फुटबल हस्तीका कुकुरमोह

फुटबल हस्तीका कुकुरमोह

 

फुटबलका स्टार खेलाडीलाई चाहने विश्वभर धेरै छन्। आफूलाई मन पर्ने फुटबलरको नामको ट्याटु बनाउनेदेखि उनीहरूकै जस्तै जीवनशैली अपनाउन खोज्ने पनि उत्तिकै छन्। तर फुटबलरका भने आआफ्नै रुचि छन्। अहिले चर्चामा रहेका यस्ता धेरै फुटबलर छन्, जो कुकुरसँग रमाउँछन् र उनीहरूलाई कुकुरसँगको मित्रता प्यारो लाग्छ।

कुकुरलाई इमानदार प्राणी मानिन्छ। मालिकप्रति सदा बफादार रहने यो इमानदार प्राणीप्रति विश्वका चर्चित फुटबल स्टार मोहित हुने गरेका छन्। उनीहरूले सानसौकतका लागि पनि संसारमै महँगो कहलिएका कुकुर पाल्ने गरेका छन्। अर्जेन्टिना तथा स्पेनिस क्लब बार्सिलोनाका सुपरस्टार लियोनल मेसीदेखि टोट्टनहामका ह्यारी केनसम्मले सामाजिक सञ्जालमा बेलाबेला मानिसको प्रिय साथी कुकुरसँगको तस्बिर राख्ने गरेका छन्। उनीहरूले घरको बेडरुमदेखि समुद्री तटमा कुकुरसँग रमाइलो गरेको तस्बिर बेलाबेला भाइरल हुने गरेको छ।

लियोनल मेसी

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेसीलाई संसारभरका सञ्चारमाध्यमले फलो गरिरहेका हुन्छन्। उनी कहाँ जान्छन्, के के गर्छन् र के खान्छन् भनेर ‘स्कुप’ मार्न मिडियाकर्मीले पछ्याइरहन्छन्। विश्व फुटबलका महानतम् खेलाडी मेसी जनावरप्रेमी हुन्। त्यही कारण उनी प्रेमिका एन्टोनेल्ला रोकुज्जोले सन् २०१६ को सुरुआतमा एउटा विशेष उपहार दिएकी थिइन्। त्यो उपहार थियो, फ्रेन्च मस्टिफ जातको कुकुर। मेसीको तीन सन्तानकी आमा बनिसकेकी रोकुज्जोसँग दुईवटा अन्य कुकुर पनि थिए। तर पनि उनले आफ्नो बाल्यकालदेखिका प्रेमी मेसीलाई फ्रेन्च मस्टिफ जातको कुकुर नै दिइन्।

लामो समय प्रेम र रोमान्स गरेका मेसी र रोकुज्जोले सन् २०१७ मा बिहे गरे। विवाहपछि रोकुज्जोले आफूसँग भएका कुकुर पनि सँगै लिएर आइन्। अहिले मेसीको परिवारसँग तीनवटा कुकुर छन्। संसारकै चर्चित फुटबल स्टार मेसी फुर्सदमा तिनै कुकुरसँग रमाउने गर्छन्। उनले पनि बेलाबेला सामाजिक सञ्जालमा कुकुरसँग खिचेको तस्बिर राख्ने गरेका छन्।

एलेक्सिज सान्चेज

गत वर्ष इङ्लिस क्लब आर्सनलबाट म्यानचेस्टर युनाइटेडमा आबद्ध भएका एलेक्सिज सान्चेजले दुईवटा ठूला कुकुर पालेका छन्। एटम र हम्बर नाम गरेका कुकुरसँग उनी रमाइरहेकै हुन्छन्। त्यसैले २८ वर्षीय चिलीका स्टार स्ट्राइकर बेलाबेलामा कुकुरसँगै सामाजिक सञ्जालमा झुल्किन्छन्। उनले कुकुरसँग फुटबल खेलेको तस्बिर पनि निकै भाइरल भएको थियो।

