आख्यानको कला
म क्योटोमा जन्मिएँ तर म दुई वर्षको हुँदा हामी कोबे सर्यौँ। समुद्रीतटमा रहेको र पहाडहरू नजिक भएको सहर हो कोबे। मलाई टोक्यो सहर खासै मन पर्दैन तर पनि म यहीँ बस्छु।किनभने म यहाँ एक अञ्जान बेनामी मान्छे हुन सक्छु। न्युयोर्कमा पनि त्यस्तै हो। मलाई कसैले पनि चिन्दैनन् र म जहाँ चाहे जान सक्छु। रेलमा कतै गयो भने पनि मलाई कसैले दुःख दिँदैन। टोक्योको सानो उपनगर क्षेत्रको एउटा सानो नगरमा मेरो घर छ, जहाँ मलाई सबैले चिन्छन्। म हरेक पटक बाहिर निस्किँदा मलाई मानिसले चिन्छन् र कहिलेकाहीँ यो कष्टप्रद हुन्छ।
म १३/१४ वर्षको हुँदादेखि ज्याज संगीत सुनिरहेको छु। संगीत एकदमै बलियो प्रभाव होः स्वर, धुन, लय, उदासीको भावनाले मेरा लागि लेखनमा निकै सहयोग गर्छ।
म संगीतकार बन्न चाहन्थेँ, तर बाजाहरू राम्रोसँग बजाउन जान्दिनथेँ, त्यसैले होला म लेखक बन्न पुगेँ। पुस्तक लेख्नु भनेको पनि संगीत बजाउनु जस्तै हो : सुरुमा म विषयवस्तु (थिम) बजाउँछु, त्यसपछि सुधार गर्छु, त्यसपछि एक प्रकारको निष्कर्ष हुने गर्छ। मेरा लागि ज्याज मानसिक यात्रा हो। जुन लेखभन्दा केही फरक छैन। स्ट्यान गेट्ज र गेरी मुलिगन मेरा सबैभन्दा मनपर्ने संगीतकार हुनुहुन्छ। उहाँहरू म किशोर हुँदै साह्रै उम्दा (उत्कृष्ट) संगीतकार हुनुहुन्थ्यो।
शास्त्रीय संगीतमा विशेषतः बरोक संगीत मलाई मनपर्छ। मेरो किताब काफ्का अन द शोरको नायकले रोडियोहेड र प्रिन्स सुन्छ। रेडियोहेडका केही सदस्यहरूले मेरो किताब मन पराउँछन् भन्ने सुन्दा म आश्चर्यचकित भएको थिएँ।
आपूmले आपूmलाई यथार्थवादीभन्दा पनि अतियथार्थवादी शैलीको फ्यान मान्ने मैले ‘नर्वेजियन उड’ लेख्ने बेलामा अब चाहिँ शतप्रतिशत यथार्थवादमै उभिएर आख्यान लेख्छु भन्ने सोच बनाएको थिएँ। मुख्य धारामा छिर्नु र म पनि यथार्थवादी आख्यान लेख्न सक्छु है भनेर मानिसलाई प्रमाणित गर्नु नै मेरो प्रमुख उद्देश्य थियो। नभन्दै मैले सोचेजस्तै ‘नर्वेजियन उड’ जापानमा बेस्ट सेलर भयो। ‘नर्वेजियन उड’ पढ्न र बुझ्नका लागि धेरै सजिलो छ। मेरो यथार्थवादी शैलीमा लेखिएको किताब पढेर पाठकहरूले मेरो अरू काममा पनि रुचि राख्लान् कि भनेर चालिएको रणनीतिक चालको प्रतिफल थियो ‘नर्वेजियन उड’।
म बाल्यकालबाटै पश्चिमी संस्कृतितर्फ ढल्किएँ- ज्याज संगीत, दोस्तोभस्की, काफ्का र रेमन्ड च्यान्डलर। यही नै मेरो आफ्नो दुनियाँ र कल्पनाचित्र थियो। आफू चाहेअनुसार म सेन्ट पिटर्सबर्गदेखि लिएर वेस्ट हलिउड, जहाँ पनि पुग्न सक्थेँ। आख्यानको शक्ति नै त्यही त हो- तपाईं जहाँ चाहे पनि जान सक्नुहुन्छ, कुनै रोकटोक बिना। अहिले त दुनियाँमा जहाँ चाहे पनि जान सजिलो छ, तर १९६० को त्यो दशकमा त एकबाट अर्को देशमा जानु पनि असम्भव जस्तै थियो। त्यसैकारण म पढेर वा संगीतको माध्यमले त्यहाँ पुग्थेँ। त्यो एउटा सपनाजस्तै मनस्थिति थियो।
