लागूऔषधको थलो बन्दै रोल्पा
(लिबाङ) रोल्पा : रोल्पाको उत्तरी भेगमा लुकिछिपी लागूऔषध चरेस उत्पादन गरिंदै आएको छ। पक्राउ पर्ने अधिकांश चरेस ओसारपसारमा संलग्नले उत्तरी थबाङ, मिरुल, उवा, कुरेली, सेरमलगायतका स्थानबाट चरेस खरिद गरेको बताएपछि उक्त कुरा पुष्टि भएको हो।
चैत्र १९ गते पश्चिमी माडीगाउँपालिका–२ घर्तीगाउँमा चरेससहित एक महिला पक्राउ परिन्। थबाङबाट दाङको घोराहीतर्फ जाँदै गरेको यात्रुबहाक बसमा लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेससहित रामप्यारी झाँक्रीलाई पक्राउ गरेको थियो। उनले थबाङबाट चरेस ल्याएकी हुन्।
ना ३ ख ५६४४ नम्बरको बस जाँच गर्दा प्लाष्टिकमा लुकाई राखिएको आठ किलोग्राम चरेस फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। उनका अनुसार सहिदमार्ग खण्डमा पर्ने घर्तीगाउँमा इलाका प्रहरी कार्यालयको चेकपोष्टमा बस जाँच गर्दा चरेसको पोको फेला परेको थियो।
झोलामा प्लाष्टिक पोकोभित्र शंकास्पद सामान देखेपछि प्रहरीले झोलाधनीलाई बोलाएको थियो। थबाङ गाउँपालिका–५ ठूलोगाउँकी ३८ वर्षीय झाँक्रीले झोला आफ्नो भएको बताएपछि उनलाई पक्राउ गरिएको हो।
माघ १४ गते घर्तीगाउँबाटै दुईयुवा पचास किलो ग्राम चरेससहित पक्राउ परेका थिए। थबाङ गाउँपालिका–३ लाटाबाङ वस्ने २२ वर्षीय शेरबहादुर बुढामगर र २२ वर्षकै प्रश्न बुढामगर पचास किलो चरेस सहित पक्राउ परेका थिए।
बोरामा लुकाईछिपाई राखेको अवस्थामा चरेशसहित उनीहरुलाई पक्राउ गरिएको थियो। मिरुलबाट उनीहरुले चरेस दाङतर्फ लैजाँदै थिए। पक्राउ परेका दुई युवकमाथि अनुसन्धा जारी छ।
चैत्र ३ गते राती रोल्पा नगरपालिका–९ ह्वामा घर भएकी ४१ वर्षीय शर्मा विश्वकर्र्मालाई पनि प्रहरीले चरेससहित पक्राउ गरेको जनाएको छ। जिल्लाको सदरमुकाम लिबाङ चिउरीबोट टोलबाट प्रहरीले पक्राउ गरेको थियो। उनको साथबाट २ किलो सात सय ग्राम चरेस फेला परेको हो। ति महिलाले बाख्राको खोर नजिकै चरेस लुकाई राखेको अवस्थामा प्रहरीले फेला पारेको जनाएको छ। विश्वकर्मामाथि पनि थप अनुसन्धान जारी छ।
चरेससहित मानिस पक्राउ परेका यी तीन घटनाले जिल्लामा चरेस उत्पादन, बेचविखन र ओसारपसारको संजाल रहेको तथ्यलाई उजागर गरेको छ।पछिल्लो तीन महिनामा चरेस काराबार पक्राउमा प्रहरी सफल बन्दै गएको छ। जिल्लामै चरेस उत्पादन हुन थालेपछि प्रहरीले नियन्त्रणमा उच्च चासो दिएको छ।
उत्तरी रोल्पाबाट हुने चरेसको कारोबार रोक्न प्रहरी सक्रिय वनेपछि ओसारपसारमा संलग्न पक्राउ पर्न थालेका छन्। 'चरेस उत्पादन, बेचविखन र ओसारपसार नियन्त्रणमा प्रहरीले कडाई गर्दै आएको छ।' जिल्ला प्रहरी प्रमुख ज्ञानेन्द्र फुयाँल भन्छन्, 'लागूऔषध कारोबार गैरकानूनी भएकाले कानून सम्मत नियन्त्रणमा पहल जारी छ।'