फ्य्रांकफर्ट स्कुलिङ

फ्य्रांकफर्ट स्कुलिङ

कार्ल मार्क्सको मृत्यु भएको एक यस ३५ वर्ष भए पनि उनको सामाजिक, आर्थिक र राजनीतिक दर्शनको सान्दर्भिकता सकिनुको सट्टा झन् बढ्दै गएको छ। पुँजीवादी विश्व जब संकटको सन्निकट हुन्छ, तब एकाएक मार्क्सको अध्ययन बढ्न थाल्छ।

सन् १९१७ पछि धेरै मार्क्सवादीलाई सोभियत संघमा समाजवाद स्थापना भएपछि जर्मनीमा पनि समाजवाद आउँछ भन्ने आशा थियो। त्यो सम्भावना टरेपछि तिनीहरू युरोपमा भएका परिवर्तनको समीक्षा गर्दै मार्क्सवादी सिद्धान्तको पुनः परीक्षणको आवश्यकतातर्फ केन्द्रित हुन थाले। समाजवाद स्थापनाका लागि वस्तुगत आधार तयार थियो। तर, मजदुरको आत्मगत चेतना पुँजीवाद फाल्न र समाजवाद स्थापनाको लागि प्रेरक रहेन। त्यहाँ क्रान्तिकारी चेतना, संस्कृति र संगठन तथा समाजवादको स्पष्ट बुझाइको कमी देखियो।

मार्क्सवादको कमीकमजोरी अध्ययन र विश्लेषण गर्ने क्रममा सन् १९२३ मा जर्मनीमा फ्रैङ्कफर्ट स्कुल नामक सामाजिक अनुसन्धान संस्था सुरुवात गरियो। यस संस्थाले मार्क्सवादको आर्थिक निर्धारणवादमाथि पहिलो प्रहार ग¥यो। दमन र शोषणबाट कसरी मानिसको मुक्ति हुन सक्छ भन्दै आधुनिक पुँजीवादी समाजको विज्ञान र संस्कृति, त्यसबेला मौलाएको फाँसीवाद र स्टालिनले सोभियत संघमा प्रयोग गरेको कम्युनिस्ट व्यवस्थाको पनि आलोचना गरियो।

एग्गर (१९७८) का अनुसार मार्क्सवादी सिद्धान्तमा आर्थिक निर्धारणवादको व्याख्या दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियबाट उचाइमा पुगेको हो, जतिबेला बजारमा आधारित पुँजीवाद उत्कर्षमा थियो र यसको अन्त्यको बारेमा विभिन्न अवधारणा बनेका थिए। वास्तवमा, मार्क्सले भौतिक द्वन्द्ववादको व्याख्या गर्छन्, जहाँ विपरीत तत्वको एक तत्वको बारेमा चर्चा गरिएको छ र यस किसिमको व्याख्याले कुनै किसिमको निर्धारणवादलाई अस्वीकार्छ। आर्थिक निर्धारणवादको कुरालाई आधार बनाएर फ्रैङ्कफर्टका आलोचनात्मक सिद्धान्तकारले सर्वप्रथम मार्क्सवादमाथि प्रश्न उठाउँदै मार्क्सले भने जसरी सर्वहारावर्गको मुक्ति सम्भव नभएको धारणा अघि सारे।

सन् १९३३ मा हिटलरको नाजी सत्ताले यस संस्थालाई बन्द गर्न निर्देशन दिएपछि यो संस्था अमेरिकामा पुग्यो र त्यहाँँ न्युयोर्कको कोलम्बिया विश्वविद्यालयले स्थान दिएर यसको संरक्षण ग¥यो। यस विचार समूहको मुख्य स्रोत आलोचनात्मक सिद्धान्त हो। मानिसलाई दास बनाउने अवस्थाको आलोचना र रूपान्तरण यस सिद्धान्तको मुख्य लक्ष्य हो। यस सिद्धान्तको पहिलो पुस्तामा म्याक्स हर्खेमर, थियोडर एडोर्नो, हर्वट माक्र्युज, वाल्टर वेन्जामिनलगायत जोडिएका छन्। दोस्रो पुस्तामा सन् १९७० को दशकमा जर्गेन हेवरमास, राल्फ डरोन्डर्फ, लुडविग आदि प्रवेश गरेका छन् भने अलेक्स होन्थ भन्ने तेस्रो पुस्ता पनि तयार भइसकेको छ।