अंग्रेजी भाषामा मैले पढेको पहिलो किताबको नाम थियो- रस म्याकडोनाल्डको ‘द नेम इज आर्चर’। एकचोटि पढ्न थालेपछि रोकिनै नसकिने कथानक भएका ती किताबहरूबाट मैले धेरै सिक्ने मौका पाएको थिएँ। त्यही बेलामा मलाई लियो टल्सटोय, दोस्तोभस्की, च्यान्डलर पनि पढ्न रमाइलो लाग्थ्यो। उहाँहरूका किताबहरू निकै मोटा र लामा हुन्थे, तर ती पेज-टर्नर थिए र म छोड्नै सक्दिनथेँ। आजसम्म पनि मेरा लागि आख्यान लेखनको आदर्श नै दोस्तोभस्की र च्यान्डलरलाई एउटै किताबमा राख्नु हो। मेरो लक्ष्य नै त्यही हो।
म २९ वर्षको हुँदा मैले अप्रत्याशित रूपमा किताब लेख्न सुरु गरेँ। केही लेख्न त चाहन्थेँ, तर के, कसरी थाहा थिएन। मैले जापानी लेखकहरूको कुनै पनि किताब हातसमेत लगाएको थिइनँ त्यतिबेला, त्यसैकारण आपूmले पढेका अमेरिकन र पश्चिमा किताबहरूको शैली, ढाँचा सबै सापटी लिएँ। त्यसैको फलस्वरूप, मैले आफ्नो मौलिक शैली निर्माण गरेँ। मैले मध्यरातपछि आफ्नो भान्साकोठाको टेबलमा लेख्न सुरु गरेको थिएँ। मेरो पहिलो किताब त्यस्तो थियो, जुन लेख्न मलाई १० महिना लाग्यो। एउटा प्रकाशकमा पठाएपछि मेरो किताबले कुनै किसिमको पुरस्कार पायो र त्यति हुनु नै मेरा लागि सपना भैmं थियो। म आश्चर्यचकित थिएँ। तर एकैछिन पश्चात् मैले सोचेँ, “हो, यी सबै कुराहरू वास्तवमै भइरहेका छन् र म पनि लेखक हुँ, हैन र ? ”
मेरो ‘काफ्का अन द शोर’ नामक किताब त्यति धेरै बिक्ला भनेर मैले कल्पना पनि गरेको थिइनँ। ‘काफ्का अन द शोर’को कथा जति जटिल र पछ्याउन गाह्रो छ मेरो शैली र गद्य पढ्नका निम्ति त्यति नै सजिलो पनि छ। मैले लेख्ने आख्यान नाटकीय, हास्यरसले भरिपूर्ण र पेज-टर्नर हुन्छ। तीन-चार वर्षको अन्तरालमा मात्रै म एउटा आख्यान लेख्छु र पाठकहरू प्रतीक्षा गरिरहनुहुन्छ।
आख्यान लेख्न बस्ने बेलामा मसँग कुनै योजना हुँदैन। म आफैं कथाको प्रतीक्षामा बस्छु। कथा कस्तो प्रकारको हुन्छ र के हुनेवाला छ भन्ने कुराको चयन नगरिकन म बस प्रतीक्षा गरिबस्छु। ‘नर्वेजियन उड’ को कुरा छुट्टै थियो किनभने मैले सुरुमै अतियथार्थवादी शैलीमा लेख्ने निर्णय गरेको थिएँ। तर प्रायः म चयन गर्दिनँ। लेख्ने समयमा मेरा दिमागमा केही दृश्यहरूले ढोका ढक्ढक्याउँछन् र म केवल ती अंशहरूलाई जोड्ने प्रयास गर्छु। त्यसपछि पाठक समक्ष कथानकको व्याख्या गर्छु। सजिला शब्दहरू, राम्रा बिम्ब, राम्रा रूपक अनि निकै ध्यानपूर्वक र स्पष्टताका साथ व्याख्या। मैले गर्ने यति मात्रै हो।
