुन्छ। अतः रक्तबिन्दुले शक्ति अर्थात् स्त्रीतत्वको संकेत गर्छ। पूजा पद्धतिमा शुक्लबिन्दुको रूपमा श्रीखण्ड चन्दन र रक्तबिन्दुको रूपमा रक्तचन्दनको प्रयोग गरिन्छ। शाक्त परम्परामा करवीर फूलको केशरलाई शिवलिंगको प्रतीक र अपराजिता फूललाई शक्तिको योनिको प्रतीक मानिन्छ।
अतः करवीर फूलमा श्रीखण्ड चन्दनको लेप र अपराजिता फूलमा रक्तचन्दनको लेप लगाएर अपराजिता फूललाई तल र करवीर फूललाई माथि राखेर ती दुई फूलको मिथुन रूप अथवा जोडालाई कामकलाको भावनाले शिव शक्तिलाई अर्पण गर्ने विधान छ। मूर्तरूपमा कलालाई ऊध्र्व त्रिकोणको रूपमा प्रस्तुत गरिन्छ। नादलाई अर्धचन्द्रको आधा खोप्लेटोको रूपमा र बिन्दुलाई बिन्दुकै रूपमा प्रस्तुत गरिन्छ। अतः प्रणवबीज ॐकारको पछाडिपट्टिको गोलो अथवा घुमाउरो आकृति चाहिँ ऊध्र्व त्रिकोणात्मक कला र त्यसमाथिको अर्धचन्द्र चाहिँ बिन्दुको नाद र बिन्दु चाहिँ बिन्दुकै प्रतिकृति हो। यसरी कामकलाको उद्भव र विकास प्रणवबीच ॐकारबाट भएको स्पष्ट हुन्छ।
श्रीयन्त्रमा कामकलाको प्रतीकात्मक प्रस्तुति पाइन्छ। शक्ति उपासनाको महत्वपूर्ण यन्त्र भएको हुँदा यस यन्त्रलाई श्री उपाधिद्वारा सम्मान गरिएको हो। समयाचार पद्धतिबाट उपासित र कौलाचार पद्धतिबाट उपासित गरी दुई प्रकारका श्रीयन्त्र हुन्छन्। समयाचार पद्धतिमा शिवतत्व प्रधान हुन्छ र कौलाचार पद्धतिमा शक्तितत्व प्रधान हुन्छ। शक्ति कुल र शिव अकुल हुन्। अतः कुलको उपासना गर्ने पद्धतिलाई कौलमार्ग भनिन्छ। कौलमार्ग पनि पूर्वकौल र उत्तरकौल गरी दुई प्रकारका छन्। पूर्वकौलमा धातुको पत्र वा कपडामा योनिको प्रतीक अधो त्रिकोण लेखेर त्यसमा चक्रपूजा गरिन्छ। चक्रपूजा भनेकै योनिपूजा हो। उत्तरकौलमा चाहिँ जीवित मानव कन्याकै योनिमा चक्रपूजा गर्ने विधान छ।
कामकला कुनै अश्लील विषय होइन। यो एउटा दर्शन हो, विज्ञान हो र सृष्टिको नियम हो।
श्रीयन्त्रमा नौवटा त्रिकोणको संयोजन गरिएको हुन्छ। यसमा सधैं चारवटा त्रिकोण तलबाट माथितिर फर्केको हुन्छ र चारवटा त्रिकोण माथिबाट तलतिर फर्केको हुन्छ। तलबाट माथितिर फर्केको ऊध्र्वत्रिकोण लिंगका प्रतीक हुन् भने माथिबाट तलतिर फर्केका अधोत्रिकोण चाहिँ योनिका प्रतीक हुन्। श्रीयन्त्रमा केन्द्रवर्ति त्रिकोणको मुख्य भूमिका रहेको हुन्छ। समयाचार पद्धतिअनुसारको श्रीयन्त्रमा शिवतत्व प्रधान हुने हुनाले समयाचार पद्धतिअनुसार उपासित श्रीयन्त्रको केन्द्रवर्ती त्रिकोण तलबाट माथितिर फर्किएको हुन्छ। यसैगरी कौलाचार पद्धतिअनुसारको श्रीयन्त्रमा शक्तित्व प्रधान हुने हुनाले उपासित श्रीयन्त्रको केन्द्रवर्ती त्रिकोण माथिबाट तलतिर फर्किएको हुन्छ।
आद्य जगत्गुरु शंकराचार्यद्वारा भारत वर्षका विभिन्न स्थानमा स्थापित मठहरूमा श्रीयन्त्र स्थापना गरिएका छन्। दक्षिण भारतको शृंगेरीमठमा स्थापित कौलाचार पद्धतिअनुसारको श्रीयन्त्रको फोटो प्रकाशमा आएको छ। नेपालमा पनि श्रीपशुपतिनाथको लिंगको ऊध्र्वभागमा श्रीखण्डचन्दन र रक्तचन्दनको लेपद्वारा कौलाचार पद्धतिअनुसारको श्रीयन्त्र लेखेर त्यस श्रीयन्त्रमा राजराजेश्वरी परमभट्टारिकाको पूजा गर्ने विधान छ।
