राजा त्रिभुवनको कलकत्ता मोह

राजा त्रिभुवनको कलकत्ता मोह

जंगबहादुर, चन्द्रशमशेर आदिले गरेको युरोप भ्रमणसम्बन्धी किस्सा सुनेर राजा त्रिभुवन घुटुक्क थुक निल्थे। युरोपको विकास र तडकभडक हेर्ने तीव्र अभिलाषा उनमा थियो। विभिन्न माध्यमबाट उनले राणा प्रधानमन्त्रीसमक्ष यस्तो रहर जाहेर गरेका थिए। तर, धार्मिक कारण देखाएर राणाशाहीले उनलाई विदेश जाने अनुमति दिएन।

त्यतिबेला त्रिभुवन सुनको पिँजडामा थुनेको सुँगाजस्ता थिए। राजाको निरीहताको जगमा राणाहरूको सत्ता टिकेको थियो। त्यसैले राजालाई उच्चस्तरीय कूटनीतिक भेटघाटको अवसर दिलाएर आफ्नै कद छिमल्न राणाशाही तयार भएन। भनियो– ‘मौसुफ साक्षत् विष्णुको अवतार होइबक्सन्छ, गाई खाने म्लेछहरूको अपवित्र जमिनमा पाइला राखेर मौसुफले आफ्नो दिव्यता गुमाउने कुरै आउँदैन।’

त्यतिबेला नेपालीहरूका लागि कलकत्ता युरोपको ‘मिनियेचर’ थियो। भारतस्थित बेलायती उपनिवेशको राजधानी दिल्ली सर्नुअघि कलकत्तामै थियो। राजधानी सरेपछि पनि बेलायती सानसौकत र युरोपेली जीवनशैलीको प्रभाव कलकत्तामा अद्यापि कायम भयो। कलकत्तासम्म घुम्न पाए पनि जीवन सार्थक बन्ने थियो भन्ने त्रिभुवनलाई लागेको थियो।

राजालाई कलकत्तासम्म जान पनि राणाशाहीले त्यसै किन पो दिन्थ्यो र ? अन्त्यमा राजासँग ‘हेराफेरी’ गरेर मात्रै उनलाई कलकत्ता जाने अनुमति दिन राणाशाही तयार भयो। त्रिभुवनलाई आफ्ना छोराहरू हिमालय र वसुन्धराको बिहे प्रधानमन्त्री जुद्धशमशेरका पनातिनीहरूसँग गरिदिन सहमत गराइयो। ठकुरी राजपरिवारसँग वैवाहिक सम्बन्ध गाँसेर आफ्नो परिवारको सामाजिक हैसियत उकास्न राणाहरू जंगबहादुरको पालादेखि नै लालयित रहँदै आएका थिए। स्वयं जंगबहादुरले आफ्ना छोराहरूको बिहे राजा सुरेन्द्रविक्रमकी छोरीहरूसँग गरिदिएका थिए। छोराहरूको घरजम भएपछि आफूले चाहिँ ठूलै अनुनय गरेर स्वर्गीय फत्यजंग चौतारिया (ठकुरी) की छोरीसँग बिहे गरेका थिए।

सम्धी बन्न त्रिभुवनले कबुल गरेपछि मात्रै जुद्धशमशेरले उनलाई कलकत्ता घुम्न जाने अनुमति दिए। सत्ता छोड्न लागेको बेला राजपरिवारसँग नाता गाँस्ने अवसर पाएकामा जुद्ध मक्ख थिए (दयारामभक्त माथेमा, अनुभव र अनुभूति, २०७३, पृ. ५४)।