मेरा पाठक र म, हामी एउटै धरातलमा हुन्छौं। कथा लेख्ने बेलामा मलाई त्यसको निष्कर्ष र एउटा दृश्यपछि अर्को दृश्यमा के हुन्छ भन्ने कुरा पटक्कै थाहा हुँदैन। सुरुमा हत्याको मामला छ भने, हत्यारा को हो, कता छ, के गर्छ भन्ने कुराको ज्ञान मसँग पनि हुँदैन। हो, त्यही कुरा पत्ता लगाउन नै म किताब लेख्छु। हत्यारा को हो भन्ने कुरा मलाई थाहा छ भने त किताब लेख्नुको के उद्देश्य भयो र ? मेरा नायकहरूले त्यही कुरा अनुभव गर्छन् जुन म लेख्ने समयमा अनुभव गर्छु र जुन मेरा पाठकले पढ्ने समयमा अनुभव गर्छन्।
म न त बुद्धिमानी हो, न त अभिमानी। म त मेरा किताब पढ्ने पाठकहरू जस्तै हुँ। कुनै जमानामा जापानमा मेरो ज्याज क्लब हुने गथ्र्यो र म त्यहाँ ककटेल र स्यान्डविचहरू बनाउँथँे। मैले लेखक बन्न चाहेको थिइनँ- तर त्यस्तै भयो। यो मेरा लागि भगवान्को उपहार हो र मैले कृतज्ञ हुनुपर्छ जस्तो मलाई लाग्छ।
आख्यान लेख्ने मनस्थिति भएको समयमा म बिहानको ४ बजे उठेर ५, ६ घन्टाका लागि लेख्ने काम गर्छु। दिउँसो १० किलोमिटर कुद्छु वा १५ सय मिटर पौडी खेल्छु, वा कुनै दिन दुवै पनि गर्छु। त्यसपछि म पढ्छु र संगीत सुन्छु र ९ बजेसम्ममा आफ्नो बिछ्यौनामा पल्टिसकेको हुन्छु। कुनै परिवर्तनबिना म यही दिनचर्या पालना गर्छु। दिनचर्या दोहोर्याउने काम नै सबैभन्दा महत्वपूर्ण कुरा बन्छ, किनभने त्यो वशीकरणको एउटा रूप हो। आफ्नो दिमागको गहिरो क्षेत्रमा पुग्नका लागि म आफैंलाई वशीकरण गर्छु। यो दिनचर्या ६ महिनादेखि एक वर्षसम्म दोहोर्याउन एकदमै राम्रो मात्रामा मानसिक र शारीरिक शक्ति जरुरी हुन्छ। त्यसरी हेर्दा, एउटा लामो आख्यान लेखन भनेको जीवित रहने प्रशिक्षण जस्तै हो। शारीरिक शक्ति पनि कलात्मक संवेदनशीलता जत्तिकै आवश्यक हुन्छ।
मेरो आख्यानको पहिलो मस्यौदा एकदमै लथालिंग हुन्छ। त्यसलाई बारम्बार सुधार गर्नुपर्छ। पहिलो ६ महिना मेरो मस्यौदा लेखनमै बित्छ र अर्को सात आठ महिना पुनर्लेखनमा। मेहनत गर्ने बानी भएकाले म आफ्नो लेखनकार्यमा भएभरको ध्यान केन्द्रित गर्छु र लेख्ने समयमा अरू केही काम गर्दिनँ।
किताबका लागि पात्रहरू चुन्ने बेलामा मलाई मेरो जीवनमा आउने वास्तविक मानिसको अध्ययन गर्न मन लाग्छ। मलाई बोल्नभन्दा धेरै अरू मानिसको कथा सुन्न मन लाग्छ। उनीहरू कस्ताखाले व्यक्तिहरू हुन् भन्ने कुराको निर्णय गर्नुभन्दा पनि म उनीहरूले महसुस गरेको कुराहरू, उनीहरू कहाँ गइरहेका छन्, उनीहरूको जीवनको गन्तव्य के हो जस्ता कुराहरूका बारेमा विचार गर्छु।
म अलिकति ‘ऊ’बाट लिन्छु र अलिकति ‘उनी’बाट।
यसो गर्नु वास्तविक हो वा अवास्तविक भन्ने कुरा मलाई थाहा भएन तर मेरा लागि मेरा पात्रहरू वास्तविक मानिसभन्दा पनि बढी वास्तविक हुन्छन्। लेखनकार्यको त्यो ६, ७ महिनासम्ममा ती पात्रहरू म भित्र हुन्छन्। यो एक किसिमको ब्रह्माण्ड हो।
