जटिल बनाइ नराख

जटिल बनाइ नराख

प्रधानमन्त्री केपी शर्मा ओलीको तीनदिने भारत भ्रमण आजदेखि हुँदैछ। प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर विभिन्न कोणबाट बहस, छलफलसमेत भएका छन्। उनको यो भ्रमणलाई सद्भाव भ्रमण भनिएको छ। यो भ्रमण सम्बन्धका जटिलता चिर्ने र सरल सम्बन्धको रेखाचित्र कोर्ने उचित अवसर हुनसक्छ। यो भ्रमण विगतका भन्दा धेरै अर्थमा फरक छ। वर्तमान प्रधानमन्त्री नयाँ संविधानअनुरूप निर्वाचनबाट निर्माण भएको स्थिर र बलियो सरकारको प्रतिबिम्ब हुन्। यो भ्रमणका दुई अर्थ छन्ः संविधानको स्वीकारोक्ति र सम्बन्धको नयाँ आयाम।

संविधानको स्वीकारोक्ति नेपाल-भारत सम्बन्धमा हालका लागि प्रमुख महत्वको विषय हो। संविधान जारी हुँदै गर्दा भारतले असहमति प्रकट गर्दै नाकाबन्दी लगाएको थियो। नेपालस्थित भारतीय दूतावासले संविधान जारी भएकोलाई स्वागतको साटो ‘नोट गरेको’ विज्ञप्ति सार्वजनिक गरेर भारतलाई घनिष्ट मित्र मान्ने नेपाली जनमानसको मनमा तीक्तता सिर्जना गरिदिएको थियो। त्यसैबीचमा प्रधानमन्त्री भएका ओलीले नाकाबन्दीको सामना एक राष्ट्रवादी नेताको हिसाबले गरे, जसलाई भारतीय पक्षबाट अनुदार अनुहारका रूपमा प्रतिबिम्बन गर्ने प्रयास गरेको लुकेको विषय होइन।

उनलाई अहिले स्वागत गर्नु एकातिर संविधानप्रति स्वीकारोक्ति जनाउनु हो भने स्वंय व्यक्तिसँगै सम्बन्ध सुधार गर्नु पनि हो। अन्तर्राष्ट्रिय राजनीतिमा नेतृत्व तहमा प्रत्यक्ष सम्बन्ध स्थापित हुनु र व्यक्तिगत सम्बन्ध बलियो बन्नु जरुरी ठानिन्छ। शीतयुद्धको समयमा समेत ‘क्युवाली मिसाइल संकट’ पछि केनेडी र ख्रुस्चेभबीच हटलाइन वार्ता सुरु भएबाट व्यक्तिगत सम्बन्धको आवश्यकता उजागर हुन्छ।

त्यस्तै, नेपाल-भारत सम्बन्धमा नयाँ आयामको सुरुवातका निम्ति पनि यो भ्रमण महत्वपूर्ण छ। नयाँ आयाम भन्ने शब्दावली सटिक र स्पष्ट परिभाषाको माग गर्दछ। पछिल्लो दुई दशकदेखि नेपालमा भएका राजनीतिक घटनाक्रममा भारतको भूमिका तथा संक्रमणकालमा उसको उपस्थिति र बदलिइरहने नेपाली सरकारहरूको भूमिकाको सन्दर्भमा नयाँ आयामले आन्तरिक मामिलामा चलखेलको अन्त्यको माग गर्दछ। दुवै देशको समान सार्वभौमिकता, स्वतन्त्रता, अक्षुण्णताको सुनिश्चितता दाबी गर्दछ।

नयाँ आयामको अर्को परिभाषा नेपालको तटस्थता नीतिसँग जोडिन पुग्छ। अलगाववाद (आइसोलेसनिज्म) बाट तटस्थतामा प्रवेश गरेको नेपालको विदेश नीतिमा तटस्थता सधैंभरि अमूर्त बनेको साँचो हो। तटस्थतामा पनि एकतर्फी झुकाव रहेको खुला सिमाना, व्यापार घाटा, विवादित सन्धि र लाग्ने आक्षेपले पुष्टि गर्दछन्। यो एकतर्फी झुकावयुक्त तटस्थताको अन्त्य पनि सम्बन्धको नयाँ आयामको अर्को महत्वपूर्ण कोण हुन जरुरी छ। यो किन पनि जरुरी छ भने सरकारले विकास र समृद्धिको नारा तय गरेको छ।

असन्तुलित सम्बन्ध र भारी मात्राको व्यापार घाटाले त्यो उद्देश्य पूरा हुन सक्दैन। एक सार्वभौम देशले तुलनात्मक लाभका क्षेत्रहरूको पहिचान गरेर जुन देशसँग सम्बन्ध विस्तारमा लाभ हुन्छ, त्यसैसँग सम्बन्ध बढाउँछ। कुनै देशसँग सम्बन्ध विस्तार गर्दा अर्को देशका चासोका क्षेत्र नमिचियून् भनी देखाउनु नै तटस्थता हो।

सम्बन्धको नयाँ आयामका यी दुई कोण विस्तार गर्न प्रधानमन्त्रीले यो भ्रमणलाई फलदायी साबित गर्न सक्छन्। त्यसका लागि सबैभन्दा पहिला उनले नेपाल-भारत सम्बन्धमा जटिलता रहेको मिथकलाई फेर्न जरुरी छ। इतिहासदेखि नै निकटता, घनिष्टता रहेको, जनतादेखि जनतासम्म सम्बन्ध सुदृढ रहेका देशहरूबीचको सम्बन्ध जटिल हुनु अस्वाभाविक हो। जटिलताको अन्त्य प्रभावकारी संवादले सुनिश्चित गर्न सक्छ। त्यसका लागि प्रधानमन्त्री ओलीले नेपालका चासोका क्षेत्र स्पष्ट पार्नुपर्छ। समकक्षीसँग उनका चासोका क्षेत्रबारे जानकारी लिनुपर्छ। जटिलताको अन्त्यले मात्र सम्बन्धमा नयाँ आयामको सुरुवात गर्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.