'भारतसँगको सम्बन्ध नयाँ उचाइमा'

'भारतसँगको सम्बन्ध नयाँ उचाइमा'

सिमरा : प्रधानमन्त्री केपी ओलीले नेपाल-भारत सम्बन्धले अहिले नयाँ उचाइ लिइरहेको बताएका छन् ।सिमरास्थित विशेष आर्थिक क्षेत्रभित्र बन्न लागेको गार्मेन्ट प्रशोधन क्षेत्रको आइतबार शिलान्यास गरेपछि प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । भारतसँगको सम्बन्ध पहिलेजस्तो नरहेको उल्लेख गर्दै उनले अब कतिपयलाई विश्वास नलाग्ने गरी सम्बन्ध सुमधुर हुँदै गएको बताए ।

उनले चैत २३ गतेदेखि हुने भारत भ्रमण मुलुकका लागि उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे । ‘भारत हाम्रो साथमा छ, यसो भनिरहँदा कतिपयलाई विश्वास नहुन सक्छ’, उनले भने, ‘तर, नेपाल र भारतको सम्बन्धले नयाँ उचाइ लिएको छ ।’

उनले नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न भारत र चीन दुवै मुलुक तयार रहेको बताए । दुवै मित्र राष्ट्रसँग सहकार्य गरेर नेपालको विकासलाई अघि बढाइने जानकारी दिँदै उनले अब देशको समृद्धिमा सबै एकजुट हुनुको विकल्प नरहेको बताए ।

उनले देश र जनतालाई आवश्यकता भए सार्वभौम र अखण्डतामा असर नपर्ने गरी संविधान र कानुन परिवर्तन गर्न कुनै समस्या नरहेको बताए । ‘कसैले केहीका लागि जिद्दि गर्नु छैन । लडाइँ देशका लागि लड्ने हो, आफ्नो इगोका लागि होइन’, उनले भने, ‘देश र जनतालाई चाहियो भने सबै कुरा परिवर्तन हुन सक्छ, कसैले लडाइँ गर्नुपर्दैन ।’

मुलुक नयाँ र आधुनिक युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले सोच परिवर्तन गरी देशको हितका निम्ति अघि बढ्न सबैलाई आग्रह गरे । संघीयतामा प्रवेश गरेसँगै मुलुक अहिले नयाँ अभ्यासमा रहेको सुनाउँदै उनले समृद्धिको अभियानका आइपरेका समस्या चिर्दै अघि बढ्नुपर्ने बताए ।

‘संघीय, प्रदेश र स्थानीय गरी अहिले सात सय ६१ सरकार छन्’, उनले भने, ‘अब सबैले मिलेर काम गर्नुपर्छ, प्रदेशलाई केन्द्र र यी दुवैले स्थानीय सरकारलाई सहयोग गर्नुपर्छ । अब नेपाल गरिबीमा रहन सक्दैन । स्रोत र साधनलाई देश विकासमा प्रयोग गर्नुपर्छ ।’ प्रदेश २ सबैभन्दा बढी सम्भावना भएको प्रदेश रहेको उल्लेख गर्दै उनले विकासका निम्ति सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरेका थिए ।

‘एक जनप्रतिनिधि एक विद्यार्थी’

उनले निरक्षरताविरुद्ध वैशाख ५ गते विद्यार्थी भर्ना दिवस मनाउने तयारी रहेको जानकारी दिए । समृद्धिको मुख्य आधारका रूपमा शिक्षाबाट कोही पनि वञ्चित हुन नहुने भन्दै उनले वैशाख ५ गते देशभरका जनप्रतिनिधिले एक जना बालबालिका विद्यालय लगेर भर्ना गर्नुपर्ने स्पष्ट पारे । ‘निरक्षरताविरुद्ध अभियान सञ्चालन गर्ने तयारी छ । वैशाख ५ गते एक जनप्रतिनिधिले एक जना बच्चालाई विद्यालय लगेर भर्ना गर्न सुरु गरौं’, उनले भने, ‘म आफैंंले मधेसको जिल्लाबाट यो अभियान सुरु गर्दै छु । केही वर्षमा विद्यालय भर्ना गर्न बालबालिका भेटिन्नन् । यसरी हामी सफल हुन सक्छौं ।’

