इतिहासमा नेपाली फुटबल
अधिकांशको रोजाइमा पर्ने खेल हो, फुटबल। खेलहरूको राजाको उपमा पाएको फुटबलको इतिहास केलाउँदा फ्रान्ससम्म पुग्नुपर्ने हुन्छ। सन् १३१४ अघि फ्रान्समा गोलाकार वस्तु प्रयोग गरेर फुटबल खेलियो। खुट्टाले हानेर खेलिने त्यही खेलले अंग्रेजीमा फुटबलको नाम पायो।
आधुनिक फुटबलको सुरुवात भने बेलायतबाट भयो। सन् १५८१ मा लन्डनका स्कुलमा फुटबल खेलिन्थ्यो। बेलायती उपनिवेशसँगै विस्तारै फुटबलको दायरा फराकिलो भयो। भारतमा इस्ट इन्डिया कम्पनीको राज्य सञ्चालनसँगै नेपालमा पनि त्यसकै प्रभावले फुटबल खेल भित्रियो। राणाकालमा तिनका परिवारबाहेक सर्वसाधारणलाई पढ्ने लेख्ने छुट थिएन। भारत गएर उच्च शिक्षा हासिल गरेर फर्किर्ने व्यक्ति सीमित थिए। त्यो समय भारतमा स्कुल, कजेजमा अंग्रेजले आफूसँग ल्याएका खेल पनि खेलेर देखाउँथे। त्यही समय भारतमा पढेका नेपालीले पनि फुटबल खेलेको पाइन्छ।
भकुन्डोलाई लात्तीले हिर्काउने खेल नै फुटबल हो भन्न थालियो। तिहारमा फालिने भोगटेलाई युवाले गुडाउने र लात्तीले हिर्काउने गर्न थाले। इतिहासमा नेपाली फुटबलका जन्मदाता नरशमशेर राणा भनिएता पनि उनीभन्दा पहिले भारतमा पढ्न गएका थापा र बस्नेतहरूले नेपालमा फुटबल खेल भित्र्याएको पाइन्छ।
वि. सं. १९७० मा नेपालमा फुटबल भित्र्याइएको हो। त्यतिबेला ठमेलका नारायणनरसिंह राणा र नक्सालका सूर्यजंग थापाले फुटबल खेलेको पाइन्छ। फुटबललाई संस्थागत गर्ने काम भने नरशमशेरले गरे। उनले आफ्नो आत्मकथामा पनि फुटबल भारतबाटै नेपालमा छिरेको उल्लेख गरेका छन्। त्यतिबेला फुटबल हारजितका लागि खेलिने चलन सुरु भएको थिएन। फुटबल राणाका दरबारमा मात्र सीमित थियो। जावलाखेल दरबारको महावीर टिम र चारबुर्जा दरबारको ठमेल टिमबीच फुटबल खेलिन्थ्यो।
खेलका लागि एउटा टिमले अर्को टिमलाई निमन्त्रणा पठाउने चलन थियो। त्यसपछि दरबारबाट संरक्षित टिमका लागि बबरमहल, टंगाल, सिंहदरबार, बहादुर भवन र ठमेलमा फुटबल मैदान पनि बनाइयो। सन् १९३० मा जनपक्षीय र दरबार संरक्षित टिमले साझा रूपमा सिंहदरबार, छाउनी, गौचरन, जावलाखेल र लैनचोरमा फुटबल मैदान बनाए।
साहित्यकार डायमन्डशमशेर राणाका अनुसार दरबारका नाति पुस्ताले बाजेहरूको आदेशलाई बेवास्ता गर्दै सर्वसाधारणलाई पनि फुटबल खेलाउन थाले। त्यही समयमा नर एघार टिमको जन्म भयो। सन् १९३४ मा आएर महावीर ११, एनआरटी ११, जावलखेल ११ र जनपक्षीय इन्स्टिच्युट एघारजस्ता फुटबल टिम उदाए।
इतिहासमा नेपाली फुटबलका जन्मदाता नरशमशेर राणा भनिएता पनि उनीभन्दा पहिले भारतमा पढ्न गएका थापा र बस्नेतहरूले नेपालमा फुटबल खेल भित्र्याएको पाइन्छ।
त्यही वर्ष संस्थागत रूपमा पहिलो फुटबल प्रतियोगिता आयोजना भयो। उक्त प्रतियोगितामा १२ टिम सहभागी थिए। त्यतिबेला नरशमशेरको कप्तानीमा रहेको जावलाखेल क्लब च्याम्पियन भएको थियो। प्रतियोगिताको सफल आयोजना भए पनि त्यसलाई विशेष कारणले सरकारी आदेशमा बन्द गरियो। तर, दरबारबाहिर पनि गोप्य रूपमा फुटबल खेल सुरु हुन थाल्यो।
फुटबल समिति