आलोचनात्मक सिद्धान्तको ठूलो योगदान मार्क्सको सिद्धान्तलाई आत्मगत दिशामा केन्द्रित गराउने प्रयास हो। यसका लागि फ्रायडको मनोविश्लेषण र हेगेलको चेतना–प्रधानताको सिद्धान्तलाई सहयोगी मानिएको छ। यस सिद्धान्तले मिथ्या चेतना विस्तार गर्ने आधुनिक विवेकीकरण, संस्कृति उद्योग र ज्ञान उद्योगको आलोचना गर्छ, जसले आम मानिसलाई क्रान्तिकारी चेतनाको विकासबाट टाढा राख्ने कार्य गर्छ। मिथ्या चेतना विश्वव्यापी हुन्छ र मजदुरसहित सबै सामाजिक वर्गले पुँजीवादको समर्थन र त्यसबाट लाभ लिन्छन् भन्ने यस सिद्धान्तको विश्लेषण छ।

आधुनिक समाजको आलोचना

आधुनिक समाज र यसका विविध अवयवहरूको आलोचना गर्ने क्रममा आलोचनात्मक सिद्धान्तले मार्क्सवादको बाटो अवलम्बन गर्दैन। मार्क्सले आर्थिक आधारमा आधुनिक समाजको व्याख्या गरेका थिए भने आलोचनात्मक सिद्धान्तले सांस्कृतिक स्तरमा आधुनिक पुँजीवादी समाजको वास्तविकता पत्ता लगाउन खोज्छ। सामाजिक दमनमा रुचि राख्ने यस सिद्धान्तले आधुनिक समाजको दमनको बाटो आर्थिकबाट सांस्कृतिक क्रियाकलापमा सरेको छ भन्ने मान्छ र व्यक्तिको सांस्कृतिक दमन हुने गरेको विश्लेषण गर्छ।

पुँजीवादी व्यवस्थामा विकास भएका आधुनिक प्रविधिलाई फ्रैङ्कफर्ट स्कुलका एक विचारक माक्र्युजले कडा आलोचना गरेका छन्। उनका अनुसार आधुनिक पुँजीवादी समाजमा प्रविधिले मानिस र राजनीतिमाथि नियन्त्रण गर्ने एकल शक्तिका रूपमा नेतृत्व गरिरहेको छ। यसले नयाँ, प्रभावकारी र धेरै आनन्ददायी विधिद्वारा व्यक्तिमाथि बाह्य नियन्त्रणको नेतृत्व गर्छ। यसको मुख्य उदाहरण जनसमुदायलाई सामाजिकीकरण गर्न र शान्त तुल्याउन टेलिभिजनको प्रयोग गर्नु हो। थप उदाहरण आम खेलकुद र व्यापक यौन शोषण हो।

फ्रैङ्कफर्ट स्कुलका एक विचारक माक्र्युस आधुनिक विश्वमा प्रविधि तटस्थ हुन्छ भन्ने कुरालाई अस्वीकार्छन्। तटस्थ देखिएजस्तो गरेर प्रविधिले मानिसलाई वशिभूत पार्दै दास वा कमारो बनाउँछ। आधुनिक प्रविधिले व्यक्तिको चरित्र वा व्यक्तित्वलाई दबाउनुको साथै कर्ताको आन्तरिक स्वतन्त्रतामाथि धावा बोल्छ। यो परिणामलाई माक्र्युजले ‘एक आयामेली समाज’ भन्छन्, जसमा व्यक्तिहरूले आलोचनात्मक र समाजको बारेमा नकारात्मक रूपमा सोच्ने क्षमता गुमाउँछन्। ‘एक आयामिक मानिस’ त्यस्ता मानिस हुन्, जसले प्रतिरोधी क्षमता गुमाइसकेका हुन्छन्। वुर्जुवा र सर्वहारा मानिस आधारभूत वर्ग भए पनि तिनीहरूको संरचना र प्रकार्य यसरी परिवर्तन भएका छन् कि तिनीहरू ऐतिहासिक रूपान्तरणको बाहक बन्न सक्ने देखिन्न।

संस्कृतिको आलोचना

आलोचनात्मक सिद्धान्तकारले आधुनिक संस्कृतिको आलोचना गर्दा ‘संस्कृति उद्योग’ को चर्चा गर्छन्, जुन विवेकपूर्ण, नोकरशाही संरचनाबाट सञ्चालित छ। संस्कृति उद्योगमा रुचि भएपछि उनीहरू मार्क्सका आर्थिक निर्धारणवाद होइन, ‘उपरिसंरचना’सँग चासो राख्छन्। संस्कृति उद्योगलाई चलनचल्तीमा आम संस्कृति भनिन्छ, त्यसलाई यथार्थ वस्तुभन्दा पनि व्यवस्थित, असहज, अस्वस्फूर्त, झुट वा असत्यलाई मूर्त तुल्याउने संस्कृतिको रूपमा परिभाषित गरिन्छ।

