सात बुँदे घोषणापत्र जारी गर्दै ऊर्जा मञ्चको बैठक सम्पन्न
काठमाडौं : थाइल्याण्डको बैंककमा बुधबारदेखि चलिरहेको एसियन तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चको दोस्रो बैठकले सात बुँदे घोषणापत्र जारी गरेको छ ।
उर्जामन्त्री वर्षमान पुनसहित विभिन्न देशका मन्त्री, सरकारी निकायका प्रतिनिधि तथा सरोकारवाला सम्मिलित मञ्चको बैठक दिगो विकासका लक्ष्य पूरा गर्ने विषयलाई मुख्य प्राथमिकतामा राख्दै बिहिबार सकिएको छ ।
बैंककस्थित नेपाली दूतावासले एक प्रेस विज्ञप्ती जारी गर्दै बैठकले जारी गरेको घोषणापत्रमा दिगो विकासका लक्ष्य पूरा गर्ने, ऊर्जा संक्रमण अन्त्य गर्न उच्च प्राथमिकता दिने, ऊर्जा आपूर्ति वृद्धि तथा क्षेत्रीय पहुँच विस्तारमा प्रोत्साहन गर्ने लगायतका सात बुँदा समावेश भएको जनाएको छ ।
उर्जामन्त्री पुनले बैंकक, म्यानमार र पाकिस्तानका ऊर्जा तथा जलस्रोत मन्त्रीसँग क्षेत्रीय ऊर्जा विकासबारे छुट्टाछुट्टै छलफल गरेका थिए । दोस्रो एसिया तथा प्रशान्त क्षेत्रीय ऊर्जा मञ्चलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालमा स्थायित्व र विकासको युग सुरु भएको भन्दै विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले चीन र बंगलादेशसँग द्विपक्षीय विद्युत व्यापार तथा समन्वय प्रक्रिया सुरु भएको बताए । मन्त्री पुनले उर्जा तथा विद्युतको क्षेत्रमा चीनसहित सार्क र विमस्टेक स्तरमा क्षेत्रीय सहकार्य हुनुपर्नेमा जोड दिए ।