यसरी सोच्नुहोस् - मेरो एउटा जुम्ल्याहा भाइ छ। हामी दुई वर्षको हुँदा ऊ अपहरणमा पर्यो। उसलाई यो दुनियाँको अर्कै कुनामा लगियो र मैले उसलाई अपहरण भएपश्चात् भेटेकै छैन। मेरो आख्यानको नायक उही (मेरो जुम्ल्याहा भाइ) हो। ऊ मेरो अस्तित्वको एउटा भाग हो, तर म होइन। हामीले एकअर्कालाई लामो समयदेखि न देखेका छौं न भेटेका छौं। यो एक प्रकारको मेरो आफ्नै वैकल्पिक रूप हो। डीएनएको हिसाबले हेर्दा हामी एउटै हौं, तर हाम्रो परिवेश भिन्न छ। त्यसै कारणले हाम्रो चिन्तनशैली पनि फरक छ। आख्यान सिर्जना गर्दा म जहिले पनि दुनियाँलाई अरुको दृष्टिले हेर्ने कोसिस गर्छु, किनभने मलाई कहिलेकाहीँ आफैंदेखि दिक्क लागेर आउँछ। यसरी म भाग्न सक्छु। यो एक स्वैरकल्पना हो। यदि तपाईंसँग स्वैरकल्पना छैन भने किताब लेख्नुको के मजा भयो र ?
मेरा कथा र किताबहरूमा महिलाहरू माध्यमका रूपमा उभिएका हुन्छन्। त्यस माध्यमको काम ‘उनी’द्वारा केही घटना घटाउनु हो।
माध्यमले कथाको नायकलाई जहिले पनि कुनै स्थानमा नेतृत्व गरिरहेको हुन्छ र नायकले देख्ने दृष्टि सबै ‘उनी’द्वारा नै नायकलाई देखाइएको हुन्छ।
मेरो उपन्यासको नायक प्रायजसो सधैं वास्तविक दुनियाँ र आध्यात्मिक दुनियाँको बीचमा अड्किएजस्तो हुन्छ। आध्यात्मिक दुनियाँमा महिला र पुरुषहरू धेरै बौद्धिक र नरम हुन्छन् र वास्तविक दुनियाँमा महिलाहरू निकै क्रियाशील, सकारात्मक र हास्यकारक हुन्छन्। उनीहरूको ठट्टा गर्ने बानी पनि हुन्छ। नायकको मन यी पूर्णतया दुई फरक दुनियाँहरू बीच विभाजित हुन्छ र उसले कुन चाहिँ लिने भन्ने कुराको चयन गर्न सक्दैन। ‘नर्वेजियन उड’मा पनि नायकले दुई महिलाहरूबीच कसलाई चुन्ने भन्ने कुराको निर्णय सुरुदेखि अन्त्यसम्म पनि गर्न सक्दैन।
मलाई हास्यप्रदान संवाद लेख्न निकै रमाइलो लाग्छ। तर यदि मेरा सबै पात्रहरू हास्यपात्र भए भने पनि अल्छीलाग्दो हुन्छ। यी हास्यपात्रहरूले मेरो दिमागलाई स्थिरता प्रदान गर्छन्।
म मेरा पाठकहरू कहिलेकाहीँ हाँसुन् भन्ने चाहन्छु। जापानमा धेरै पाठकहरू मेरो किताब रेलमा यात्रा गर्दा पढ्छन्। मध्यमस्तरको कमाइ हुने व्यक्ति दिनमा दुई घन्टा रेलमा यात्रा गरी बिताउँछ र त्यो समय ऊ पढेर व्यतित गर्छ। यही कारणले गर्दा मेरा ठूला किताबहरू दुई खण्डमा विभाजन गरी छापिएका छन्। एउटैमा भएको भए निकै गह्रौँ हुन्थ्यो। केही पाठकहरू मलाई पत्रलेखी गुनासो गर्छन्- उनीहरू मेरो किताब पढेर ट्रेनमा एक्लै हाँस्छन् र यस्तो स्वभाव उनीहरूका लागि निकै लज्जाजनक हुन्छ। यिनै पात्रहरू मलाई अत्यधिक मन पर्छन्। म मानिसलाई हरेक १० पृष्ठमा हँसाउन चाहन्छु र उनीहरू मेरो किताब पढेर हाँस्छन् भने योभन्दा राम्रो कुरा के हुन सक्छ र ?