राजा कलकत्ता गए। राणाहरूले उनलाई कडा निगरानीमा राखेर सहर घुमाए। मदिरा पिउने अथवा नाच्ने अनुमति नदिनेगरी राजालाई कलकत्तामा रहेको एलिटहरूको नामी नाइट क्लब ‘थ्री हन्ड्रेड क्लब’ लगियो। सो क्लब बोरिस लिसानेभिच नाम गरेका रूसी मूलका बेलायतीले खोलेका थिए, जो पछि नेपालका पर्यटन व्यवसायी बने। राजाको सुरक्षामा तैनाथ गर्ने बहानामा जुद्धशमशेरले त्रिभुवनका गतिविधिहरूमाथि निगरानी गर्न किरण शमशेरलगायतलाई खटाएका थिए। क्लबमा किरण शमशेरलगायतहरू गफमा लीन भएको मौका छोपी त्रिभुवनले कलकत्तामा रहेका ‘सी क्लास’का राणाहरू महावीर शमशेर र सुवर्ण शमशेरसँग संक्षिप्त कुराकानी गरे (उही, पृ. ६१)। ‘सी क्लास’का राणा र राजाबीच राणाविरोधी गठबन्धन निर्माण गर्न सो भेटले महत्वपूर्ण टेवा पु¥यायो। त्यो गठबन्धन राणाशाही हटाउन उपयोगी सिद्ध भयो।

०००

राणाशाही छँदाताका त्रिभुवनमा रहेको कलकत्ता मोह राणाशाहीको अन्त्यपछि पनि सेलाएन। विभिन्न बहानामा उनी कलकत्ता पुगिरहे। मुम्बईलगायत भारतीय सहरमा उद्देश्यबिनै रल्लिने गरिरहे। त्रिभुवन त्यसरी बिनाकारण भारत गइरहँदा भारतीय नेताहरूले पनि असहज महसुस गर्न थाले। राजर्षि ठाँट र पदीय ओज बिर्सिएर त्रिभुवनले भारतका नगण्य मानिससँग हिमचिम बढाएको भन्दै भारतको सर्वोच्च तहबाटै असन्तुष्टि जाहेर भयो। ‘नेपालका राजा भारत आउँछन् र भारतका झिनामसिना व्यापारी तथा महिलासँग नचाहिँदो किसिमले हिमचिम बढाउँछन्’ भन्दै भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूबाटै असन्तुष्टि व्यक्त गरियो।

नेहरूले सीधै राजालाई आचरण सुधार्ने र राजर्षि मर्यादा कायम गर्ने सुझाव दिन चाहिँ संकोच माने। नेपालका सर्वोच्च नेताहरूमार्फत उनले राजाप्रतिको आफ्नो असन्तुष्टि जाहेर गरे।

बीपी कोइराला एकपटक दिल्ली गएका बेला नेहरूले उनीसँग त्रिभुवनको आचरणसम्बन्धी प्रसंग झिके। ‘तिम्रा राजा कलकत्ता आउँछन्, बम्बई जान्छन्। स्वास्नीमानिसहरूसँग, हलुका व्यापारीहरूसँग, सिन्धीहरूसँग मेलजोल गर्छन्, त्यो राम्रो भएन। त्यसो हुनाले तिमीले त्यस सम्बन्धमा राजालाई सम्झाउनुप¥यो,’ नेहरूले भने।

जवाफमा बीपीले भने, ‘राजाले मैले भनेको मान्छन् ? ऊ मित्र हुन् तपाईंका, तपाईंले भनिदिनु राम्रो हुन्छ नि !’

नेहरूले थपे, ‘उनी जे भए पनि राष्ट्राध्यक्ष हुन्। कसरी म तिनलाई भनुँ ?  तर, कुनै मौका प¥यो भने भनुँला।’

राजाले आफूलाई फितलो रूपमा प्रस्तुत गरेर सही गरेनन् भन्ने नेहरूको भनाइ थियो। कलकत्ता, मुम्बईतिरका सुन्दर कन्याहरूसँगको संसर्गबाट त्रिभुवन मोहित छन् र यही मोहले उनलाई भारततिर खिचिरहेको छ भन्ने ठम्याइँ भारतीय अधिकारीहरूको थियो। नेपाली नेताप्रति हेपाहा व्यवहार गर्ने पात्र भनी चिनिएका नेपालका लागि तत्कालीन भारतीय राजदूत सीपीएन सिन्हाले नेहरूकै अगाडि बीपीसँग यस्तो आसयको भनाइ राखे– ‘केटीहरूकै लोभले राजा कलकत्तातिर आकर्षित भएका छन् भने दरबारभित्रै राम्रा–राम्रा ठिटीहरू सप्लाई गर्दा हुँदैन र ? ’

