मिथिलामा झुमे सुदूरपश्चीमेली कलाकार
जनकपुरधाम : जनकपुरको जानकी मन्दिरमा मंगलबार सुदूरपश्चीमेली रंग छाएको थियो। मैथिली र सुदूरपश्चीमेली कलासंस्कृतिको प्रदर्शनले दर्शकलाई रोमाञ्चित बनाएको थियो।
सुदूरपश्चिम साहित्य समाज, कैलालीद्धारा आयोजना गरिएको साहित्य, सांस्कृतिक तथा पर्यटकीय देश दर्शन अभियानअन्तर्गत जनकपुरमा प्रर्दशनीहरु गरियो। वीरताको प्रतिकको रुपमा रहेको भुवो, शत्रुलाई पराजित गर्ने छलिया नृत्य, हुड्को बजाएर प्रस्तुत गरिने हुड्कौली नृत्य, गौरा पर्व, राना थारुको होरी र डमौरा थारु जातिको सखिया नृत्य तथा कर्णालीको प्रसिद्ध देउडा र राईझुमाको प्रस्तुति देखे पछि दर्शकहरु झुम्मिएका थिए।
कर्णालीको प्रसिद्ध देउडा खेलमा धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु र राजनीतिकर्मी सहभागी भएका थिए। सुदूरपश्चीमेली प्रस्तुतिको माझ केही मैथिली कलासंस्कृति झल्किने गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो।
जानकी मन्दिरमा देउडा खेल्दै सुदूरपश्चिमका कलाकार। तस्बिर : मनिका झा
धनगढीबाट ४४ जना कलाकारको टोलीसहित निस्केको समूह, धनगढी, अत्तरीया, कावासोती, चितवन, पोखरा, काठमाडौंहुँदै जनकपुर आइपुगेको अभियानका संयोजक तथा राईझुमा गीतका गायक तथा सर्जक यज्ञराज उपाध्यायले बताए।
समाजका अध्यक्ष तथा मदन पुरस्कार विजेता रामलाल जोशीले विविधतालाई जोड्ने एउटा मात्र चिज कला संस्कृति, साहित्य र संगीत रहेको बताए। उनले भने, भूगोल, जाति, क्षेत्रले जोड्न नसकेकालाई पनि कलासंस्कृतले जोड्ने गर्दछ। हामी संगीतमार्फत जोडिएका छौं, संस्कृति मार्फत जोडिएका छौं र हाम्रा मनहरु कहिकतै टुटेफुटेका छन् भने त्यसलाई जोड्न हामी निस्केका छौं जोशीले भने।
पश्चिम महाकालीको पानी घडामा भरेर हामी मेचीमा बिसर्जन गर्न आएका छौं, जोशीले भने 'सप्तकोशीमा मिसाऔं, सप्तगण्डकीमा मिसाऔं, कर्णालीमा मिसाऔं र अब मेचीमा गएर बिसर्जन गरौं। जनकपुरमा कार्यक्रमको संयोजन गरेका साहित्यकार डा. विजय दक्तले यस्ता कार्यक्रमले देशलाई सांस्कृतिकरुपमा एक गर्न निकै सहयोग गर्ने बताए।
जानकी मन्दिरमा गाैरा प्रर्दशन गर्दै कलाकार। तस्बिर : मनिका झा