हराइरहेकी महिलाको शव बोरामा भेटियो
बर्दिबासः तीन दिनअघि घरबाट हराइरहेकी महोत्तरीकी एक महिलाको हत्या गरेर बोरामा फालिएको अवस्थामा शव फेला परेको छ ।
महोत्तरीको मटिहानी नगरपालिका–४ को सडक किनारको खाल्टोमा मटिहानी नगरपालिकाकै–२ बरदाहाकी २५ वर्षीया पुनमदेवी दास तत्तमाको हत्यापछि शव बोरामा फालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी नवोरत्न पौडेलले जनाए ।
पुनमको घाँटी थिचेर हत्या गरी फालिएको प्रहरीले बताएको छ । उनको शव सेतो कपडाले बेरेर बोरामा बाँधेर खाल्डोमा फालिएको हो ।
धिरापुर प्रहरी चौकीका ईन्चार्ज जयकिशोर महतो र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट इन्सपेक्टर केदार बस्नेत कमाण्डको टोलीले वुधबार विहान शवको मुचुल्का गरी शव बोराबाट निकालेका थिए ।
घटनास्थल पुगेका इन्सपेक्टर बस्नेतले जनाए अनुसार शवको प्रकृति हेर्दा कुटपिट गरेर घाँटी कसेर हत्या गरेको देखिन्छ । मृतक पुनमको शरीरभरि कुटपिटको घाउ देखिएको छ ।
चैत्र १८ गते आइतबारदेखि नै घरवाट पुनम हराएकी थिइन् । मंगलबार साँझ बोरामा कोचेर फालिएको अवस्थामा उनको शव फेला परेपछि बरदाहा गाउँमा अहिले त्रास फैलिएको छ ।