कलकत्ता गइरहने त्रिभुवनको व्यवहारबाट भारतीय अधिकारीहरू असन्तुष्ट हुनुको वास्तविक कारण के थियो ?       यसबारे बीपीले भनेका छन्, ‘उनीहरूलाई फिकिर के थियो भने राजालाई अरूहरूले सम्पर्क गर्लान्, बाहिर गएको बखतमा। सायद त्यो फिकिर थियो उनीहरूलाई, या हुन सक्छ उनको इज्जतको पनि फिकिर थियो। जवाहरलालजीलाई त उनको इज्जतकै फिकिर थियो’

(विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त, २०५५, पृ. १६८–६९)।)

त्यसअगावै नेहरूले राणाशाहीलाई सन् १९५० को असमान शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर गर्न बाध्य पारेका थिए। प्रजातन्त्र आएपछि नेपाललाई सही अर्थमा भारतको ‘अधिनस्थ राष्ट्र’ बनाउन उनले राजनीतिक, कूटनीतिक, आर्थिक, प्रशासनिक र सुरक्षा संयन्त्रलाई एकसाथ परिचालन गरेका थिए। यस्तोमा पूर्वी पाकिस्तान (आजको बंगलादेश)सँग सीमा जोडिएको पश्चिम बंगालको राजधानी कलकत्तामा त्रिभुवन बारम्बार गइरहँदा र जो पायो त्यहीसँग निकट हुँदा पाकिस्तान अथवा पाकिस्तानी आवरणमा छिर्न सक्ने पश्चिमी प्रभावको चंगुलमा त्रिभुवन पर्लान् भन्ने भय भारतलाई थियो भनी बीपीले गरेको संकेत अस्वाभाविक ठहर्दैन।

०००

हुन पनि त्रिभुवनको कलकत्ता मोह आतिथेय उपलब्ध गराउनेहरूलाई पनि अप्ठेरो पार्ने किसिमको थियो। उनका गतिविधि हेर्दा उनी हरबखत कलकत्ता जाने अवसर खोजिरहेका छन्झैं लाग्थ्यो।

विसं १९९७ को सहिद काण्डपछि जुद्धशमशेरले त्रिभुवनलाई गोरखामा लगेर नजरबन्दमा राख्ने र उनका जेठा छोरा महेन्द्रलाई राजा बनाउनेसम्मको सोच बनाएका थिए। त्यतिबेलैदेखि त्रिभुवन छोरो महेन्द्रसँग सतर्क थिए। केआई सिंहको नेतृत्वमा भएको सिंहदरबार कब्जालाई महेन्द्रले सहयोग गरेका थिए भन्नेखालका चर्चा पनि त्यतिबेला चलेको थियो। यस्ता विविध कारणले त्रिभुवन र महेन्द्रबीच बेमेल तीव्र बनेको थियो। त्रिभुवनले छोराहरू हिमालय र वसुन्धराको बिहे जुद्धशमशेरका नातिनीहरूसँग गरिदिएकै थिए। यस्तोमा महेन्द्रले पनि जुद्धकै अर्की नातिनी रत्नराज्यलक्ष्मीसँग प्रेमविवाह गर्ने निधो गरे। तर, त्रिभुवनलाई महेन्द्रको यस्तो निश्चय मन परेन। ‘जुद्धेकी नातिनीसँग तैंले बिहे गर्ने ? ’ भन्दै उनी छोरोसँग कड्किन थाले। राणाकालमा प्रधानमन्त्री छँदा जुद्धले त्रिभुवनलाई अनेकपटक भारदारहरूका सामु झपारेर अपमान गरेका थिए। राणाशाहीको अन्त्य भएर राजसंस्थाको हालिमुहाली फर्किएपछि पनि जुद्धकै खलकसँग वैवाहिक सम्बन्ध गाँस्ने महेन्द्रको चेष्टाबाट त्रिभुवनले सायद आफ्नो अपमान भएको सम्झिए। तर, महेन्द्र रत्नराज्यलक्ष्मीसँग बिहे गर्ने निर्णयमा अडिग रहे।

