सर्वनाममा कलायान
काठमाडौं : सर्वनाम थिएटर स्थापनाको ३६औं वर्षको अवसर पारेर कलायानको दोस्रो शृंखला सुरु भएको छ। शृंखलाको शुक्रबार सकारात्मक सोचका अभियानकर्ता कर्ण शाक्यले उद्घाटन गरे।
शाक्यले कलाले मानिसको जीवनमा सकारात्मक सोचको विकास गर्न सहयोग पुग्ने बताए। २०७३ जेठ ११ देखि सुरु भएको कलायानको पहिलो शृंखला यही चैत १५ सम्म चलेको थियो। कार्यक्रममा २२ महिनासम्म सर्वनामको आर्ट ग्यालरीमा आफ्नो पेन्टिङ प्रदर्शनीमा राख्ने रमेश खनाल र नरेन्द्रबहादुर श्रेष्ठलाई आदरपत्र प्रदान गरिएको थियो।
कलायानको दोस्रो शृंखलामा १० जना कलाकारका १९ चित्र प्रदर्शनीमा राखिएका छन्। यसको दोस्रो शृंखला एक महिनासम्म चल्नेछ।
नेपाली कलाका सर्जक र सिर्जनालाई व्यापक रूपमा लोकप्रिय बनाउन तथा अन्तर्राष्ट्रिय स्तरमा पनि फैलाउन कलायान यात्रा थालनी गरिएको सर्वनामका संस्थापक एवं संरक्षक अशेष मल्लले बताए। कार्यक्रममा कलायानका संयोजनकर्ता सावित्री कक्षपतिले एउटै घरभित्र कलाका विभिन्न स्वाद चाख्न पाइने बताइन्।
सर्वनामले सोमबारदेखि अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गरेको छ। यसमा नेपाललगायत विश्वका सात देशका कलाकारले एकल नाटक प्रस्तुत गर्नेछन्।