गिट्टीले धानिएको जीवन
महोत्तरी : खोला किनारमा गिट्टी कुट्दै थाके, ६३ वर्षीय विश्वेश्वर पासमान। कुटिरहेको हातको हथौडा गिट्टीकै थुप्रोमा खस्यो। थकाइ मार्ने छहारी पनि थिएन। गिट्टीको थुप्रोमै थोत्रो च्यादर ओछ्याए। अनि ढुंगाको सिरानी हाले र त्यहीँ पल्टिए।
विश्वेश्वर दलित समुदायका हुन्। बचपनमा गरिबीले स्कुलको मुख देख्न पाएनन्। १० वर्षको छँदा गाउँकै मालिककोमा नोकरी बसे। जवानी हुँदा बनिबुतो गरे। छोराछोरी हुर्काउन भारतको दिल्ली, पञ्जाब र लुधियाना चहारे।
६ महिना पञ्जाव अनि ६ महिना गाउँकै मालिककोमा श्रम गरी पसिना बगाए। छोरा शिवकुमार, जयकुमार र छोरी ललितालाई हुर्काए। गाँस काटेर लालाबालालाई दुनियाँ देखाए।
१० वर्षकै उमेरदेखि बाल श्रमबाट सुरु भएको उनको जिन्दगी ६४ औं वसन्तमा पुग्दै छ। रगत–पसिना बगाएर काखमा पालेको तीनै सन्तान उनीसँग टाढिएका छन्। छोरी ललिताको विवाह भयो। दुई छोरा पनि बिहेपछि आमाबुबासँग छुट्टिए। उनको साथमा ६० वर्षीय जीवनसंगिनी सुवधीदेवी मात्रै छिन्।
‘दिल्ली पञ्जाव गरेर छोराछोरी हुर्काएँ’, उनले गहभरि आँसु पार्दै भने, ‘जवानी हुँदा सबै थियो। बुढेसकालमा कोही छैन। आमाबुबालाई बुढेसकालमा हेरविचार गर्नुपर्ने छोराहरू अहिले टाढिएका छन्।’ खोला किनारमा वृद्ध विश्वेश्वर दिनहुँ ढुंगा, गिट्टी, बालुवासँग काया घोटिरहेका छन्। उनका सन्तानले उनलाई वास्ता गर्दैनन्।
‘खोलामा पानी बगेसरी जवानी गयो। बल घट्यो। केटाकेटीको जस्तो मन भयो’, गौशाला—५ का विश्वेश्वरले भने, ‘दिल्ली पञ्जाव जान सकिँदैन। मजदुरी गर्न पनि मेरो बुताले भ्याउँदैन।’
जीवनमा उनले कमाएर जोडेको सम्पत्तिको नाउँमा पाँच धुर जग्गा छ। मरहा खोला नजिकैको गौशाला बजारको महुलिया टोलको दलित बस्तीमा विश्वेश्वरको एउटा सानो फुसको छाप्रो छ। जाडोमा घरभित्रै शीतलहर पसेर उनलाई सुत्न दिँदैन।
त्यसै घरकोे एक कुनामा ओछ्याएको थोत्रो ओछ्यान। चुलोमाथि एउटा तरकारी पकाउने कराही, त्यसमा एउटा भात पकाउने तसला र दुईवटा थाल। उनको गरिबी जिन्दगीको परिचय हो यो।
विश्वेश्वरले भने, ‘दिनभरि काम गर्थें। मालिकबाट चार÷पाँच किलो धान पाइन्थ्यो।’
राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हँुदै देश संघीय गणन्त्रणमा आइपुग्यो तर उनको जीवनस्तर जस्ताको त्यस्तै छ। कानुनमा जातीय छुवाछुत अन्त्य भए पनि उनले समाजमा छुवाछुतबाट दुव्र्यवहार खेपिरहनुपरेको छ।
बुढेसकालमा उनी गौशाला बजारभन्दा पश्चिमपट्टिको मरहा खोलामा दैनिक गिट्टीमा जीवन खोजिरहेका छन्। श्रीमती सुवधीले खोलामा ढुंगा बटुल्छिन्। आरीमा राखेर विश्वेश्वरले गिट्टी कुट्दै गरेको ठाउँसम्म पु¥याउँछिन्। विश्वेश्वर ढुंगा फुटाएर गिट्टी बनाउँछन्। यो क्रम उनको जिन्दगीमा पाँच वर्षदेखि निरन्तर चल्दै आएको छ। उनी भन्छन्, ‘हथौडाले गिट्टी फुटाउँछौं। दिनभरमा बल्ल एक सयदेखि एक सय ५० रुपैयाँ कमाइन्छ।’
