प्रभुत्वशालीको अनुहार
ऐलानी उपन्यास लिएर आएका विवेक ओझाको पहिलो परिचय नै कलात्मक लेखन हो। यसमा नै उनको प्रवृत्ति निर्धारण भएको छ। यो कृति कसरी लेखिएको छ र यसको कलासौन्दर्य पक्ष कस्तो छ भन्दा पनि उपन्यासमा के विषय, कसरी प्रस्तुत गरिएको छ भन्नेबारे यो लेख केन्द्रित छ।
अन्य धेरै उपन्यासकारहरूका उपन्यासले जस्तै ऐलानीले पनि पाठकहरूलाई दिने प्रभाव र छोड्ने छाप भनेको नारीमाथिको सहानुभूति नै हो। विषयका दृष्टिकोणले के यो कुनै नयाँ विषय हो र ? ‘रूपमती’देखि यताका राम्रा र चर्चित भनिएका सबैजसो उपन्यासहरूमा त्यही एउटै कुरा त देखाइएको छ लगातार। नारी शरीरमाथिको शोषण, उनीहरूको कन्तबिजोग र अन्त्यमा उनीहरूमाथि उब्जने करुणा। के अब अलि फरक सोच्ने र लेख्ने बेला भएन र ?
मध्य पुसको एक बिहान पद्मकन्या क्याम्पसका एमएका विद्यार्थीलाई म कोर्सभन्दा बाहिरका पुस्तकहरू पनि पढ्न सुझाइरहेकी थिएँ। जाडो बिदामा पढ्ने पुस्तकहरूको नाम भन्ने क्रममा मैले भर्खरै आफूले पढेर भ्याएको र आफ्नै ब्यागमा भएको ऐलानीको नाम भन्न चाहिनँ।
विषयवस्तु यथार्थपरक भए पनि उपन्यास कहिल्यै पनि शतप्रतिशत सत्य र तथ्यमा उभिएको हुँदैन। उपन्यासमा कल्पनाको प्रयोग यथेष्ट गरिएको हुन्छ। उपन्यासमा जब यसरी कल्पनाको प्रयोग गरिएको नै हुन्छ भने त्यो कल्पना किन जहिले पनि नारी शरीरको कपडा झिकेर नग्न पार्नमा मात्र गरिन्छ ? किन उसको असहाय र लाचारीपनको मात्र कल्पना गरिन्छ ? किन उसका सफलता, उसको दृढ आत्मविश्वासको कल्पना गरिँदैन ? यस उपन्यासमा खट्केको कुरा यही हो कि, साँच्ची उपन्यास भन्नु नै नारीहरूका आँसु र पुरुषहरूको अहम्को गाथा हो ? सायद म मेरा शिष्याहरूलाई उनीहरूजस्तै उमेरकी एउटी नारीले हारेको, रोएको, पुरुषको चरणमा परेर ‘मलाई श्रीमती बनाऊ’ भनेर अनुनय गर्दै लाचार भएको कथा पढ भनेर कसरी भन्न सक्थेँ ? यस्ताखाले आख्यानले भर्खरै साहित्य पढ्न थालेका उत्साही केटीहरूमा पार्ने प्रभाव भनेको या त पुरुषप्रतिको विद्रोह हुन्छ या त निराशा।
ऐलानी उपन्यास यस्तै नारीयौन (पुरुषसत्ताले निर्धारण गरेको अर्थअनुसार) नारीशरीर र नारीसंवेदनामाथि अनुमानित फूलबुट्टा भरेर तयार पारिएको आख्यान हो। यस उपन्यासमा प्रयुक्त वसन्ती, फूलमाया, बेला, जल्लु दिदी, मुखियानी, ठूली, भंगेरी, रमा, ज्योति, लक्ष्मी आदि थुप्रै नारी पात्रहरूका पीडा, दु:ख, समर्पण, अपमान, लाचारी आदिको शृंखलाबद्ध प्रस्तुति गरिएको छ। यो त उपन्यास न हो, यसमा कल्पना नै सही एउटै मात्र सफल र आत्मविश्वासी नारीपात्रको प्रयोग गरिएको भए आखिर के नै हानि हुन्थ्यो र ?