यस जगत्लाई प्रकृति-पुरुषात्मक मानिएको छ। आधुनिक विज्ञानले पनि इलेक्ट्रोन, प्रोटन र न्युट्रन यी तीन तत्वको संयोजनद्वारा यस भौतिक जगत्को संरचना भएको मानेको छ। यसलाई बोलीचालीको भाषामा नेगेटिभ, पोजेटिभ र न्युट्रल भनिन्छ। चन्द्रनाडी नेगेटिभ अर्थात् स्त्रीतत्व हो। सूर्यनाडी पोजेटिभ अर्थात् पुरुषतत्व हो। सुषुम्नानाडी अग्नितत्व हो। अग्नितत्व न्युट्रल अर्थात् मध्यतत्व हो।
शिवलिंगको लिंग भागले सांकेतिक रूपमा पुरुषतत्वको प्रतिनिधित्व गर्छ। शिवलिंगको पीठभाग अर्थात् जलहरि चाहिँ योनिको प्रतीक हो। शिवलिंगको जलहरिको जल निकास हुने भागलाई योनिमार्ग भनिन्छ। यसले सांकेतिक रूपमा स्त्रीतत्वको प्रतिनिधित्व गर्छ। शिवलिंगको पीठभाग नागर, द्रविड र वेसर गरी तीन प्रकारका हुन्छन्। नागरशैलीको पीठ चतुष्कोणाकार, द्रविडशैलीको पीठ अष्टकोणाकार र वेसरशैलीको पीठ गोलाकारको हुन्छ। यसमध्ये वेसरशैलीको गोलाकार पीठले हुबहु योनिको प्रतिकृति प्रस्तुत गर्छ।
लिंगपूजाको उद्भव पत्ता लगाउँदै जाँदा हामी सिन्धुघाँटी सभ्यतामा पुग्छौं। सिन्धुघाँटीको उत्खननमा माटो र ढुंगामा निर्मित मानव लिंग र योनि आकृतिहरू फेला परेको छ। भारतको गुड्ड्मिल्लम र मथुरामा मानवलिंगको आकृतिको शिवलिंग पाइएको छ। नेपालमा भने मानवलिंगको आकृतिका शिवलिंगहरू पाइएको छैन तर लिच्छविकालीन शिवलिंगहरूमा एउटा रेखाअंकित गरिएको पाइन्छ।
त्यसलाई ब्रह्मसूत्र वा यज्ञोपवित भनिन्छ। उक्त रेखाले शिवलिंगमा मानवलिंगको आकृति प्रस्तुत गर्छ। नेपालमा नागर र वेसरशैलीका जलहरि पाइन्छ। मानदेवका रानी गुणवतीले नारायणहिटी राजदरबारको उत्तर-पूर्व कोणमा स्थापना गरेको शिवलिंगको जलहरि बेसरशैलीको छ। उक्त जलहरि ठीक मानव योनिको आकृति अनुरूपको छ। पशुपतिमा दक्षिणामूर्ति मन्दिरको आँगनमा पनि त्यही समयताकाको शिवलिंग स्थापित गरिएको छ।
सिन्धुघाँटी अहिले केवल पुरातात्विक अन्वेषणको विषय मात्र बनेको छ तर नेपालमा भने अहिले पनि लिंगपूजा र योनिपूजा जीवन्त अवस्थामा छ। पशुपतिमा लिंगपूजा र गुह्येश्वरीमा योनिपूजाको जीवन्त नमुना देखिन्छ। विश्वको मुख्य योनिपीठ आसामको कामाख्यपीठ हो। विश्वको दोस्रो र नेपालको पहिलो योनिपीठ गुह्येश्वरी हो। भारतवर्षको भूबनावट अधो त्रिकोणात्मक छ। यस बनावटलाई उत्तर-पूर्व कोणको आसामको कामाख्यापीठ, दक्षिणको पूर्णगिरिपीठ र पश्चिम-उत्तरको काश्मिरको श्रीपीठले त्रिकोणको रूप प्रदान गरेको छ। यस त्रिकोणको केन्द्रबिन्दुको रूपमा बिन्ध्याचलको विन्ध्यावासिनी रहेको छ। भक्तपुरका महाकाली, ललितपुरका महालक्ष्मी र कान्तिपुरका महासरस्वती त्रिकोणात्मक स्वरूपका छन्। यसको केन्द्रमा बिन्दु स्वरूपले गुह्येश्वरी रहेको छ।
