बनेपा-धुलिखेल रुटमा साझासहित पाँच कम्पनीलाई इजाजत
काठमाडौँः सिन्डिकेटको आडमा केही व्यवसायीहरुले कोटेश्वर पूर्वको यातायात सञ्चालमा बाधा गरेपछि सरकारले पञ्जीकरण भएर आएका पाँचवटा कम्पनीलाई त्यस रुटमा अस्थायी इजाजत (पटके) दिएको छ ।
यातायात व्यवस्था विभागले सिन्डिकेट तोड्नकै लागि सरकारको समेत लगानी रहेको साझा यातायातसहित ५ वटा कम्पनीलाई अस्थायी रुट इजाजत दिएको हो ।
मयुर यातायात प्रालिले बनेपा-धुलिखेलसम्म सुविधायुक्त ठुला बस चलाएपछि नेपाल यातायात व्यवसायी महासंघकै संरक्षणमा यस रुटमा चलिरहेका ११ कम्पनीले सडकमा अवरोध गरेका थिए । सिन्डिकेट पक्षधरले मयुरका केही बस तोडफोडसमेत गर्दै यातायात ठप्प बनाएका थिए ।
रुट इजाजत पाउनेहरुमा काठमाडौँमा उपत्यका र आसपासमा गुड्ने साझा यातायात, मेट्रो सिटी, शिवदर्शन यातायात, अन्नपूर्ण यातायात, मयूर र मध्यउपत्यका बस प्रालि सेवा रहेका छन् ।
रुट इजाजत पाएकाहरुलाई सरकारले बुधबारदेखि अरनिको राजमार्गस्थित कोटेवश्वर पूर्व बनेपा–धुलिखेलसम्म सार्वजनिक यातायातका साधन सञ्चालन गर्न अस्थायी अनुमित दिएको छ ।
पढ्नुस्: सिन्डिकेट तोड्न बनेपा-धुलिखेल रुटमा साझादेखि मेट्रोसम्म
यो रुटमा सार्वजनिक सवारी सञ्चालन गरिरहेका ११ कम्पनीसम्वद्ध व्यवसायीहरुले बस नचलाएपछि यात्रुले सास्ती पाएका थिए । अन्य कम्पनीले गाडी थन्क्याएपछि यो रुटमा अहिले भक्तपुरस्थित मध्यउपत्यका बस प्रालिले मात्रै सार्वजनिक सवारी चलाइरहेको छ ।
सरकारले ग्रामीण रुटमा जान अटेर गरेर यातायात ठप्प पारेका व्यवसायीहरुको रुट इजाजत पनि खारेज प्रक्रिया अघि बढाएको छ । यातायात व्यवस्था विभागले स्थानीय प्रशासनलाई गाडी नचलाउने व्यवसायीको लगत संकलन गर्न निर्देशन दिइसकेको छ । लगत आउनासाथ ती व्यसायीको रुट इजाजत खारेज गरिने विभागका महानिर्देशक रुपनारायण भट्टराई बताए ।
‘आजै लगत आएमा गाडी नचलाउने व्यवसायीहरुको बेलुकासम्ममा रुट इजाजत खारेज गरिदिन्छु’, उनले भने, ‘लगत ढिला आएमा गाडी रोक्ने व्यवसायीको भोलि रुट खारेज हुन्छ ।’
पढ्नुस्: सडकमा सिन्डिकेट राजः मयूरका बस फुटाइयो, यात्रु अलपत्र
अत्यावश्यक सेवा ऐन विपरित सार्वजनिक सवारीमा अवरोध गरेपछि सरकारले बाध्य भएर उपत्यकामा सञ्चालित कम्पनीलाई रुट इजाजत दिनुपरेको भट्टराईले बताए ।
‘आज एक दिन गाउँमा जाने यात्रुले सास्ती पाए पनि भोलिबाट त्यसको पनि समाधान हुन्छ’, उनले भने, ‘सुविधायुक्त बसलाई स्थानीयले पनि सञ्चालनमा सहयोग र सुरक्षा दिनुपर्छ ।’