उनले तराईका जिल्लामा चिसोका कारण कठ्यांग्रिएर मृत्यु हुन नदिने गरी सरकार अघि बढ्ने बताए । अब कठ्यांग्रिएर मर्नुपर्ने अवस्था अन्त्य हुने दाबी उनले गरे । ‘तराईका जिल्लाबाट यस्तो समाचार आइरहन्छ, यस्तो दिनको अब अन्त्य हुन्छ’, उनले भने, ‘अब जाडोका कारण मृत्यु भएको समाचार आउँदैनन्, त्यसका लागि म प्रतिबद्ध छु । जनता भोक र चिसोका कारण मर्नुपर्ने दिन दोहोरिनेछैन ।’

‘बोक्सी भन्ने अधिकार छैन’

उनले महिलामाथि हुने हिंसा अन्त्य हुने पनि बताए । महिलालाई बोक्सी भन्दै धामीझाँक्री लगाएर बेइज्जत गर्ने, बहिष्कार गर्ने घटना सरकारले सहन नसक्ने स्पष्ट पार्दै उनले कसैले यस्तो गरेको पाइए कानुनी कारबाही गरिने चेतावनी दिए । बलात्कार, महिला हिंसाका घटनाका दोषीले छुट्कारा नपाउने उनले स्पष्ट पारे । सामाजिक अपराध गर्ने व्यक्ति छुटाउनका निम्ति सिफासिर लिएर आफूकहाँ नआउन र त्यस्ता घटनाका दोषीलाई उम्काउनका निम्ति सक्रिय नहुन उनले जनप्रतिनिधिलाई आग्रह गरे ।

‘अपराधीलाई छुटाउने सिफारिस मलाई नगर्नुहोला, अपराधी आफ्नो हँुदैन’, उनले भने, ‘अपराधी छुटाउने र ढाकछोप गर्ने काम जनप्रतिनिधिले पनि नगर्नुस्, यस्तो काम सभ्य समाजलाई स्वीकार्य हुँदैन ।’

उनले राजनीतिक आवरणमा हिंसा र अपराध गर्ने काम नगर्न आग्रह गरे । क्रान्तिका नाममा चन्दा असुली, जनतालाई आतंकित पार्ने काम अनुचित रहेको उनको भनाइ थियो । ‘देश समृद्धि, एकता र विकासको बाटोमा अघि बढिरहेको अवस्थामा एउटा कुनामा बसेर जनतालाई दुःख दिने र तर्साउने काम नगर्नुस्’, उनले भने ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘आसन पाए पनि शासन नपाएको’ उल्लेख गर्दै प्रदेश सरकारलाई अधिकारसम्पन्न बनाउन प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । कार्यक्रममा प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा र जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले समृद्धिका निम्ति केन्द्र सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका थिए ।

जितपुरसिमरा उपमहानगरपालिकाका ४, १४ र १५ नम्बर वडामा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज) को ‘ए’ ब्लकलाई गार्मेन्ट प्रशोधन क्षेत्र बनाउन लागिएको हो । तीन सय ४३ बिघामा फैलिएको ‘ए’ ब्लकको एक सय ६५ बिघा जमिनमा प्रशोधन क्षेत्र बन्दै छ । यो क्षेत्रमा कपडाजन्य उद्योग रहने जनाइएको छ ।

चालू आर्थिक वर्षका लागि यो ब्लकको सडक निर्माणतर्फ ९४ करोड र प्रशासनिक भवन निर्माणतर्फ ३४ करोडको ठेक्का लगाएर काम भइरहेको छ । ‘ए’ ब्लकमा कम्पाउन्ड वाल, सडक, नालालगायत काम सम्पन्न भइसकेको छ ।

यो ब्लकमा ६३ प्लट बनाइएको छ । प्लट एक देखि डेढ बिघासम्मको छ । उद्योगी÷व्यवसायीले उद्योग स्थापना गर्न प्लट खरिद गरेर उद्योग निर्माण गर्ने जनाइएको छ । पाँचवटा ब्लक रहेको सेजको अन्य ब्लकमा पनि काम भइरहेको छ । उद्योग तथा कलकारखानालाई आवश्यक सुविधा एकै थलोमा उपलब्ध गराएर निर्यातजन्य उद्योगलाई प्रोत्साहन गर्ने उद्देश्यले एक दशकअघि सेजको अवधारणा ल्याएर निर्माण थालिएको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.