क्यानभासमा हृदयका डोबहरू
काठमाडौं : ‘सार्वजनिक सडकहरू मेरा लागि बन्द छन्। म केवल एक आम मान्छे। मेरो औकात नै के छ र ? तिम्रो बराबरी गर्न कि त म स्यालजस्तै ध्रुत हुनुपर्यो कि कागजस्तै चाप्लुसी गर्न बाठो हुनुपर्यो। बाघजस्तै शक्तिशाली भएको भए पनि काफी हुन्थ्यो। तर, म केवल एक आम मान्छे।
राज्य व्यवस्थाका उही पुराना ढर्राहरू, राणाशासन, राजाशासनदेखि गणतान्त्रिक शासनमा पनि मेरा लागि स्वतन्त्रताका ढोका बन्द छन्। के यो राज्यभित्र मेरा लागि कुनै स्थान छैन ? यो खराब संस्कृतिको निरन्तरता कहिलेसम्म ?’, कलाकार किशोर ज्योतिले एक दिन राष्ट्रपतिको सवारीमा अनुभव गरेको आफूभित्रको एक निरीह जनताको आक्रोश हो यो। यो रिस र आक्रोश पोख्ने कहाँ ? त्यही क्यानभासमा जहाँ उनको हृदय बास बसेको छ।
बबरमहलको आर्ट काउन्सिलमा परम्परागत तथा आधुनिक रूपमा तयार गरिएको चित्रकला शुक्रबारबाट प्रदर्शनीमा आएको छ। देशको समसामायिक विषय, परम्परा, संस्कृति र विसंगत मानव भावलाई कलाकारले आफ्नो चित्रमा उतारेका छन्। रोशन प्रधान, पासाङ (मंगोलपुत्र), प्रद्युम्न श्रेष्ठ, लिशा गैरे, किशोर ज्योति, रुद्रबहादुर पुन र माला श्रेष्ठका कला समेटिएको प्रदर्शनीले अवलोकन कर्तालाई मन्त्रमुग्ध बनाइरहेको छ।
मानव जीवनलाई एक संघर्षको पात्र ठान्छन् कलाकार रोशन प्रधान। कसरी मानव उत्साह हरेक अप्ठ्यारालाई छिचोलेर एक दिन उदाइछाड्छ भन्ने उनको खोज छ। उनका चित्रहरूले यही विषय खोज्छन्। प्रकृतिको महानता र वास्तविक ज्ञान उजागर हुन नसकेका मानव आत्माहरू प्रधानका चित्रमा प्रतिविम्बित छन्। २० वर्षभन्दा लामो चित्रकारितामा उनका रङहरू उनका दबिएका मनहरूको अनुभव हो।
चित्रमा दबिएका मनमात्र छैनन्। दबिएका कला र संस्कृतिका विम्ब पनि छन् जसलाई कलाकार प्रद्युम्न श्रेष्ठले आफ्नो क्यानभासमा उतारेका छन्। काठमाडौंका मठमन्दिर र यहाँको सांस्कृतिक धरोहर जताततै भत्किएका छन्। कालो बादलले घेरिएका छन्। श्रेष्ठका हातबाट यस्तो सहरको चित्र कोरिएको छ जहाँ घायल धरोहर हुँकार लगाउँछन्, आफ्नै एक्लो दुनियाँमा।
क्यानभासले केवल भौतिक धरोहर मात्र देखाउँदैन। हाम्रा आत्माका देवता पनि प्रकट गराउँछन्। कहिले कही लिखित स्वतन्त्रताभन्दा हृदयका स्वतन्त्रताले गला फाट्ने गरी चिच्याउँछ। शरीरबाट बाहिर निस्कन खोज्छन्। मुक्ति रोज्न खोज्छन्। आफ्नो चित्रमा यस्तै भाव समेट्ने चित्रकार लिशा गैरे। उनी छोटो समयमा नै कलाको गहिराइमा पुगेर मोती टिप्दै आज क्यानभासमा तिनका चमक फ्याल्दैछिन्। माला श्रेष्ठ प्रधान अर्की कलाकार जसले शान्ति र बुद्धत्वको महत्व चित्रबाट प्रस्फुटन गरिरहेकी छन्। चित्रबाट खुसीका पल साटासाट गर्ने पासाङ (मंगोलपुत्र) आफू हुनुको अस्तित्व अनुभव गर्छन् र क्यानभासमा अनेक रङले ती अनुभूति पोतिदिन्छन्।
आधुनिकता खोज्दै हिँडेको नेपाली समाजमा मौलिकताको खोजी गर्ने मंगोलपुत्रलाई थाहा छ क्यानभासमा हृदयका डोबहरू हुन्छन्। यता मौलिकताको खोजी गर्दै अर्का कलाकार रुद्रबहादुर पुन पहाडका गाउँगाउँ पस्छन्। त्यहाँको जीवन र संस्कृतिमा डुबुल्की मार्छन् र फेरि क्यानभासतिर फर्कन्छन्, जिउँदै अनि दुरुस्तै। प्यागोडा समूहले चैत १६ देखि २१ गतेसम्म प्रदर्शनीमा ल्याएको उक्त चित्रकला प्रदर्शनी प्रत्येक दिन बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने आयोजकले जनाएको छ।