छोराको यस्तो ‘अटेरिपन’ त्रिभुवनलाई कलकत्ता जाने निहँु दिलाउन पर्याप्त थियो। अन्ततः छोरोको बिहे बहिष्कार गर्ने निधो गरेर उनी कलकत्तातिर हान्निए। राष्ट्राध्यक्षको कूटनीतिक मर्यादासमेतको ख्यालै नगरी उनी कलकत्तास्थित नेपाली कन्सुलेट जनरल भवनमा साधारण नागरिकसरह भएर बसे (अरविन्द रिमाल, १९९७ सालदेखि २०१७ सालः एक अवलोकन, २०६३, पृ. ४८८)।

०००

त्रिभुवनको यस्तो बेमौसमी कलकत्ता भ्रमण र त्यहाँ रहँदा उनले गर्ने गतिविधिबाट असन्तुष्ट बनेका नेहरूले नेपाल सरकारको माथिल्लो तहमै गुनासो पोखे। सोझै त्रिभुवनलाई यसबारे गुनासो गर्न संकोच लागेपछि उनले नेपालका तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालामार्फत त्रिभुवनले आचरण सुधार्न आवश्यक छ भन्ने सन्देश पठाए।

२३ अप्रिल १९५२ मा मातृकाप्रसाद कोइरालालाई लेखेको एउटा चिठीमा नेहरूले भनेका छन्, ‘यो कुरा पनि भनिहालौं कि (नेपालका) राजा र मन्त्रीहरू नेपालबाहिर बारम्बार गइरहने नगरे बेस हुने थियो। अझ खासगरी कलकत्ताजस्ता ठूला सहरमा गइरहने नगरे हुन्थ्यो। हामीले जनताको मनमा (शासकहरू) कुनै महत्वपूर्ण र कठिन काम गर्न लागिपरेका छन् भन्ने पार्नुपर्छ। यदि सर्वोच्च ओहोदाका मानिसले जनतामा यस्तो धारणा विकसित गराउन सकेनन् भने अरूले सक्ने कुरै आउँदैन’ (मातृकाप्रसाद कोइराला, अ रोल इन अ रिभोल्युसन, सन् २००८, पृ. २२४)।

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले भने, ‘नेपालका राजा भारत आउँछन् र भारतका झिनामसिना व्यापारी तथा महिलासँग नचाहिँदो किसिमले हिमचिम बढाउँछन्।’

कुरो चपाएर यति लेखेपछि पनि नेहरू सन्तुष्ट भएनन्। सोही मितिमा मातृकाप्रसादलाई अर्को चिठी लेखेर उनले राजाको आचरणप्रति सीधै ध्यानाकर्षण गराए। ‘तपाईंलाई लेखेको अघिल्लो चिठीमा मैले कलकत्तालगायत ठाउँमा भएका राजाका भ्रमणबारे केही उल्लेख गरेको थिएँ। यो अलिक गम्भीर विषय हो। तर, पनि नेपालको भलाइका लागि यसबारे ध्यान पु¥याउन आवश्यक छ भन्ने ठानेर म तपाईंलाई यो सबै लेखिरहेको छु। राजा अथवा राष्ट्रप्रमुखले गरिमा जोगाउनुपर्छ र केही हदसम्म आफूलाई अलग राख्नुपर्छ। आफूलाई अलग राख्नुपर्छ भन्नुको अर्थ राजा जनतासँग घुलमिल हुनु हुँदैन भन्ने चाहिँ होइन। तर, आफ्नो गरिमा कम हुने कुनै पनि काम गर्नु हुँदैन। यो कुराबारे राजा र राजपरिवारले देशभित्र रहँदा अथवा बाहिर जाँदा सदैव हेक्का राख्नुपर्छ। उच्च ओहोदासँगै दायित्व र संयमता पनि गाँसिएर आउँछन्। यदि संयमता अपनाउन सकिएन भने ओहोदामा भएका व्यक्तिले पछुताउनुपर्ने अवस्था सिर्जना हुन्छ।’

