काठमाडौंमा माइकल हट

काठमाडौंमा माइकल हट

‘काठमाडौंमा प्रशस्तै भिखारी भेटिन्थे। न्युरोड घुम्दा चप्पल नलगाई हिँडेका मानिस देख्थेँ,’ माइकल हट झन्डै ४० वर्षअघिको काठमाडौं सहरतिर फर्किन्छन्। बेलाबेला सहर-नोस्टाल्जियातिर पस्छन्। सन् १९७८ सालतिरको कुरा हो यो। हट त्यतिबेला २० वर्षका थिए। पहिलोपटक नेपाल आएका। जता पनि मन्दिरै मन्दिर देख्थे। खेत थिए। बोटबिरुवा, रूख थिए। कोचाकोच घर थिएनन्। नेवारी सांस्कृितक गतिविधि देखाइन्थ्यो, उनलाई खुबै रमाइलो लाग्थ्यो। वसन्तपुर बसेर काठमाडौंको किनारामा देखिने हिमाल हेरिरहन्थे उनी। नीलो आकाशमुनि सेता हिमाल देखेर उनी लोभिन्थे।

kiran-dahal_1‘विस्तारै-विस्तारै काठमाडौंलाई कंक्रिटले छोप्न थाल्यो। उब्जनी खेत मासिन थाले,’ हट भन्छन्, ‘यहाँको सामाजिक÷आर्थिक अवस्था परिवर्तन हुँदै गयो।’त्यसयता बेलायती नागरिक माइकल हट थुप्रै पटक नेपाल-बेलायत आउजाउ गरिसकेका छन्। युनिभर्सिसिटी अफ लन्डनको स्कुल अफ ओरियन्टल एन्ड अफ्रिकन स्टडिजका प्राध्यापक हटले नेपाली साहित्यमा पीएचडी नै गरे।

नेपालको नामचाहिँ आफूले पहिलोपटक १४ वर्षको उमेरमा थाहा पाएको बताउँछन् हट। बेलायतस्थित घर नजिकैको लाइब्रेरी पुगिरहन्थे उनी। पुस्तक हेर्दै जाँदा एकदिन नेपाल र तिब्बतको बारेमा लेखिएको दुई÷तीनवटा पुस्तक भेट्टाए। ती सबै पढे। नेपाल जाने सपना त्यतिबेलैदेखि पालेका हुन् उनले। ‘म सोच्थेँ- कुनै दिन नेपाल पुगुँला,’ हटले भने। अध्ययन गर्दै जाँदा उनी विश्वविद्यालयमा हिन्दी भाषामा भर्ना भए। हिन्दी भाषा सिक्ने क्रममै भारत आइपुगे। भारतमा रहँदा÷बस्दा नेपाल आएका हुन्।

साहित्य क्षेत्रमा दक्खल राख्छन्, हट। लक्ष्मीप्रसाद देवकोटाको ‘मुनामदन’, लीलबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यास उनले अंग्रेजीमा अनुवाद गरिसकेका छन्। त्यस्तै ‘द लाइफ अफ भूपि शेरचन’, ‘टिच योरसेल्फ नेपाली’, ‘कम्प्लिट नेपाली’, ‘नेपाली’लगायत थुप्रै पुस्तक लेखिसकेका छन् उनले। नेपालको आर्थिक, सामाजिक र राजनीतिक विषयमा पनि अध्ययन अनुसन्धान गरिरहेका छन् उनले। ‘जनमतसंग्रहदेखि नै नेपाली राजनीति र साहित्यलाई नियालिरहेको छु मैले,’ हटले भने।

हिजोआज उनी भूकम्प र साहित्यलाई जोडेर अध्ययन गर्नमा व्यस्त छन्। २०७२ सालमा गोरखा जिल्लाकोे बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.८ रेक्टर स्केलको भूकम्प गयो। जनधनको क्षति हुनुको साथै धेरै सांस्कृतिक सम्पदाहरू क्षणभरमै ध्वस्त भए। यही भूकम्पलाई साहित्यमा कसरी प्रस्तुत गरियो भनेर अध्ययन÷अनुसन्धान गरिरहेका छन्, हट। यसैका लागि उनी भूकम्प प्रभावित जिल्लाहरू पनि पुगे। स्थानीयले लेखेका साहित्य पढे। विशेगरी कवितालाई ध्यान दिएका छन्।

कवितामा लगाव छ, हटको। अनुसन्धानकै क्रममा भूकम्पका सम्बन्धमा लेखिएका धेरै कविताहरू संकलन गरेका छन्।

