सर्वनाममा नाटककाे वर्षा
काठमाडौं : ‘मैले नै मारेको हुँ तिनीहरूलाई, मैले नै मारेको हो पुलिस दाइ तिनीहरूलाई’, आफ्नी पत्नी बलात्कार गर्नेहरूको हत्या गरी जेल गएको एक व्यक्ति जेलको फलामे डन्डीमा आड लागेर आफू अपराधी भएको स्वीकार गर्दैछ । तर, ऊ पश्चाताप गर्दैन । अशेष मल्लको निर्देशन तथा राज शाहको कला निर्देशन रहेको ‘अतिरिक्त आकाश’ को दृश्यले दर्शकलाई मौन बनाउँछ । अभिनीत मल्लले २० मिनेटसम्म दर्शकलाई हलचल नगराई बाँघेर राख्छन् । ‘शान्तिलाई शान्तिजस्तै नीलो रङ मन पर्छ । गाढा नीलो ।’ कथामा प्रस्तुत गरिएको यो संवादले अतिरिक्त आकाशलाई पूर्णता दिन्छ । ३५ वर्षअघि लेखिएको यो नाटक आज पनि निकै सान्दर्भिक लाग्छ ।
अन्तर्राष्ट्रिय एकल रंगमञ्च महोत्सवका अवसरमा सर्वनाममा नाटकको वर्ष भइरहेको छ । सोमबार नै लन्डनबाट आएका माइकल उडउडको निर्देशन रहेको ‘द कोट’ मञ्चन भयो । यो नाटकले पेरिसको एक पसलमा किनिएको कोटले अमेरिका हुँदै युरोपसम्मको यात्रा तय गर्छ । उक्त नाटक १४ दिनको पूर्वाभ्यासपछि तयार भएको नाटकका निर्देशक उडउडले बताए । त्यस्तै, नाटक ‘जम्प’ मा एक युवाले आफ्नो ऊर्जाशील दिनमा कस्ताकस्ता कल्पना बुन्छ भन्ने विषय प्रस्तुत गरेको छ ।
२०३८ चैत १८ गते आफ्नो रंगयात्रा थालनी गरेको सर्वनाम ३६औं वर्षमा टेक्दै गर्दा थिएटरले पहिलो पटक ‘अन्तर्राष्ट्रिय एकल नाटक महोत्सव’ को आयोजना गरेको हो । नाटकका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउन लागिपरेका सर्वनाम थिएटरका निर्देशक तथा रंगकर्मी अशेष मल्लले नाटकघरको निरन्तरतामा गर्व गरे । साथै नयाँ पुस्ताको काँधमा यसलाई डो¥याउने जिम्मेवारी आएको बताए । ‘शान्तिलाई शान्तिको जस्तै रङ मनपर्छ’ भन्ने संवाद सबै देशका नाट्यकर्मीलाई एकैचोटि वाचन गर्न लगाएर कार्यक्रमको उद्घाटन गरिएको थियो ।
चार दिनसम्म चल्ने उक्त महोत्सवमा भारत, चीन, बेलायत, हङकङ र बंगलादेशका नाट्यकर्मीका नाटकहरू देखाइने नाट्यकर्मी राज शाहले बताए । महोत्सवको पहिलो दिन सोमबार नेपालका तर्फबाट अशेष मल्लको लेखन र निर्देशन रहेको अतिरिक्त आकाश, लन्डनका माइकल उडउडको निर्देशन रहेको द कोट र चाइनाका कलाकार तथा निर्देशक झो चुवानको जम्प मञ्चन भए ।
मंगलबार भारतका निर्देशक सुबेन्दु भण्डारीको इलादी, बंगलादेशका निर्देशक साम्युन जहन डोलाको स्यानिटर ह्याट (बल्र्ड ह्यान्ड), स्कटल्यान्डका निर्देशक एलन लिडिएर्डको द चिएर वेर मुभ्ड टु गिब मी प्यासेज, पेरिस र नेपालको संयुक्त प्रस्तुतिमा निर्देशक म्याक्सिमको प्रफर्मेन्स विथ माक्स मञ्चन भएको छ । बुधबार भने भारतबाट रिबोटी, इबोटी, सेबोटी, हङकङबाट डिजाएर, नेदरल्यान्डबाट सेपुकुः द एन्जलस् आर ब्याक, हङकङबाट प्ल्यस मि सफ्ट्ली अन द होरिजन, सिटी फ्लेस, नेपालबाट अर्को नाटक कथासर, फिफ्टी इयर रिमेनिङ अनचेन्जन्ड नाटक मञ्चन हुँदैछ । तीन दिनसम्म चल्ने एकल नाटक प्रस्तुतिमा नेपाललगायत विभिन्न देशका १४ एकल नाटक मञ्चनका लागि छनोट गरिएको छ ।