(मातृकाप्रसाद कोइराला, अ रोल इन अ रिभोल्युसन, २००८, पृ. २२५–२६)।

०००

राणाहरूको कडा निगरानीमा हुर्किएकाले त्रिभुवनमा राजनीतिक चेतको विकास राम्रोसँग हुन पाएको थिएन। राजालाई भोगविलासमा चुर्लुम्म डुबाउनुपर्छ, मदिरा, स्त्री आदिको अम्मलमा डुबेको राजामा राजनीतिक महत्वकांक्षा हुँदैन र त्यस्तो भोगी राजाले सत्तामा हस्तक्षेप गर्नेबारे सोच्न पनि सक्दैन भन्ने राणाहरूको बुझाइ थियो। यस्तै बुझाइअन्तर्गत राजालाई भोगविलासमा डुबाउने तानाबाना बुनिन्थ्यो। राणाहरूको यस्तै नीतिको सिकार त्रिभुवन पनि भएका थिए।

चन्द्रशमशेर प्रधानमन्त्री छँदा त्रिभुवनलाई पढाउन दुईजना शिक्षक नियुक्त गरिएको थियो। तीमध्ये एकजना तुलसीमान सिंह थिए। त्रिभुवनले पढ्ने ‘पाठ्यक्रम’ चन्द्रशमशेर स्वयंले तयार पारेका थिए। उनलाई मूलतः प्रेमकथा, ‘अरबका रातहरू’ तथा ‘गुलिभर्स ट्राभल्स’जस्ता रमाइला कथा, सिकार र खेलका वर्णन, पाकशास्त्र आदिबारे मात्र पढाउन भनिएको थियो। तर, समयक्रममा तुलसीमानले त्रिभुवनलाई भूगोल, इतिहास, दर्शन आदिबारे समेत पढाए। राजालाई क्रान्तिकारी शिक्षा दिएर मास्टर तुलसीमानले द्रोह गर्‍यो भन्ने खबर चन्द्रशमशेरसम्म पुग्यो। केरकारका लागि तुलसीमानलाई प्रधानमन्त्री निवास सिंहदरबार डाकियो।

राजालाई भूगोल, इतिहास, दर्शन आदिबारे पढाउनु त्यतिबेला चानचुने द्रोह थिएन। ठूलै संकटमा फसिने देखेपछि मास्टर तुलसीमानले बँच्ने एउटै मात्र उपाय देखे– बहुलाएको अभिनय गर्ने। चन्द्रशमशेरको अगाडि पर्नसाथ उनले बहुलाएजस्तो गर्न थाले। चन्द्रशमशेरलाई पनि नचिनेको जस्तो गरेर मुख बिगार्दै ‘तँ तँ र म म’ गर्न थाले। मगज बिग्रिएको भन्ठानेर उनलाई त्यसै छोडियो। त्यस घटनाबारे बालकृष्ण समले आफ्नो संस्मरणात्मक पुस्तकमा उल्लेख गर्ने क्रममा प्रत्युत्पन्नमति भएका तुलसीमानले बहुला भएको अभिनय गरेर आफूलाई ठूलो संकटबाट जोगाएको लेखेका छन् (बालकृष्ण सम, मेरो कविताको आराधना, २०५४, पृ. १६२)।

प्रेम, यात्रा, खेलकुद आदिको रोमाञ्चक वर्णन मात्रै सुनेर हुर्किएका त्रिभुवनमा यी विषयप्रति बढी अभिरुचि हुनु अनौठो थिएन। उनी कुस्तीलगायत खेलमा बढी रुचि राख्थे। राणाहरूले त्रिभुवनको खोपीमा सुरा र सुन्दरीको कमी हुन दिएका थिएनन्। त्रिभुवन १२ वर्षको छँदै राणाहरूले भारततिरका दुई दिदीबहिनी कान्ति र ईश्वरीसँग उनको बिहे गराइदिएका थिए (एरिका लुखट्याग, एरिया एन्ड द किङ्ग, सन् १९५८, पृ. ६८)। यी दुई दिदीबहिनीले त्रिभुवनका बडामहारानीको हैसियत प्राप्त गरे। राणाशाहीको अन्त्यपछि त्रिभुवनले दरबारमा थप आधा दर्जन युवतीलाई अनौपचारिक रूपमा श्रीमती बनाएर राखेका थिए (सीताराम बराल, राजा त्रिभुवनकी गुमनाम रानी, नेपाल राष्ट्रिय साप्ताहिक, २२ असोज २०७४, पृ. ४६–४९)।