यो सहरी जीवन, यो दुनियाँ, यो सबै एक प्रकारको कमेडी त हो नि। ५० भन्दा धेरै च्यानल भएको टीभी, सरकारमा भएका ती मूर्ख मानिसहरू- सबै कमेडी हुन्। म यो कमेडीबाट बाहिर निस्कन जति गम्भीर हुने कठिन प्रयत्न गर्छु त्यति धेरै हास्यास्पद बन्न पुग्छु। सन् १९६८ र १९६९ मा म १९ वर्षको हुँदा हामी निकै गम्भीर थियौं। त्यो समय नै गम्भीर समय थियो र मानिस पनि आदर्शवादी थिए।
‘द वाइन्ड अप बर्ड क्रोनिकल’ लेख्ने चार वर्षको अवधिमा म अमेरिकामा एउटा अपरिचित नौलो व्यक्तिको रूप धारण गरेर बसेको थिएँ। त्यही नौलोपना र विचित्रताले मलाई छायाजस्तै जताततै पछ्याइरहन्थ्यो र किताबको नायकलाई पनि त्यसै गर्यो। मैले त्यो किताब जापानमा बसेर लेखेको भए सो किताबको स्वरूप भिन्न हुने थियो होला। अमेरिकामा बस्दा मैले महसुस गर्ने नौलोपन र जापानमा हुँदा महसुस गर्ने नौलोपनमा मैले निकै फरक पाएँ। अमेरिकामा हुँदाको नौलोपनको भावना प्रत्यक्ष र स्पष्ट थियो र त्यसले मलाई आपूmप्रतिको पहिचान स्पष्टरूपमा दियो। यो ‘द वाइन्ड अप बर्ड क्रोनिकल’ आख्यान लेख्ने प्रक्रिया पनि कुनै किसिमले आपूmलाई नांगो बनाउनु जस्तै थियो।
‘द वाइन्ड अप बर्ड क्रोनिकल’ लेख्दा म आफ्नो मुख्य पात्रलाई स्वतन्त्र र पूर्ण व्यक्तिको रूपमा चित्रण गर्न चाहन्थेँ। ऊ यस्तो प्रकारको व्यक्ति हो जसले घनिष्टता र व्यक्तिगत सम्बन्धभन्दा स्वतन्त्रता र एकांकीपनलाई प्राथमिकता दिन्छ। आजकल किताब लेख्दा कथानक धेरै महत्वपूर्ण हुन्छ। मलाई सिद्धान्त र शब्दावलीको केही वास्ता छैन, तर कथानक राम्रो छैन भने त्यो कथा कथा नै रहँदैन।
मेरो नायक जहिले पनि अपूरो हुन्छ। उसको केही कुरा हराएको हुन्छ र ऊ त्यसको खोजी गर्छ। ऊ ओडिसियस जस्तो छ। खोजीका क्रममा ऊ धेरै अनौठा कुराहरूको अनुभव गर्छ र उसले ती अनुभवहरू बाँच्नुपर्छ। अन्त्यमा उसले खोजिरहेको चिज त भेट्टाउँछ तर आफूले भेट्टाएको चिज आफैंले हराएको चिज हो भनी ऊ निश्चित गर्न सक्तैन। मेरो पुस्तकको मूल भाव नै त्यही हो। मेरो आख्यानको प्रेरक शक्ति नै हराउनु, खोज्नु र भेट्टाउनु हो। र निराशा- संसारको एउटा नयाँ रूपको जागरुकता पनि। यति हुँदाहुँदै पनि मुख्य कुरा नायक आफ्नो अनुभवका क्रममा परिवर्तन भएको हो भन्ने हो। नायकले भेट्टाएको कुराभन्दा पनि ऊ कसरी परिवर्तन भयो भन्ने कुरा बढी महत्वपूर्ण बन्न जान्छ।