तन्त्रशास्त्रमा योनिलाई प्रजनन र उर्वरको प्रतीक मानिन्छ। वर्षमा एक पटक असार महिनामा जब सूर्य आद्र्रा नक्षत्रमा प्रवेश गर्छ, त्यसबेला आद्र्रा नक्षत्रमा बसेको सूर्यको विकिरणले गर्दा यस धर्तीमा पानीको आद्र्रता बढ्छ र धर्तीको गर्भ रसाएर पानीको मूल फुट्छ। अघिपछि आसाम कामाख्याको योनिमुद्राबाट अविरल रूपमा पानी बगिरहन्छ तर असार महिनामा सूर्यले आद्र्रानक्षत्रमा प्रवेश गरेपछि कामाख्याको योनिमुद्रामा रातो रज बग्छ र तीन दिनसम्म कामाख्या मन्दिरको कपाट बन्द हुन्छ। धर्तीको गर्भ रसाएर मूल फुटेको जल रज र आकाशबाट बर्सेको पर्जन्य चाहिँ वीर्य हो। यसरी जल र पर्जन्यको संयोजनबाट पृथ्वी सश्यशालिनी बन्छ।
वेदले पनि ‘तन्माता पृथ्वी, तन्पिता द्यौ’ भनेको छ। लोकाभाषामा यसलाई धर्तीमाता र आकाशपिता भन्दछ। सगर गर्जेपछि धर्ती कमलाउँछ भन्ने मान्यता छ, किनभने धर्तीले थापेर आकाशले छोपेर धर्ती र आकाशको बीचमा चराचर जगत्को सृष्टि भएको छ। यो नै कामकला हो।
कामकलाको तुरीय अवस्थामा पुरुषलाई कस्तो अनुभव हुन्छ, त्यो अनुभूति स्त्रीलाई थाहा हुँदैन र स्त्रीलाई कस्तो अनुभव हुन्छ, त्यो अनुभूति पुरुषलाई थाहा हुँदैन। त्यसैले, यस्तो अवस्थामा स्त्रीलाई हुने अनुभव पुरुषलाई र पुरुषलाई हुने अनुभव स्त्रीलाई पनि होस् भन्ने हेतुबाट महेश्वरले आफ्नो लिंगलाई करवीर पुष्पमा लुकाएर राधाको रूपमा लीला गरे। यसैगरी उमाले आफ्नो योनिलाई शिखिपुच्छमा लुकाएर कृष्णको रूपमा लीला गरे। अतः शिखिपुच्छमा आफ्नो योनिको आकृति भएको हुँदा कृष्णले त्यसलाई मुकुटको रूपमा धारण गर्छ। भाद्रकृष्णअष्टमीका दिन वैष्णवहरू कृष्णजयन्ती मनाउँछन् भने शाक्तहरू कालीजयन्ती मनाउँछन्।
वैशाख १ गतेभन्दा चार दिनअघि भक्तपुरमा भैरव र भद्रकालीको बर्सेनि रथयात्रा सुरु गरिन्छ। रथयात्रा सुरु भएपछि बिस्केटजात्रा शुभारम्भ हुन्छ। बिस्केट जात्रा अथवा वैशाख १ गतेको चार दिनपछि भैरव र भद्रकालीको रथलाई कामकलाको भावनाले एकापसमा जुधाएपछि बिस्केटजात्रा समापन गरिन्छ।
वेदान्त दर्शनले आत्मानन्द, ब्रह्मानन्द, परमानन्द र सच्चिदानन्दको व्याख्या गरेको छ। बौद्ध दर्शनले त्यसलाई निर्वाण भन्छ। बुद्धका अनुसार निर्वाण एउटा अभाव हो। तर महायानले निर्वाणलाई शंवर अथवा महासुख मान्छ। वज्रयानले निर्वाणलाई भाव अभाव विनिर्मुक्त अवस्था मानेको छ। कामकलाको तुरीय अवस्थामा स्त्री र पुरुष दुवैले आफूलाई बिर्सेका हुन्छन्।
यदि त्यो अवस्थालाई भाव भन्ने हो भने दुवैले आफूलाई बिर्सेका छन् तर यदि अभाव भन्ने हो दुवै सम्भोगरत छन्। अतः कामकलाको तुरीय अवस्थालाई भाव अभाव विनिर्मुक्त अवस्था मानेको हो तर स्त्री-पुरुषको सम्भोगबाट प्राप्त हुने आनन्द क्षणिक हो। राग गएर शून्यमा विलय भएको अवस्थामा प्राप्त हुने परम आनन्द चाहिँ चिरस्थायी हो, शंवर हो, सच्चिदानन्द हो। यसैलाई रजनीशले ‘सम्भोगसे समाधि तक’ भनेका छन्।
नेपाली कलामा स्त्री-पुरुषका विभिन्न रतासन मूर्तिहरूद्वारा आआफ्ना दार्शनिक सिद्धान्तलाई मूर्तरूप दिएको पाइन्छ। वास्तवमा यस चराचर जगत्को सृष्टिको स्रोतलाई तन्त्रशास्त्रले योनिको उपमा दिएको छ। यसैगरी प्रकृति पुरुषात्मक जगत्को सिद्धान्तलाई कामकलाको उपमाद्वारा दर्शाइएको छ। त्यसकारण कामकला कुनै अश्लील विषय होइन। यो एउटा दर्शन हो, विज्ञान हो र सृष्टिको नियम हो।