‘हामीलाई सुन्दर र महान् व्यक्तिले के भनेका छन् भने जनावरहरू स्वयंसेवी आत्मा हुन्। शब्दबिना नै मानिसको इशारामा काम गर्नसक्ने यी प्राणी मानिसले झैं माया दर्शाउन पनि जान्दछ’, चर्चित फुटबल स्टार सान्चेजले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग भने।

मेसुट ओजिल

इङ्लिस क्लब आर्सनलका यी स्टार फुटबलर सानो छँदा कुकरसँग निकै डराउने गर्थे। ‘सानो छँदा मलाई कुकुरदेखि साह्रै डर लाग्थ्यो। कहिल्यै पनि कुकुरको नजिक पर्दैन थिएँ। तर, जबदेखि कुकुर पाल्न थालेँ, त्यसपछि सधैं कुकुरसँग रमाउने गर्छु। अहिले म कुकुरलाई निकै माया पनि गर्छु’, सञ्चारमाध्यमसँग कुकुर पाल्नुका कारणबारे सोधिएको प्रश्नमा ओजिलले भने।

जर्मनीलाई चार वर्षअघि विश्वकप फुटबलको उपाधि जिताउँदा टोलीका महŒवपूर्ण सदस्य रहेका ओजिलले मानिसको प्रिय प्राणी कुकुरसँग सामीप्यता बढाउन कुकुर पालेको बताए। उनले आफ्नो कुकुरको नाम ‘बल्बोओ’ राखेका छन्। बल्बोआ आर्सनलको फ्यान हो। आर्सनलका प्लेमेकर ओजिलले बल्बोआलाई आफ्नो ११ नम्बर अंकित जर्सी पनि लगाइदिने गरेका छन्। ओजिल बल्बाओसँगै लामो समय ड्राइभिङमा निस्कन्छन्। यसरी निस्कँदा बल्बाओले सघाउने गरेको ओजिलले बताए।

ह्यारी केन

सन् २०१६ मा टोट्टनहाम इङ्लिस प्रिमियर लिगको उपाधि नजिक रह्यो तर सिजनको अधिकांश समय उपाधिको दाबेदार टोट्टनहाम अन्त्यमा भने विमुख हुन पुग्यो। अन्तिम समयमा अर्कै टोलीले ट्रफी उचालेपछि टोट्टनहामका स्टार स्ट्राइकर ह्यारी केन निकै स्तब्ध बने। तर, जब उनले घरमा लाब्राडोर्स जातका आफ्ना दुई कुकुर भेटे त्यसपछि इङ्लिस फुटबलर केनले मैदानको सबै पीडा बिर्सिए। उनीसँग लाब्राडोर्स जातका कालो र सेतो कुकुर छन्, ब्राडी र विल्सन।

उनले रग्बी लिगका चर्चित स्टार टम ब्राडी र नाभोन विल्सनको नामबाट यी कुकुरको नाम जुराएका हुन्। उनी फुर्सद मिल्नासाथ आफ्ना कुकुरलाई घुमाउने गर्छन्। ‘जब म यी दुई कुकुरलाई घुमाउँछु, मलाई निकै आनन्द आउँछ’, इङ्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका केनले भने।

क्रिस स्मलिङ

म्यानचेस्टर युनाइडेका सेन्टर ब्याक क्रिस स्मलिङ पनि कुकुरका सोखिन हुन्। म्यानचेस्टर युनाइटेडको अभ्यास मैदान केरिङटन जानुपूर्व उनलाई कुकुरले एकटकले हेरेको तस्बिर भाइरल भएको थियो। कुकुरसँगै स्मलिङ पनि भावुक देखिएका थिए। स्मलिङले आफ्नो कुकुरको नाम ‘मिले’ राखेका छन्। यस कुकुरले स्मलिङजस्तै सानदार जीवन बिताइरहेको छ। उनकी प्रेमिका तथा मोडल साम कुकले कुकुरलाई रेलको भीआईपी क्लासमा राखेर म्यानचेस्टरबाट लन्डनतर्फ लगिरहेको फोटो पनि भाइरल बनेको थियो।