विश्वभर मार्क्सवादको सांस्कृतिक दृष्टिकोणको व्याख्या गर्ने सवालमा फ्रैङ्कफर्ट स्कुल सबैभन्दा अगाडि आउँछ। नेपालका वामपन्थी पनि पुँजीवादी संस्कृतिको आलोचना गर्दा यसै सिद्धान्तलाई आधार बनाउँछन्।

आलोचनात्मक विचारकलाई दुई कुराले सबैभन्दा बढी चिन्तित बनाएको छ। पहिलो, संस्कृतिको भ्रम। ती पहिले नै तयार पारिएको विचार हुन् र मिडियाको माध्यमबाट आम मानिसमा फैलाइन्छ। दोस्रो, तिनले मानिसलाई शान्त, विस्फोटक हुन रोक्ने र चेतनाहीन बनाउँछन्। आम मानिसको चेतनालाई बाह्य शक्तिजस्तै संस्कृति उद्योगले नियन्त्रण गरेको हुन्छ। यसले आम मानिस क्रान्तिकारी चेतना विकास गर्न असफल हुन्छन्।

डग्लास केल्नर (१९९०) का अनुसार आम संस्कृति पुँजीवादी विचारको साधन हो। आलोचनात्मक सिद्धान्तले मिडियाको आर्थिक तथा राजनीतिक विश्लेषण छुटाएको भन्दै उनले टेलिभिजनलाई कर्पोरेट पुँजीवाद र राजनीतिक व्यवस्थासँग जोडेका छन्। टेलिभिजन अति नै द्वन्द्वात्मक आमसञ्चार हो। यसमा प्रतिस्पर्धी आर्थिक, राजनीतिक, सामाजिक र सांस्कृतिक शक्ति एकआपसमा मिल्छन्। उनी टेलिभिजनलाई लोकतन्त्र, व्यक्ति र स्वतन्त्रतामाथिको जोखिम मान्छन् र यसलाई लोकतन्त्रप्रति प्रतिबद्ध बनाउँदै बढीभन्दा बढी मानिसको पहुँच तथा सहभागिता र विविधतापूर्ण बनाउनुपर्ने सुझाव दिन्छन्।

आलोचनात्मक सिद्धान्तले ‘ज्ञान उद्योग’जस्तै विश्वविद्यालय र अनुसन्धान संस्था, जुन हाम्रो समाजमा स्वायत्त संरचना बनेका छन्, तिनको आलोचना गरेको छ। स्वायत्तताको नाममा ती संस्था आफ्नो मान्यताभन्दा माथि गएर समाजलाई प्रभाव पार्ने खालको दमनकारी संरचनामा परिवर्तित भएका छन्। मार्क्सको पुँजीवादको आलोचनात्मक विश्लेषणले भविष्यको आशातर्फ डो¥याउँछ। तर, धेरै आलोचनात्मक सिद्धान्तहरू निराशातर्फ केन्द्रीत छन्। लादिएको विवेकयुक्त संरचनाले गर्दा भविष्य वेवरको संसार ‘फलामे पिँजडा’जस्तै देखिन्छ, जहाँबाट भाग्न कठिन छ।

संस्कृति उद्योग

टी.डब्ल्यू. एडर्नोले ‘संस्कृति उद्योग’ पुस्तकमा पुँजीवादी संस्कृतिको विश्लेषण गर्ने क्रममा यथेष्ट उदाहरण प्रस्तुत गरेका छन्। उनका अनुसार संस्कृति उद्योगले पुरानो तथा परिचितलाई नयाँ गुणयुक्त बनाइदिन्छ। यसका सबै शाखामा सामानको उत्पादन लचकताको योजनाअनुसार हुन्छ। जनताको उपभोगको अनुकूल उत्पादित सामान बदलिन्छ र त्यसले धेरै हदसम्म उपभोगको प्रकृति निर्धारण गर्छ। संस्कृति उद्योगले योजनाअनुसार नै आफ्नो उपभोक्तालाई माथिबाट जोड्छ। यो हजारौं वर्ष अलगअलग रहेका उच्चस्तरीय र निम्नस्तरीय कलालाई जबर्जस्ती एक साथ ल्याइदिन्छ। यो मेलमिलाप दुवैलाई क्षति पु¥याउने तहसम्म हुन सक्छ।