खोलामा गिट्टी फुटाउन गएन भने, उनको मुखमा माड लाग्दैन। उनको घुँडा दुख्ने समस्या छ। घँुडा दुखाइको पीडाले छट्पटिएर रातभरि निदाउन पाउँदैनन्। त्यसमाथि ढुंगा फोड्दा उछिट्टिर हातखुट्टामा बनेको घाउबाट बग्ने रगतले अर्को पीडा थपिदिन्छ। उनको बुढेसकालको जिन्दगी पीडैपीडाले भरिएको छ। बिहान खोलामा गिट्टी कुट्न जाँदा, घर फर्किएर आउँदा र रात बिताउँदासम्म उनको जिन्दगीमा कहीँ कतै खुसी हुने एक प्रहर पनि छैन। गिट्टी बिक्री भएन भने त भोकै बस्नुपर्छ।
पीडाले उनलाई सताउँदै गर्दा उनी अर्को पीडाले पनि त्यत्तिकै चिन्तित छन्। १० वर्षीय नाति बादललाई ब्लड क्यान्सर भएको छ। उनको चितवनमा उपचार चल्दै छ। आर्थिक अभावले उपचारमा समस्या छ। उनी भन्छन्, ‘म बूढो मरे पनि मेरा नातिलाई कसैले बचाइदेओस्।’ विश्वेश्वरको जेठो छोराको सन्तान हो बादल।
विश्वेश्वरकी श्रीमती सुवधीदेवी दुई वर्षदेखि चिनेको मान्छेलाई पनि पूरा अनुहार देखाउँदिनन्। गालामा पलाएको मासुले उनको अनुहार बिग्रिएको छ। आर्थिक अभावले उनको उपचार गराउन विश्वेश्वरले सकेका छैनन्।
विश्वेश्वरका छिमेकी उतिमलाल पासमानको बुढेसकालको कथाव्यथा पनि दुःखदायी छ। ७२ वर्षीय उनी पनि खोलामा गिट्टी कुटेर खान्छन्। तीन छोरा र एक छोरी छन् उनका। सबैको विवाह भइसकेको छ। छोराहरू भिन्दै बस्छन्। तीन धुर जग्गा भएको बताउने उतिमलाललाई चर्किंदै गरेको प्रचण्ड घाममा हथौडाले गिट्टी कुट्न सजिलो छैन। गिट्टी कुट्दा गिट्टीको छारो उडेर आँखामै पुग्छ। उनी भन्छन्, ‘चस्मा लगाएर गिट्टी कुट्न मिल्दैन। गिट्टी उछिटिएर चस्मा फुटेर आँखै फुटाउला भन्ने डर हुन्छ। त्यसैले चस्मा लगाउँदैनौं। बरु दुःख नै सहन्छौं।’
नौ जना नातिनातिना रहेका उनी छोराछोरी टाढिएपछि खोलाको भरमा जिन्दगी बिताउँछन्। वृद्ध उतिमलालजस्तै दुःखै दुःखको पीडामा बाँचिरहेका छन्, उनका छिमेकी ६३ वर्षीय टनुकलाल साह। उनीको जिन्दगी पनि खोलामा गिट्टी कुटेर चलिरहेको छ।
जेठी श्रीमती बनार्सी देवीको मृत्युपश्चात् उनी समस्यै समस्यामा छन्। जेठी श्रीमतीबाट उनका तीन सन्तान जन्मिए। दुई छोरा र एक छोरी। दुई छोरा जन्मिनेबित्तिकै मरे। छोरी बाँचे। पछि घर व्यवहार चलाउन उनलाई समस्या भयो। टनुकलालले बनार्सीकी बहिनी रेनुसँग विवाह गरे। उनबाट अहिले दुई छोरा र एक छोरी छन्। १२ वर्षीय छोरा आकाश र १० वर्षीय अर्का छोरा विकासलाई बुढेसकालमा गिट्टी कुटेर पालनपोषण गर्छन्। पढ्न स्कुल पठाउँछन्।
‘सरकारले हामीलाई साहु महाजन भनेर ७० वर्ष पुगे मात्र भत्ता दिने भन्छ। दलितलाई ६० वर्षमै दिन्छ’, उनी भन्छन्, ‘दलितसँगै हामी पनि खोलामा गिट्टी कुटेर खान्छौं। उनीहरूलाई ६० वर्षमा सरकारले भत्ता दिन्छ। हामीलाई ७० वर्ष नपुगेसम्म नदिने भन्छन्। हामी मरेर गएपछि सरकारले दिने भत्ता हामीलाई के काम ? ’
महोत्तरीको गौशाला क्षेत्रमा वृद्ध–वृद्धा खोलामा गिट्टी कुटेर खान्छन्। बच्चाहरू स्कुल जाँदैनन्, खोलामा आमाबुबासँगै बालुवा चालेर दिन बिताउँछन्।