०००

त्रिभुवनप्रति सद्भाव राख्नेहरूले चाहिँ राणाहरूले आफ्नो स्वार्थसिद्धि गर्न त्रिभुवनलाई विलासी र निम्छरो स्वभावको राजाका रूपमा चित्रण गरेको, तर वास्तविक जीवनमा उनी त्यस्तो नरहेको उल्लेख गरेका छन्। यस्तै धारणा राख्नेमध्येमा एरिका लुखट्याग नाम गरेकी युरोपेली कन्या पनि पर्छिन्। राणाकालताका त्रिभुवनकी जेठी महारानी कान्ती राज्यलक्ष्मीको मालिस गर्न भनेर दरबार छिरेर त्रिभुवनको निकट भएकी भनिएकी एरिकाले राणाहरूले जानीजानी त्रिभुवनको विलासितासम्बन्धी अफवाह फैलाएको बताएकी छिन्।

उनका अनुसार, राणाहरूले राजा त्रिभुवनलाई रक्सी, स्त्री र अफिममा सदैव डुब्ने विलासी राजाका रूपमा विदेशीसामु चित्रण गरे। यसैलाई आधार मानेर विदेशीहरूले त्रिभुवनलाई आफ्ना लेखरचनामा उतारे, जसकारण देशविदेशमा त्रिभुवनबारे नकारात्मक छवि निर्मित भयो। एरिकाका अनुसार, यथार्थमा त्रिभुवनको स्वभाव नितान्त फरक थियो। ‘त्रिभुवन उनीहरूले भनेजस्ता थिएनन्। जँड्याहा भनिएका उनी शिष्टाचारवश रक्सीको प्यालालाई ओठमा छुवाउनेसम्म गर्थे किनकि रक्सीको कुलतमा फसाएर राणाहरूले आफ्ना बुवा र हजुरबुवाको जीवन बर्बाद पारेका छन् भन्ने उनले बुझेका थिए। भोगविलासमा डुब्ने व्यभिचारी भनिएका उनी आफ्ना श्रीमतीहरूलाई आदर र प्रेम गर्ने स्वभावका थिए। पश्चिमका सबै युवती अनैतिक हुन्छन् भन्ने उनको विश्वास थियो। अफिमबारे भन्नुपर्दा उनी सिर्फ चुरोटका अम्मली थिए,’ उनले लेखेकी छिन् (एरिका लुखट्याग, एरिका एन्ड द किङ्ग, सन् १९५८, पृ. ६९–७०)।

एरिकाको यस्तो विश्लेषण सुन्दा ‘जसको सिता, उसको गीता’ भन्ने चर्चित नेपाली उक्ति चरितार्थ भएको भान हुन्छ। त्रिभुवन उनले भनेजस्ता थिए भन्ने कुरा अन्य कुनै सन्दर्भसामग्रीले पुस्टि गर्दैन। उनको मदिरा र स्त्रीमोहसम्बन्धी किस्साबारे लिखित र अलिखित सन्दर्भसामग्री थुप्रै उपलब्ध छन्।

बीपी कोइरालालले त्रिभुवनको स्त्री र मदिरासँगको सम्बन्धबारे ‘आत्मवृत्तान्त’मा उल्लेख गरेका छन्। साम्राज्यशमशेरले आफ्नो घरमा दिएको पार्टीमा छोराहरू र बुहारीहरूकै अगाडि त्रिभुवन रक्सीले मातेर धुत भई आफ्ना लागि साम्राज्यशमशेरको घरमा स्थायी रूपमा बन्दोबस्त गरिएकी केटी च्यापेर एउटा कुनातिर पसेका थिए। बुहारीहरूलाई असहज हुनेगरी उनले युवतीहरूसँग भड्किलो पारामा नृत्य गरेका थिए। यो सब चर्तिकला हेरेर बसिरहेका तत्कालीन गृहमन्त्री बीपीसमक्ष युवतीहरूले ‘डान्स’का निम्तिी अफर गर्दा बीपीले अस्वीकार गरेका थिए। त्यो देखेर रुष्ट भएका त्रिभुवनले ‘थुइक्क नामर्द’ भन्दै बीपीलाई हप्काएका थिए (विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त, २०५५, पृ. १६७–६८)।