नेपाली आख्यानमा निरन्तर हतियारका रूपमा प्रयोग हुँदै आएको शब्द भनेको नै नारी शरीरको वर्णन हो। यसलाई कसरी वर्णन गरिन्छ भने मानौं साहित्यको शक्ति त्यही छ। लामो कपाल, सुलुक्क परेको नाक, सुन्तलाका केस्राजस्ता ओठ, गालामा पर्ने खाल्टो, गोरो अनुहार, छिनेको कम्मर, ओठमाथिको कालो कोठी, मिलेको दाँत आदि। यी शब्दमा निहित जति अर्थ छन्, त्यति नै हो नारीको सौन्दर्य ? नारीको हैसियत ? यस्ता वर्णनहरू सर्वप्राचीन विषय हुन्। आजको युगमा यस्ता पारम्परिक शब्दले कुनै अर्थ राख्दैनन्। नारी अवयवहरूको वर्णन त केवल पुरुष मनोविज्ञान मात्र हो। यस उपन्यासमा पनि यस प्रकारको पुरुष मनोविज्ञान जताततै हावी भएको देखिन्छ।
ऐलानीलाई ऐलानीकै रूपमा देखाउनुले खास अर्थ राख्दैन। ऐलानीलाई नम्बरी बनाउने र बन्न सफल भएको देखाउनुपथ्र्यो उपन्यासले तर यसमा चुकेको छ। पृथ्वीजस्ती, धर्तीजस्ती, फूलजस्ती, जूनजस्ती, शीतको थोपाजस्ती, मुनाजस्ती, परीजस्ती यस्तीउस्तीको लहरमा अब फेरि अर्को नयाँ शब्दको आविस्कार भएको छ ऐलानीजस्ती।
यहाँ शरीर बेचेर जीवन गुजारा गर्नुपर्ने बाध्यता भएकी वसन्तीलाई बाटो बिराएको भनेर सम्झाइएको छ तर उसको ग्राहक बनेर आउने पुरुषलाई भने केही भनिएको छैन।
यस कृतिको राम्रो पक्ष भनेको पुरुष मानसिकतालाई यथार्थ रूपमा प्रस्तुत गर्नु हो। उपन्यासको प्रारम्भमा नै पुरुष मानसिकता प्रकट भएको छ। यसको नायक म पात्रले स्वास्नी भन्नेबित्तिकै उसको ओठ, ओठमाथिको कोठी सम्झिएको छ। स्वास्नीले दिएको साथ, सहयोग र प्रेमको कुरै आएको छैन। प्रश्न यही उठ्छ कि, स्वास्नीले प्रेम नै गर्दैनथी भने यादमा विक्षिप्त किन भएको होला ? एक पंक्ति छ,
‘मलाई वसन्तीको भोलापन औधी मन पथ्र्यो’ (पृ.२१०)। यो आम पुरुष मनोविज्ञानकै अभिव्यक्ति हो। नारीहरू मायालाग्दी, टिठलाग्दी, कामुक, सुन्दरी देखिनुपर्ने, कुनै (राम्री ? ) युवती देख्नासाथ दुई मिनेटभित्रै प्रेमिका हुँदै श्रीमती नै बनाइहाल्ने, नारीको रूपलाई नै सबैथोक देख्नेजस्ता जुन सन्दर्भहरू उपन्यासमा आएका छन्, ती पुरुषधारणा हुन् र यस्ता प्रसंग र अभिव्यक्तिहरू उपन्यासको आदिदेखि अन्त्यसम्म नै पाउन सकिन्छ। बिहे गरेर भित्र्याएकी स्वास्नीले त बलात्कारको मुद्दा हाल्छु भनेर धम्क्याएकी थिई (पृ.४९)। अब यस किसिमका वाक्यहरूले दिने अर्थलाई कसरी लिने ?