मेरी अर्धाङ्गिनी मेरो पहिलो पाठक हुन्। म उनैमा निर्भर हुन्छु र उनी मेरा लागि पाटर्नर जस्तै हुन्। फिट्जेराल्डका लागि जेल्डा पहिलो पाठक भएभैmं।
म एकलकाँटे व्यक्ति हुँ। मलाई समूह, स्कुल र साहित्यिक मण्डलीमा खासै चासो लाग्दैन। एकचोटी प्रिन्सटन युनिभर्सिटीमा मलाई लन्चका लागि निमन्त्रणा गरिएको थियो। जोयस क्यारोल ओट्स, टोनी मरिसनजस्ता व्यक्तित्वहरू त्यहाँ उपस्थित हुनुहुन्थ्यो तर म धेरै भयभित भएर त्यहाँ केही खानै सकिनँ। त्यहाँ म जत्तिकै उमेर भएकी म्यारी मोरिस पनि उपस्थित थिइन् र उनी एकदम राम्रो स्वभावकी भएकाले हामी साथी बन्यौं। तर म दूरी कायम राख्न चाहने भएकाले जापानमा मेरा कोही लेखक साथी छैनन्।
रिउ मुराकामी, बनाना योसिमोटोजस्ता जापानी लेखकहरूका किताब मलाई मन पर्छन् तर म कुनै समीक्षा वा समालोचना गर्दिनँ। मेरो काम दुनियाँ र यसमा रहने मानिसलाई मूल्यांकन गर्नु नभएर उनीहरूलाई नियाल्नु मात्र हो।
समालोचनामाभन्दा बढी रुचि म अनुवादमा राख्छु किनभने अनुवाद गर्दा मूल्यांकन गर्नुपर्ने अवस्था विरलै आउँछ वा भनौं आउँदै आउँदैन। अनुवाद गर्दा म आफ्नो मनपर्ने कामको वाक्य-वाक्य आफ्नो शरीर र मस्तिष्कबाट निस्कन दिन्छु। हामीलाई यस दुनियाँमा समालोचकहरू पक्कै चाहिन्छन् तर समालोचना मेरो काम पटक्कै होइन।
आपूm एक अनुवादक भएकाले एउटा किताबलाई सशक्त बनाउन अनुवादकको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने कुरा राम्रोसँग बुझेको छु। मेरा किताबका अनुवादकहरू तीनजना छन् - अल्फ्रेड बर्नबउम, फिलिप गाब्रियल र जोय रबिन। हामी सबैजना मित्रताको बन्धनमा बाँधिएका छौं र मेरो कुन किताब अनुवाद गर्न कसलाई दिने भन्ने कुराको खासै त्यस्तो कठोर नियम छैन। जो सुरुमा आउनुहुन्छ उहाँले नै गर्नुहुन्छ। उहाँहरूले मेरो किताब पढ्नुहुन्छ र एकजनालाई मन पर्यो भने उहाँले लिइहाल्नुहुन्छ। कामको बारेमा उत्साहित हुनु नै अनुवादकको सबैभन्दा महत्वपूर्ण पक्ष हो। यदि कोही एकदमै कुशल अनुवादक छ तर उसलाई आफूले अनुवाद गर्न आँटेको किताब मन पर्दैन भने त्यही कथाको अन्त्य हो भन्ने कुरा बुभ्mदा हुन्छ। अनुवाद लामो समय लाग्ने अत्यन्तै कठिन कार्य हो।
म विदेशका विदेशीहरूको बारेमा नभएर हाम्रा बारेमा लेख्न चाहन्छु। मेरा लागि हाम्रो जापान र जापानी जीवनका बारेमा लेख्नु एकदमै महत्वपूर्ण छ। धेरै मानिसहरू मेरो शैली पश्चिमाहरूलाई सुलभ छ भन्छन्। यो सत्य पनि हुन सक्छ, तर मेरा कथाहरू पश्चिमी नभएर मेरा आफ्नै हुन्।