जेम्स रोड्रिग्वेज

कोलम्बियाका स्टार स्ट्राइकर जेम्स रोड्रिग्वेज जनावरप्रेमी हुन्। उनी घरमा पालिएका कुकुरमात्रै नभएर सडकका कुकरलाई पनि उत्तिकै माया गर्ने गर्छन्। उनले इन्स्टाग्राममा सडकको कुकुरसँग रमाइरहेको तस्बिर सेयर गर्दा हजारौंले रोड्रिग्वेजको जनावरप्रेमको खुलेर प्रशंसा गरेका थिए।

रोड्रिग्वेज सडक र खुला स्थानका कुकुरसँग मात्र रमाउने होइन, उनले घरमा पनि दुईवटा कुकुर पालेका छन्। एउटा कुकर स्पानियल जातको छ भने अर्को फ्रेन्च बुलडग उनीसँग छ।

नेमार

बार्सिलोनाबाट कीर्तिमानी रकममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन पुगेका ब्राजिलका स्टार नेमार पनि कुकुरप्रेमी हुन्। उनले सन् २०१४ मै पोकर नामको कुकुर पालेका थिए। उनले स्पेनमा फुटबल खेल्दै गर्दा सानो कुकुरको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए। एक करोड ५० लाख फलोअर रहेको उनको इन्स्टाग्रामका कुकुरसँगका तस्बिर निकै भाइरल बनेका थिए। त्यसयता उनको घरमा कुकुर छुटेको छैन। स्टार फुटबलर नेमारले कुकुरसँग खेल्दा जीवनका अन्य पीडा भुल्ने गरेको बताउँदै आएका छन्।

मार्सेलो

रियल म्याड्रिडका ब्राजिली डिफेन्डर मार्सेलो पनि कुकुरप्रेमी खेलाडी हुन्। उनले कुकुर लोलासँगको फोटो सामाजिक सञ्जालमा सेयर गरेका छन्। लोला मात्रै नभएर उनले आफ्नो म्याड्रिडस्थित घरमा थुप्रै कुकुर पालेका छन्। ब्राजिलका स्थायी बासिन्दा मार्सेलोसँग फ्रेन्च र ब्रिटिस बुलडग पनि छन्। कालो ‘कर्ली’ कपालका मार्सेलो कालै जातको लोलाको तस्बिर निकै चर्चित बनेको थियो। रियल म्याड्रिडका पूर्वखेलाडी पेपेका अनुसार मार्सेलोले आफ्नो घरमा साथीभाइलाई बोलाउनुअघि आफ्ना कुकुरका विषयमा चर्चा गर्ने गर्थे। साथै उनले आफ्ना साथीलाई पनि कुकुर पाल्न सल्लाह दिने गर्थे।

हेक्टोर बिलेरिन

स्पेनिस क्लब बार्सिलोनाको युथ एकेडेमीका उत्पादन हेक्टर पनि कुकुरलाई औधी मन पराउने खेलाडी हुन्। आर्सनलका युवा डिफेन्डर हेक्टरले आफ्नी गर्लफ्रेन्ड बेर्टा रिक्विनोसँगै कुकुर ओट्टोसँग रमाइरहेको तस्बिर सामाजिक सञ्जालमा राखेका थिए। सानैमा पालेका ओट्टो अहिले ठूलो भइसकेको छ। स्पेन तथा आर्सनलका राइटर ब्याक हेक्टोर आफ्ना कुकुरलाई असाध्यै माया गर्छन्।

यसैगरी वेस्टहामका फुटबलर एन्डी करोल, म्यानचेस्टर युनाइटेडका मेम्मपिस डेपे, स्पेनिस गोलकिपर डेभिड डी जिया, नेदरल्यान्डस्का डेली ब्लाइन्ड, वेल्सका आरोन राम्से लगायतका थुप्रै खेलाडी कुकुरप्रेमी हुन्। उनीहरूले पनि कुकुरसँग रमाइरहेको फोटो सामाजिक सञ्जालमा बेलाबेलामा अपलोड गरिरहेका हुन्छन्।

–एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.