फुटबलमा विवाद, सहभागिता र लोकप्रियता एकैपटक बढ्न थालेपछि सन् १९४७ मा पद्मशमशेरको आदेशमा फुटबल समिति गठन भयो। समितिको अध्यक्ष मदनशमशेर थिए। त्यही वर्ष राजा त्रिभुवनले फुटबलको संस्थागत विकास होस् भनेर त्रिभुवन च्यालेञ्ज सिल्डको स्थापना गरे। हरिहर भवन अगाडिको मैदानमा भएको प्रतियोगितामा नरेश ११ पहिलो र एनआरटी ११ दोस्रो भएको थियो। पद्मशमशेरले पनि त्यही वर्ष रामजानकी कप सुरु गरे। त्यो बेलाको नेपाल पुलिस फोर्सले रामजानकी कप लगातार तीन वर्ष जितेको थियो। नेपालमा लिग फुटबल सुरु गर्न नेपाल प्रहरीको ठूलो योगदान छ। प्रहरीले नेपाली फुटबललाई निरन्तरता दिन वि.सं. २०११ सालमा ‘सहिद स्मारक ट्रफी’ स्थापना ग¥यो। त्यही वर्षदेखि नेपालमा विधिवत् रूपमा सहिद स्मारक लिग फुटबल सुरु भएको हो। उक्त ट्रफीमा २०११ असोज १७ गतेको मिति अंकित छ।
लिग फुटबल
नरशमशेरले नेपालमा लिग फुटबलको आवश्यकता महसुस गरे। नेपाल फुटबल संघको स्थापना २००४ सालमा भइसकेको थियो। नरशमशेर नै फुटबल संघको स्थापनाको हर्ताकर्ता थिए। संघ गठन भए पनि लिग फुटबल सुरु हुन सात वर्ष पर्खिनुप¥यो। प्रजातन्त्र प्राप्तिका लागि २००७ सालमा सुरु भएको आन्दोलनले फुटबलमा शिथिलता छायो। आन्दोलन सफल भएपछि फुटबलले फेरि लोकप्रियता पायो। फुटबललाई व्यवस्थित र नियमित गर्न २००८ सालमा नेपाल फुटबल संघ गठन भयो। त्यसको सचिव त्रैलोक्यनाथ उप्रेती र कोषाध्यक्षमा जानकीप्रसाद प्रधान थिए।
२००८ सालमै भएको त्रिभुवन च्यालेन्ज सिल्ड काठमाडौं बाहिरको जलेश्वर ११ ले जित्यो। २००९ सालमा बालसखा दलको आयोजनामा देवीमाया मेमोरियल सिल्ड सुरु भयो। राजा महेन्द्रको शुभराज्याभिषेक अघि मात्र त्रिपुरेश्वरको दशरथ रंगशाला निर्माण भयो। त्यसपछि पछि त्यहाँ नै फुटबल प्रतियोगिता आयोजना हुन थाले। विराटनगरमा २०१८ सालदेखि महेन्द्र गोल्डकप सुरु भयो। २०२५ देखि नर ट्रफीको आयोजना पनि सुरु भयो। उता पहिलो संस्करणको लिग फुटबल महावीर–११ ले जित्न सफल भयो। नेपाल फुटबल संघ अस्तित्वमा रहेसम्म यसको आयोजना १५ पल्ट भयो।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०३२ सालयता यसको आयोजना सुरु गरेको हो। लिगमा महावीर–११, पुलिस फोर्स, एनआरटी, ठमेल, आरसीटी, पाटन, महाराजगन्ज, जेएफसीले प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला बलियो महावीर, पुलिस फोर्स र एनआरटी बलिया थिए। महावीरलाई कसैले हराउन सकेन। सिंहदरबारको उत्तरमा रहेको ‘ब्लेड घर’ अगाडिको मैदानमा प्रतियोगिताको आयोजना भएको थियो।
‘विलियार्ड घर’ नाम रहे पनि सबैले यसलाई ब्लेड घर नै भन्न रुचाए। यो घरबाट नै राजा त्रिभुवन र राणाहरूले फुटबल हेर्थे। त्रिभुवन फुटबल भने पछि हुरुक्क हुन्थे। अमृतमान त्रिभुवनका प्रिय खेलाडी थिए। २०१३ सालमा प्रकाशनमा आएको ‘फुटबल खेल’ नामक किताबमा लेखक कृष्णबहादुर बर्मालाई सन्देश पठाउने क्रममा राजा त्रिभुवनले लेखेका छन्, ‘सबै नेपाली युवकले आदर्श खेलाडी बनुन् र संसारमा नाम कमाऊन्। त्यो दिन पनि अब चाँडै आउला, जब नेपाली पनि संसारका खेलाडी सरह होलान्। नेपाली युवक हो, खेल, नाम कमाऊ, योग्य होऊ, संसारमा दाँजिने होऊ।’
महावीरले लिग जितेपछि डिल्लीबजारमा पूरा टिमलाई सिन्दूरजात्रा गरेर स्वागत गरिएको थियो। त्यो समयको डिल्लीबजार ठूलो थियो। डिल्लीबजारमा अहिलेको बानेश्वर र ज्ञानेश्वर पनि मिसिन्थे। महावीरको खेल हुँदा पूरा डिल्लीबजार सुनसान हुन्थ्यो र टोलीबासी उल्टेर सिंहदरबार पुग्थे। खेलाडीले कस्तो खेल्यो भनेर टोलभर चर्चा हुन्थ्यो।