मैले म्याक डोनाल्डमा ह्यामबर्गर खाइरहेका मानिसका बारेमा लेख्दा अमेरिकीहरू आश्चर्यचकित हुन्छन्। उनीहरू भन्छन्, ‘यो पात्रले तोफु नखाएर किन ह्यामबर्गर खाइरहेको छ ? ’ तर ह्यामबर्गर खानु हाम्रा लागि स्वाभाविक र दिनदिनै खाइने कुरा हो।
मेरो आख्यानमा मानिसले काम गर्ने तरिका, कुरा गर्ने तरिका, सोच्ने तरिका, सबै धेरै जापानी शैलीको हुन्छ। कुनै जापानी पाठकहरूले आजसम्म यो कथा हाम्रो जीवनभन्दा अलग भयो भनेर गुनासो व्यक्त गर्नुभएको छैन। म जापानीहरूको बारेमा लेख्न कोसिस गरिरहेको छु। हामी को हौं, कहाँ जाँदैछौं र हामी किन यहाँ छौं भन्नेबारे लेख्न चाहन्छु। मलाई लाग्छ, यही नै मेरो ‘थिम’ हो।
लगभग मेरा सबै किताबहरू प्रथम पुरmषमा लेखिएका छन्। मेरो नायकको मुख्य कार्य भनेको उसको आसपासमा भएको कुराहरूको अवलोकन गर्नु हो। उसले वास्तविक समयमा देख्नै पर्ने कुराहरू देख्छ। ऊ ‘द ग्रेट ग्याट्स्बी’ को ‘निक क्यारावे’सँग मिल्दोजुल्दो छ। ऊ तटस्थ छ, र आफ्नो तटस्थता कायम राख्न उसले नातेदारी, पारिवारिक प्रणालीबाट मुक्त हुनुपर्छ।
किताब लेख्नुको राम्रो पक्ष भनेको नै जागै भएर सपना देख्न पाइने मजा हो। यदि त्यो साँच्चिकैको सपना हो भने तपाईं त्यसलाई नियन्त्रण गर्न सक्नुहुन्न। तर यदि तपाईं किताब लेख्दै हुनुहुन्छ भने तपाईं जागै हुनुहुन्छ ः समय, लम्बाइ सबै कुरा आफैं चयन गर्न सक्नुहुन्छ। म बिहान चार वा पाँच घन्टा बसेर लेख्ने गर्छु र समय आएपछि रोकिन्छु पनि। म अर्को दिन फेरि जागै भएर सपना देख्छु।
मलाई विवरणहरू धेरै मन पर्छन्। टोल्सटयले पूर्ण विवरण लेख्न चाहन्थे तर मेरो विवरण धेरै सानो क्षेत्रमा केन्द्रित छ। जब तपाईं सानो कुराहरूको विवरण दिनुहुन्छ, तपाईंको ध्यान नजिक हुँदै जान्छ र टोल्सटयको विपरीत हुन्छ - यो अधिक अवास्तविक हुन जान्छ। हो, म यही गर्न चाहन्छु।
म आपूmलाई समकालीन साहित्यको लेखक मान्छु, जुन शास्त्रीय साहित्यबाट धेरै फरक छ। काफ्का र गाब्रियल गार्सिया मार्केजले लेखेको कुरा शास्त्रीय अर्थमा साहित्य हो। मेरा कथाहरू धेरै वास्तविक, धेरै समकालीन र पोस्टमोर्डन अनुभव हो। काफ्काको लेख्ने बेलामा दुनियाँमा संगीत, किताब र नाट्यशाला मात्रै थियो। अहिले हामीसँग