०००

त्रिभुवनको महिमागान गाउने क्रममा एरिकाले राणाकालताका नै त्रिभुवनमा राजनीतिप्रति गहन सुझबुझ थियो भनेकी छिन्। राणाशाही ढाल्ने योजनाका साथ सपरिवार भारतीय दूतावासमा शरण लिनु निश्चय पनि त्रिभुवनको दुस्साहसी राजनीतिक कदम थियो। यद्यपि, उनको गहन राजनीतिक सुझबुझ चाहिँ देश र जनताले कहिल्यै महसुस गर्न पाएन।

देश र जनताप्रतिको त्रिभुवनको चिन्ता झल्काउनेगरी उनीसँग भएको एउटा रोचक सवालजवाफबारे एरिकाले उल्लेख गरेकी छिन्। राणाकालताकाको एक दिन एरिकासँग त्रिभुवनले भने, ‘एरिका, तिमी काठमाडौं आउनुअघि रेडियोमा महात्मा गान्धीलाई सुनेको अभियोगमा एकजना मानिसलाई यहाँ मृत्युदण्ड दिइयो।’

जवाफमा एरिकाले भनिन्, ‘राजाको लालमोहरबिना कसैलाई मृत्युदण्ड दिन पाइँदैन, होइन र ? हजुरले किन अस्वीकार गर्नुभएन ? ’

निरीह पारामा त्रिभुवनले भने, ‘ए मेरो लालमोहर ?       त्यो त मैले हराउँछु कि भनेर प्रधानमन्त्रीले सिंहदरबारको आफ्नो कार्यालयमा लगेर राखेका छन्’ (उही, पृ. ६८–६९)।

विसं १९९७ सालमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिने फैसलामा लालमोहर लगाएको भन्दै आजसम्म त्रिभुवनको आलोचना हुने गरेको छ। सहिदगेटमा चार सहिदहरूको टाउकोमाथि उनीहरूकै हत्यारा त्रिभुवनको सालिक ठड्याइएको भन्दै विरोध हुने गरेको छ। देश र जनताका लागि प्राण उत्सर्ग गर्ने सहिदहरूको स्थान जुरिकको सुविधासम्पन्न अस्पतालको बेडमा प्राण त्याग्ने राजाको टाङमुनि हुनै सक्दैन। त्यसैले त्रिभुवनको सालिक सहिदगेटबाट झिकेर अन्यत्र कतै सार्नेबारे सरकारको ध्यानाकर्षण हुन आवश्यक छ। यो सब गरिहँदा त्रिभुवनलाई सहिदकाण्डका दोषी करार गरिनु कत्तिको उपयुक्त छ भन्नेबारे निचोड निकाल्नुअघि एरिकासमक्ष त्रिभुवनले व्यक्त गरेको लाचारीलाई पनि ध्यान दिन आवश्यक छ।

०००

त्रिभुवन रणबहादुर अथवा सुरेन्द्रविक्रमजस्ता लम्पट चाहिँ थिएनन्। न इन्द्रिय निग्रह गर्ने स्वभावकै थिए। भोगविलासका सन्दर्भमा उनी सामन्ती राज्यव्यवस्थाका अन्य राजासरह थिए, जो पुँजीवादी आधुनिक राज्यव्यवस्थाका प्रतिनिधिपात्र बीपी अथवा नेहरूका लागि नालायक सिद्ध भए। के कुरा निःसन्देह हो भने २००७ सालको युगान्तकारी परिवर्तनपछि देशले खोजेको सबल पात्र चाहिँ उनी थिएनन्। नेपालले आजसम्म भारतीय चंगुलबाट उम्किने र समृद्धि हासिल गर्ने निरन्तर प्रयत्न गर्नुले पनि उनको राजनीतिक असक्षमता सिद्ध गर्छ। यहाँनेरि एउटा कल्पना गर्न मन लाग्छ– कलकत्तामा उपलब्ध हुने मोजमस्तीप्रति जस्तै देश र जनताको भविष्यप्रति पनि त्रिभुवनले अभिरुचि राखेका भए ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.