सिन्डिकेटको सकसः मुख्यमन्त्रीको गाउँ हिँडेको बस रोकेर यात्रुलाई झारियो
धरान: सरकार सिन्डिकेटबिरुद्ध कडारुपमा प्रस्तुत भइरहँदा धरानमा भने व्यवसायीले पहाडी जिल्ला भोजपुर हिँडेका यात्रुलाई बसबाट निकालिदिएका छन् ।
धरानका यातायात व्यवसायीले झापा, मोरङसहितका जिल्लाबाट पहाड हिँडेका बसलाई अबरोध गर्न थालेपछि दैनिक सयौँ यात्रु बाटैमा अलपत्र पर्ने गरेका छन् । व्यवसायीले सिन्डिकेट लगाएर सार्वजनिक सवारी रोक्दा ट्राफिक प्रहरी भने रमिते बन्ने गरेको छ ।
बुधवार झापाको काकडभिट्टादेखि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भोजपुर हिँडेको मे १ ख २११० नम्बरको मुनाल डिलक्स यात्रु बसलाई व्यवसायीले ट्राफिक प्रहरी कार्यालय धरान अगाडि रोके । बस रोकेर यात्रुलाई जबरजस्ती ओराल्दा ट्राफिक प्रहरीले समेत सघाए ।
काँकडभिट्टाबाट १५ जना यात्रु बोकेर भोजपुर जाँदै गरेको बसबाट यात्रु झारिरहँदा प्रहरीले सुरक्षा नदिई उल्टै सिन्डिकेटवाला व्यवसायीलाई सघाएको बसका कन्डक्टर राजु श्रेष्ठले बताए ।
उनले व्यवसायीले अबरोध गरेपछि असुरक्षा महसुस गरी यात्रुलाई बीचबाटैमा छाडेर बसलाई फर्काउनु परेको गुनासो गरेका छन् ।
धरानमा कोसी बस व्यवसायी संघ, पूर्वाञ्चल बस व्यवसायी संघ, सप्तकोसी बस व्यवसायी संघ, संयुक्त बस व्यवसायी संघले सिन्डिकेटको नेतृत्व गर्दै आएका छन् । बुधबार नन्दु लम्साल, हरि थापा र नेत्र थापासहितका व्यवसायीले मुनाल यातायातमा चढेका यात्रुलाई जबरजस्ती ओरालेका थिए ।
नाबालक बोकेका महिला र वृद्धवृद्धालाई जबरजस्ती बसबाट झारेपछि यात्रुमा रुवाबासी भएको थियो । एक बर्षे नाबालक छोरा च्यापेर बसबाट ओर्लँदै गरेकी भोजुपरकी सृजना राईले रुँदै सिन्डिकेटले साह्रै दुःख दिएको बताइन् । ‘गणतन्त्र आएपछि त देशमा शान्ति फक्र्याे भनेका थियौं, तर अझै देशमा गुण्डागर्दीको राज चलिरहेको रहेछ’, उनले रुँदै भनिन् ।
सिर्जनाले सार्वजनिक यातायातका साधननमा सिन्डिकेट लगाउने व्यवसायीलाई कडा कारवाही गर्न माग गरेकी छन् । मुनाल यातायातका सञ्चालक केशव शाहले व्यवसायीले निर्वाधरुपमा सिन्डिकेट चलाइरहँदा समेत प्रहरी प्रशासन मुकदर्शक बनी गुण्डागर्दीको संरक्षण गरेको आरोप लगाए ।
यसअघि पनि काँकडभिट्टाबाट मात्री भाग्यरेखा ट्राभल्सको बस वसन्तपुर जाने क्रममा यात्रु चढाएको बहानामा धरानका व्यबसायीले चोकचोकमा बस तेर्साएर सडक अवरुद्ध पारेका थिए ।
यातायातव्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदीले झापाका व्यवसायीहरुले धरानका व्यवसायीसँग सहकार्य नगरी बस सञ्चालन गरेकाले धरानमा रोक्नु परेको बताए ।
उनले दुवै क्षेत्रका व्यवसायीहरुको समझदारीमा बस सञ्चालन गर्ने वातावरण मिलाउने बताए । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले यातायातका साधन सञ्चालनमा सिन्डिकेट प्रथा हटाइसकिएकाले अवारधे गरिए कारबाही गरिने जवाफ दिए ।