उपन्यासमा वसन्तीलाई नायकले मनमनै प्रश्न सोधेको छ, ‘तिमी कतिपटक गएकी छ्यौ होटेलहरूमा ? कति पटक सजिएकी छ्यौ अरूको बिस्तारामा ? ए गुलाफझैं सुन्दरी, त्यसरी बाटो बिराउनु ठीक होइन,’ (पृष्ठ ५१)। यहाँ शरीर बेचेर जीवन गुजारा गर्नुपर्ने बाध्यता भएकी वसन्तीलाई बाटो बिराएको भनेर सम्झाइएको छ तर उसको ग्राहक बनेर आउने पुरुषलाई भने केही भनिएको छैन। पुरुष वेश्यालय धाउनुलाई भने सामान्य मानिएको छ। यस कृतिमा पुरुषपात्रहरू पनि छन् तर ती नारीपात्रको वर्णनसँगै तानिएर आएका छन्। जाँड खाने, स्वास्नी पिट्ने, राम्री केटी हेर्दै हिँड्ने, केटी बेच्ने, सामन्ती प्रवृत्ति देखाउने, नारीलाई यौनका दृष्टिले मात्र हेर्ने, संवेदनासँग खेल्नेजस्ता पुरुषपात्रको प्रयोग भएको यस उपन्यासमा यसबारे भने कुनै प्रतिक्रिया देखाइएको छैन। कामदार बसेकी बालिकामाथि बलात्कार गर्ने होटलसाहू र बच्चाको बाबु बनिसकेपछि पनि छाडेर जाने युवकप्रति उपन्यास मौन छ।
यस कृतिमा गरिएका वर्णन भोक्ताको अभिव्यक्ति होइन। जसले भोग्छ, उसले त व्यक्त गर्नै जान्दैन। यहाँ पात्रको चेतनाको स्तर र अभिव्यक्तिको स्तरमा त्यति मेल देखिँदैन। समग्रमा यस उपन्यासमा परम्परित सोच र मान्यताहरू नै हावी भएको प्रतीत हुन्छ। उपन्यासको सुरुमा नै भेट भएकी वसन्ती बदिनीलाई आफ्ना आवश्यकता (कथाको प्लट खोज्ने र आ श्रय दिनेजस्ता ) पूरा गर्ने माध्यमका रूपमा प्रयोग गरी अन्त्यमा बदिनीकै रूपमा छोडिदिनुले उपन्यासमा नवीनताको निषेध र यथास्थितिको समर्थन गरेजस्तो देखिएको छ। हुन त उपन्यासमा भावुकतावश ‘हो म तिम्रो राजा हुँ,’ जस्ता जोसिलो अभिव्यक्ति प्रकट भए पनि त्यसमा कुनै व्यावहारिकता देखिँदैन।
उपन्यासको भाषा कलात्मक छ। शीर्षक नै प्रतीकात्मक रहेको यस उपन्यासमा प्रयुक्त भाषा काव्यात्मक र सुन्दर छ। तर कतैकतै बिम्बको अत्यधिक प्रयोगले भाषा बोझिल र कृत्रिम पनि देखिन पुगेको छ। जस्तै एउटा उदाहरण, अरू दिनभन्दा बेग्लै देखिएको थियो उनको अनुहार। कताकता लामो यात्रापछि थकान मारिरहेको यात्रीजस्तो। घाम धरतीमा पोखिएझैं खुसीका किरणहरू अनुहारमा पोखिएजस्तो। गाउँबाट बसाइँ सर्न लागेका गाउँलेको दु:खित अनुहारजस्तो। नयाँ जग्गा पाएर उत्साहित सुकुमबासीको सुखद अनुहारजस्तो। थरीथरी भावले रंगिएको थियो उनको अनुहार (पृ.२७)। यस अनुच्छेदमा उपमाका रूपमा आएका यस्ता अनेकौं विम्बहरूले भाषाको स्वाभाविकतालाई अतिक्रमण गरेका छन्। वृद्ध फूलमाया बदिनीको अनुहारको वर्णन गर्न यति धेरै शब्द खर्चिनु आवश्यक नै छैन।
उपन्यासमा केही राम्रा पक्ष पनि छन्। पुरुषलाई आवश्यकताभन्दा बढी आदर्शीकरण नगरी यथार्थरूपमा प्रस्तुत गरिनु यसको अर्को राम्रो पक्ष हो। सारा कमजोरीहरूको बाबजुद नायकलाई जसरी नायक बनाइएको छ, त्यो आकर्षक छ। उपन्यासमा कतैकतै स्वैरकल्पनाको प्रयोग गरेर जुन कुरा दिन खोजिएको छ, त्यो प्रभावी देखिन्छ।
पछिल्लो समय नेपाली साहित्यमा आख्यानात्मक कृतिहरूको बाढी नै आएको छ। तर, उपन्यास विधामा प्रकाशित कृतिको उपस्थिति र यसको प्रचारबाजी जति भएको छ, त्यसको तुलनामा पाठकमा गहिरो छाप छोड्न सफल कृति भने अत्यन्त न्यून देखिन्छ। स्रष्टाहरूले यसबारे गम्भीर भएर सोच्नु जरुरी छ। अबका आख्यानहरूमा संघर्षशील, सफल र आत्मस्वाभिमानी आइमाईका कथा पनि पढ्न पाइयोस्, जो पुरुष र पुरुषसत्ताबाट प्रताडित नभएका होऊन्। जे होस्, विवेक ओझाले नेपाली उपन्यासको चुनौतीपूर्ण यात्रा आरम्भ गरेका छन्। यो यात्रा सफलताको उचाइतर्फ बढिरहोस्, अरू थप समयले नै बताउला।