रेडियो नेपालको ६८ औं वार्षिकोत्सवमा दाहाल यज्ञनिधि सम्मानित
काठमाडौं : रेडियो नेपालको ६८ औँ वार्षिकोत्सवको अवसरमा साहित्यकार तथा लोकप्रिय रेडियो उद्घोषक दाहाल यज्ञनिधि सम्मानित भएका छन्। मंगलबार रेडियो नेपालको केन्द्रीय स्टुडियो सिंहदरबारमा आयोजित कार्यक्रममा स्रष्टा सम्मानतर्फ यज्ञनिधि सम्मानित भएका हुन्।
त्यस्तै स्रष्टा सम्मानतर्फ संगीतकार गणेश परियारसमेत सम्मानित भएका छन्। यज्ञनिधि र परियारलाई रेडियो ५१ हजार नगदसहित कदरपत्र प्रदान गरिएको छ। वार्षिकोत्सवको अवसरमा रेडियो नेपालका नौ जना पूर्व कार्यकारी निर्देशक समेत सम्मानित भएका छन्।
त्यसैगरी रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी आधुनिक गीत, संगीत प्रतियोगिता, कविता प्रतियोगिता, वक्तत्वकला, खेलकुदलगायत प्रतियोगिताका विजेतालाई समेत पुरस्कार प्रदान गरिएको छ।
वार्षिकोत्सवमा बोल्दै सञ्चार तथा सूूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बदलिँदो स्थितिमा रेडियो नेपाललाई कलात्मक र प्रतिस्पर्धी बनाई नयाँ आयाम दिन आग्रह आग्रह गरे।
राज्यमन्त्री बाँस्कोटाले सबैलाई समेटेर जनभावनालाई जोड्ने क्षमता रेडियोसँग भएकाले यसको विकासका लागि सरकारको साथ रहने बताए। उनले मुलुुकको राष्ट्रिय एकता, महत्वपूर्ण घटनाक्रम, लोकतन्त्रको संस्थागत विकाससँगै लोकतन्त्रलाई जनस्तरसम्म फैलाउन रेडियो नेपालको अग्रणी भूमिका रहेको पनि स्मरण समेत गरे।
मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले रेडियो नेपालको संस्थागत सुधारतर्फ मन्त्रालय सदैव सहयोगी हुने बताएका छन्। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले संघीयताअनुरुप रेडियो नेपालले पाँचवटा प्रादेशिक प्रसारण केन्द्र सञ्चालन गरिसकेको र दुईवटा प्रदेशमा प्रसारण केन्द्र निर्माण गरिरहेको जानकारी दिए। रासस