इन्टरनेट, चलचित्र, भिडियोजस्ता थुप्रै कुराहरू छन्। यो दुनियाँमा आज निकै प्रतिस्पर्धा छ। मुख्य समस्या भनेको नै समय हो : उन्नाइसौं शताब्दीमा ‘लिजर’ क्लासका मानिसलाई बिताउनका लागि धेरै समय थियो र उनीहरू मोटा र ठूला किताब पढ्न पनि हिच्किचाउँदैनथे। ओपेरा गएर तीन चार घन्टा बिताउँथे। तर अहिले सबैजना व्यस्त भएका कारण यहाँ वास्तविक ‘लिजर’ क्लास नै छैन।
मोबी-डिक र दोस्तोभस्की पढ्दा राम्रो छ - तर अहिले मानिसलाई त्यति समय कहाँ छ ? त्यसै कारणले आख्यान आपैmं प्रचण्ड रूपमा परिवर्तन भएको छ। हामीले मानिसलाई गर्दनबाट समातेर ल्याउनुपर्छ। समकालीन आख्यान लेखकहरू ज्याज, भिडियो गेमजस्ता अरु क्षेत्रको प्रविधि प्रयोग गर्दैछन्। आजकल भिडियो गेम नै आख्यानको सबैभन्दा नजिक छ जस्तो मलाई लाग्छ। आपूm खेल्न मन नपर्ने भए पनि भिडियो गेमसँग म धेरै समानता महसुस गर्छु। लेख्दालेख्दै कहिलेकाहीँ मलाई म एक भिडियो गेमको डिजाइनर हुँ र त्यही समयमा एउटा खेलाडी पनि हुँ भन्ने महसुस हुन्छ। मैले यो प्रोग्राम बनाएँ र म अब यसको मध्यमा छु; मेरो बायाँ हातलाई मेरो दायाँ हातले के गरिरहेको छ भन्ने कुराको पत्तो छैन। यो एक प्रकारको विच्छेद हो। विभाजनको भाव।
लेखनमा तल्लीन हुँदा लेखक र पाठकले कस्तो महसुस गरिरहेको छ भन्ने कुरा मलाई थाहा हुन्छ। यो कुरा राम्रो हो, किनभने यसले मेरो लेखनलाई गति दिन्छ। म पनि अब के हुन्छ भनेर पाठक जत्तिकै जान्नका लागि आतुर हुन्छु। यो एक द्रुत गतिमा बग्ने प्रवाह हो- तपाईंले कहिलेकाहीँ यो प्रवाहलाई रोक्नुपर्छ। यदि यो अत्यधिक छिटो भयो भने मानिस थकित हुन्छन् र अल्छी महसुस गर्छन्।
काफ्का अन द शोरको १५ वर्षीय नायकका बारेमा लेख्दा मैले आफ्नो १५ वर्षीय जीवन कस्तो थियो भनी सम्झना गरेको थिएँ। स्मृति नै मनुष्यको सबैभन्दा ठूलो सम्पत्ति हो। यो एक प्रकारको इन्धन हो; जो जल्छ र तपाईंलाई न्यानोपनको आभास हुन्छ।
मेरो स्मृति पनि एक दराजजस्तै छ : त्यस दराजमा थुप्रै कोष्ठहरू छन् र जब म १५ वर्षीय युवक हुन चाहन्छु, म एउटा निश्चित कोष्ठ खोल्छु र मैले कोबेमा युवक हुँदा देखेको दृश्य फेला पार्छु। म त्यहाँको हावा सुँघ्न सक्छु, त्यहाँको जमिन छुन सक्छु र रूखको हरियोपन देख्न सक्छु।
त्यसैले म किताब लेख्न चाहन्छु।
पेरिस रिभ्युमा प्रकाशित जोन रेले लिएको अन्तर्वार्तामा आधारित।
अनुवाद : नेहा शर्मा