कवितामा लगाव छ, हटको। अनुसन्धानकै क्रममा भूकम्पका सम्बन्धमा लेखिएका धेरै कविताहरू संकलन गरेका छन्। अध्ययन गरेका छन्। हट भन्छन्, ‘अध्ययन गरिरहेको छु। रमाइलो भइरहेको छ। कविता पढ्दा आनन्द आउँछ।’

भूकम्पमाथि कविहरूको दृष्टिकोण फरकफरक देख्छन्, उनी। केही कविले यसलाई मौकाको रूपमा लिएको देख्छन्। केही कविहरूले खतराको रूपमा मात्र विश्लेषण गरेको पाउँछन्।

राजधानी र बाहिरी जिल्लाका कविहरूको भूकम्पलाई हेर्ने दृष्टिकोण पनि भिन्न-भिन्न देखेका छन् हटले। ‘काठमाडौं बाहिरकाले भूकम्पको त्रासदीमाथि धेरै लेखेका छन्। उनीहरूको कवितामा सरकारमाथि आक्रोश पाइन्छ,’ उनले थपे, ‘काठमाडौंकाले यसलाई अब मिलेर जानुपर्ने, देश बनाउनुपर्ने समयको रूपमा विश्लेषण गरेका छन्।’ भूकम्पप्रति कविहरूको दृष्टिकोण छरिएको पाउँछन् उनी।

साहित्यमा भूकम्प खोजिरहेका हट भन्छन्, ‘साहित्य मेरो रुचिको विषय हो।’

नेपाली साहित्यमा उनले भूकम्पलाई खोजेको त थोरै समय मात्र बित्यो। यसभन्दा अघि, पञ्चायतकालदेखि नै नेपाली साहित्यलाई नियाल्दै आएका छन्। अध्ययन गर्दै आएका छन्। विश्लेषण गर्दै आएका छन्।

हटले नेपाली कथाहरू पढेका छन्। उपन्यास पढेका छन्। कविता पढेका छन्।

पञ्चायतकालदेखि अहिलेसम्म आइपुग्दा नेपाली साहित्यले ठूलो फड्को मारेको देख्छन् उनी। ‘समयअनुसार यहाँको साहित्य परिवर्तन हुँदै गयो। विगतमा जस्तो थियो, त्यो ट्रेन्ड फेरिएको छ,’ उनले भने। नेपाली साहित्यले यहाँको समाजलाई प्रतिविम्बित गर्न ठूलो भूमिका खेलेको छ जस्तो लाग्छ उनलाई।

साहित्यको कुरा गरिरहँदा उनी भुपीको नाम छुटाउँदैनन्। भूपिको कवितालाई यहाँको समाज छिटो बुझ्ने चोरबाटोको रूपमा व्याख्या गर्छन् उनी। भन्छन्, ‘नेपाली समाज र राजनीतिको बारेमा उनले दह्रो कविता लेखेका छन्। तिखो व्यंग्य हुन्छ उनको कवितामा।’ भूपि उनलाई मनपर्ने कवि हुन्। उनको कविता बुझ्नलाई दिमाग खियाइरहनु नै नपर्ने बताउँछन् हट। हाँस्दै भूपिको लाइन उद्धृत गर्छन् उनी- यो हल्लै हल्लाको देश हो।

कवितामात्र होइन, अन्य नेपाली साहित्यिक विधाहरू पनि उत्तिकै प्रिय छन्, हटलाई। नियमित पढ्छन्, नेपाली पुस्तक। अंग्रेजीभन्दा नेपाली पुस्तक पढ्न अलि बढी समय लाग्छ उनलाई। दिनको दुई घन्टा जति पढे भने एउटा पुस्तक सक्न झन्डै दुई हप्ता लगाउँछन्।

नेपाल आएर फर्किंदा हरेक पटक नेपाली पुस्तक बोकेर फर्किन्छन्। ‘एकपटकमा झन्डै २० किलो पुस्तक हुन्छ,’ उनले भने। यस्ता पुस्तक कहिलेकाहीँ साथीहरूले गिफ्ट दिन्छन्। चर्चा चलेको किताब आफंै पनि किन्छन्।

पुस्तक पढ्नेमात्र होइन पुस्तक लेखकलाई पनि नियालिरहेका छन्, हटले।

साहित्यकार र पत्रकारबीचको लाइन धुमिल हुँदै गरेको पाउँछन्, उनी। ‘यहाँका धेरै पत्रकार साहित्यकार र धेरै साहित्यकार पत्रकार पनि छन्,’ उनले भने। बाहिरतिर आफूले यस्तो प्रवृति नदेखेको बताउँछन् उनी। आफ्नै देशमा पनि पत्रकार र साहित्यकार बीचमा एउटा रेखा देखेका छन्। त्यस्तो रेखा जसले पत्रकार र साहित्यकार हुनुको फरकपना देखाइदिन्छ।