संस्कृति उद्योगको लागि जनता प्रधान हुँदैन। निर्मातालाई नाफा उपलब्ध गराउनु यसको मुख्य ध्येय हो। संस्कृति उद्योगमा दुई किसिमका मानिस समावेश हुन्छन्। एक, निर्देशन जारी गर्ने तहको र अर्को, सत्तामाथि कब्जा बनाइरहने। संस्कृति उद्योगमा बढीभन्दा बढी सत्ता मिंमासा हुन्छ। संस्कृति उद्योगमा जुनसुकै कुरा नयाँ रूपमा पेस गरिन्छ, यसले मौजुदा एकरूपतालाई नयाँ आवरण दिन्छ। उदाहरणका लागि फिल्मको स्टार व्यवस्थालाई लिन सकिन्छ, जुन व्यक्तिवादी कला र वाणिज्य शोषणबाट उधारो लिइएको हो। उसको कामको विधि र अन्तर्वस्तु जति अमानवीय हुन्छ, त्यति नै बढी मेहनत र सफलताको साथ संस्कृति उद्योग महान् भन्ने व्यक्तिहरूको प्रचारप्रसार गर्छ।

आम मानिसले चाहन्छन् र तनाव कम गर्छन् भन्दै पकेट उपन्यास, फिल्म, धारावाहिक टेलिशृंखला, पारिवारिक फिल्म, प्रेमातुर मानिसको लागि स्तम्भ, लोकप्रिय कार्यक्रम निर्माण गरिन्छ। यसले मानिसलाई कुनै हानि हुँदैन भन्ने प्रचार गरिन्छ। संस्कृति उद्योग छल र प्रपञ्चले भरपुर संरचना हो, जो न त सुखमय जीवनको दिशानिर्देश गर्छ, न त नयाँ जिम्मेवारी नयाँ कला नै हो। संस्कृति उद्योगको उत्पादनबाट मानिस हैरानीमा फस्छ र बाहिर निस्कन मुस्किल हुन्छ। 

टी.डब्ल्यू. एडर्नोले पनि टेलिभिजनमा देखाइने कार्यक्रमको विश्लेषण गरेका छन्। दर्शकलाई पहिले नै थाहा हुन्छ कि टेलिभिजनमा कस्तो कार्यक्रम आउँछ अर्थात् सबै कुरा पूर्वनिर्धारित हुन्छन्। अन्तर्वस्तु थाहै नपाई दर्शकको चिन्तन पद्धति पहिले नै निश्चित गरिन्छ। दर्शक आफूलाई सधैं सुरक्षित अवस्थामा पाउँछ। वास्तवमा यसबाट सुरक्षित रहने चाहना पैदा गरिएको हुन्छ। सुरक्षित ठान्नुको अर्थ स्वतन्त्र प्रतियोगितामूलक समाजबाट बन्द समाजतर्फको सम्भावित परिवर्तनको अनुकूल बन्दै जानु हो। जनसंख्याको ठूलो भाग सांस्कृतिक ‘उपभोक्ता’ हुन्छन्, जो पहिले कलाको बारेमा अनभिज्ञ थिए।

टेलिभिजनले दिने खुल्ला सन्देशभन्दा गोप्य सन्देश धेरै महŒवपूर्ण हुन्छ, जुन दर्शकको मनमा गढ्छ। यसले मानिसको चेतन या अचेतन विधि विधान समावेश गरेर मनोविश्लेषणमा जोड दिन्छ। गोप्य सन्देशले परम्परागत रूपमा दृढ र छद्म यथार्थवादी प्रवृत्तिलाई बलियो बनाउँछ। टेलिभिजनले असंख्य दमित र तुष्ट भावनालाई कसै न कसैगरी खुला अभिव्यक्तिको छुट दिन्छ। यसलाई हास्य, मजाक, भद्दा टिप्पणी, सरसल्लाह या अरू उपाय अपनाएर अभिव्यक्ति दिइन्छ। टेलिभिजनले दर्शकको प्रतिक्रियालाई एउटै निश्चित दिशातर्फ गतिशील बनाउँछ। यसका अधिकांश कार्यक्रमको उद्देश्य घमण्ड, बौद्धिक निष्क्रियता, अनुभवहीनताको उत्पादन या पुनरुत्पादन गर्नु हो। पीडादायक स्थितिलाई हल्का मनोरञ्जन बनाएर मानिसलाई हेर्ने तरिकामा परिवर्तन गरिदिन्छ। मनोविज्ञानको गतिको नियमअनुसार अचेतन या कामवासनाको तत्वलाई विवेकसम्मत बनाउने कार्य टेलिभिजनले गर्छ। टेलिभिजनले बहुस्तरीय व्यक्तित्वको लागि कार्यक्रम बनाउँछ र त्यो रुढिबद्ध हुन्छ, एउटै कुरालाई स्थापित गर्र्ने प्रयास गर्छ।

तानाशाहको अन्त्य देखाउनु पर्‍यो भने उसका पत्नी र उसको क्रूर व्यवहार देखाइन्छ। ऊ आडम्बरी र डरपोक पनि हुन्छ। यस्तो छाप छोडिन्छ कि महत्वकांक्षी राजनीतिज्ञको चारित्रिक गडबडीले निरंकुशताको जन्म लिन्छ र केही इमानदारी, साहसी र उत्साही केही मानिसले त्यसलाई उखेलेर फ्याँक्छन्। दर्शकले तिनलाई चिन्नुपर्छ भन्ने आशा गरिन्छ। त्यहाँको जनउभार या सैनिक विद्रोहलाई देखाइँदैन। टेलिभिजनले मानक उपाय लागू गर्छ जहाँ वस्तुगत मुद्दालाई व्यक्तिगत बनाइन्छ। हमला भइरहेको विचारको प्रतिनिधिलाई हास्यास्पद तरिकाले तरवार र म्यानको अनुमानमा खलनायकझैं प्रस्तुत गरिन्छ। दोस्रोतर्फ सही उद्देश्यका लागि लड्नेलाई व्यक्तिगत रूपमा आदर्शको स्तरमा प्रस्तुत गरिन्छ। यसले सामाजिक मुद्दालाई टाढा पुर्‍याउने कार्य मात्र गर्दैन, संसारमा काला (बाहिरी समूह) र गोरा (भित्री समूह) बीचको अत्यन्त घातक विभाजनलाई पनि बलियो बनाउँछ। टेलिभिजनले छद्म व्यक्तित्व थोपर्ने कार्य गर्छ। जस्तै, सुन्दर केटी कुनै गल्ती गर्नै सक्दिन।

पछिल्लो समय आलोचनात्मक सिद्धान्त ओरालो लाग्दै गए पनि जर्गेन हेवरमासले ठूलो योगदान गरेका छन्। उनको आधार भनेको तोडमरोड नगरिएको संवाद हो। मार्क्स जसरी उत्पादन कार्यलाई तोडमरोड गर्ने संरचनाको परीक्षण गर्छन्, त्यसरी नै हेवरमास संवादलाई विकृत पार्ने सामाजिक संरचनासँग सम्बन्ध राख्छन्। उनी स्वतन्त्र संवादका बाधकहरू निर्मूल गर्न चाहन्छन्, जसरी कार्ल मार्क्सले पुँजीवादको अन्त्य चाहेका थिए। जर्गेन हेवरमासपछि वर्तमान फ्रैङ्कफर्ट स्कुलका आलोचनात्मक सिद्धान्तकार डेभिड केल्नर हुन्। उनले ‘प्रविधि–पुँजीवाद’को नाम दिएर आलोचनात्मक सिद्धान्तको विकास गरेका छन्। केल्नरका अनुसार अहिले हामी उत्तरआधुनिक या उत्तरऔद्योगिक युगमा प्रवेश गरेका छैनौं, पहिलेको जस्तै पुँजीवादी सर्वोच्चता कायम नै रहेको छ। प्रविधि–पुँजीवाद त्यस्तो पुँजीवादी समाज हो, जसमा प्राविधिक तथा वैज्ञानिक ज्ञान, स्वचालित यान्त्रीकरण, कम्प्युटर तथा विकसित प्रविधिले पहिलेका मानव मजदुर शक्ति, यान्त्रीकरण र मेसिनले उत्पादन प्रक्रियामा खेल्ने बराबरको भूमिका खेल्छन्, यससँगै नयाँ किसिमका सामाजिक संगठन, संस्कृति र दैनिक जीवनमा देखिन्छन्।

नेपालमा फ्रैङ्कफर्ट स्कुललाई मार्क्सवादको भ्रष्टीकरण गर्ने नवमार्क्सवादी सिद्धान्तका रूपमा व्याख्या गरिन्छ। तर, विश्वभर मार्क्सवादको सांस्कृतिक दृष्टिकोणको व्याख्या गर्ने सवालमा फ्रैङ्कफर्ट स्कुल सबैभन्दा अगाडि आउँछ। नेपालका वामपन्थी पनि पुँजीवादी संस्कृतिको आलोचना गर्दा नाम उल्लेख नगरी यसै सिद्धान्तलाई आधार बनाउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.