हरेक कुराहरू हाँसेरै बताउँछन्, हट। गोरो अनुहार, सेतो कपाल, अग्लो कदका यी बेलायती नागरिक विस्तारै बोल्छन्। सोचेर बोल्छन्। तीनकुनेस्थित ‘अन्नपूर्ण पोस्ट्’को कार्यालयमा छौं हामी। नेपाली साहित्यदेखि भूकम्पका बारेमा आफूले गरेको अध्ययनमाथि बताइरहेका छन्, हट। २०७२ सालको भूकम्पमा धरहरा ढल्यो। काठमाडौंको केन्द्रमा वर्षौंदेखि निर्धक्क उभिएको धरहरा केही सेकेन्डमा ध्वस्त भयो। धरहरामै परेर धेरै नेपालीले ज्यान गुमाए।

सांस्कृतिक सम्पदा त अरू पनि ढले। हिमालजस्तै गरी उभिएका काठमाडौंका मन्दिरहरू छिनभरमै सतहमा मिले।भूकम्प गएको केही समयपछि हट नेपाल आए। ‘त्यतिबेला धेरै नेपालीले धरहराको फोटो भएको टिसर्ट लगाएका थिए,’ उनले थपे, ‘फोटोमुनि लेखिएको हुन्थ्यो- वि विल राइज अगेन।’ नेपालीले अन्य सम्पदाभन्दा धरहरालाई महत्व दिएको पाए। सरकारले पनि धरहरालाई विशेष महत्व दिइरहेको थियो। उनले त्यतिबेलै सोचे- धरहरा कसरी नेपालीको प्रतीक बन्न पुग्यो !

‘काठमाडौंलगायत अरूतिर पनि धेरै मठमन्दिरलगायतका सांस्कृतिक सम्पदाहरू भत्किएका थिए। तर, त्यतातिर धेरैको ध्यान गएन,’ हटले भने, ‘धरहरा मात्र नेपालीको चासोको विषय बनिदियो।’

उनले यस विषयमा पनि अध्ययन गरिरहेका छन्। धरहरालाई किन नेपालीले यति धेरै महत्व दिए त ! हट भन्छन्- नेपालका लागि धरहरा परिचय थियो। अग्लो, सुन्दर र इतिहास थियो त्यो।

धरहरा त एउटा पाटो भयो। हटको अनुसन्धानले भूकम्प र समग्र सांस्कृतिक सम्पदालाई नै समेटेको छ।

यो देशलाई अघि बढाउन भूकम्पले पनि ठूलो भूमिका खेले जस्तो लाग्छ उनलाई। भूकम्पपछि मान्छेहरू एकतामा बाँधिएको, बढी भावनात्मक भएको पाउँछन्। ‘सम्भवतः संविधान पनि त्यसै कारणले आयो,’ उनले भने, ‘देशलाई अघि बढाउने मौका पनि थियो भूकम्प।’

भूकम्पअघि होस् या पछि, नेपालको विकासक्रमलाई लिएर हट आशावादी छन्। नेपाल पहिलेको भन्दा धेरै परिवर्तन भएको पाउँछन्। ‘छोटो एकदुई वर्षलाई लिएर विकासको कुरा गर्न नमिल्ला,’ उनले भने, ‘लामो समयलाई एकै ठाउँमा राखेको हेर्ने हो भने परिवर्तनको स्पष्ट चित्र देखिन्छ।’

परिवर्तनका लागि यहाँ भएका ठूला आन्दोलनले पनि ठूलो भूमिका खेलेको बताउँछन् उनी। २०४६ र २०६३ सालको आन्दोलनलाई लिएर पनि यस्तै धारणा छ उनको। भन्छन्- नेपालको विकासमा २०६२÷०६३ सालको आन्दोलनले तला थपिदियो।

२०६२÷०६३ सालको जनआन्दोलनको जगमा उभिएको अहिलेको संविधानमा असहमति राख्नेहरू पनि देखेका छन् हटले। लैंगिक असमानताका कुरा, मधेसीको मागहरू पनि सुनेका छन्। यही विषयलाई पनि लामो समयमा बुझ्नुपर्छ जस्तो लाग्छ उनलाई। ‘विगत ४०÷५० वर्षको इतिहासलाई हेर्ने हो भने उनीहरूको स्थिति पनि बदलिँदै आएको छ,’ उनले थपे, ‘महिला, मधेसीहरूको स्थिति पहिला जस्तो थियो, अहिले सुध्रिँदै आएको छ।’

बेलुकी भइसकेको छ। हट हतारिएजस्तो देखिन्छन्। हतारमै उनले भने, ‘यो देश मलाई खुबै मनपर्छ। पर्सि त बेलायत फर्किनु छ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.