६ महिनादेखि दुई शिक्षिका विद्यालयमा हाजिर नभएको खुलासा
बाजुरा : गौमुल गाउँपालिका १ अन्द्राडीमा रहेको प्रभात आधारभूत विद्यालयमा कार्यरत दुई शिक्षिका ६ महिनादेखि विद्यालयमा अनुपस्थित रहेको खुलेको छ । देवकी शाह र पार्वती शाह कार्तिक २७ गतेदेखि विद्यालयको सम्पर्कमा नरहेको प्रधानाध्यापक भक्तराज गिरीले जानकारी दिए । परीक्षाका लागि बिदा मागेको भएपनि लामो समयसम्म सम्पर्कमा नआएको गिरीको भनाइ छ । ‘हामी परीक्षा दिन जान्छौँ भनेर बिदा लिनुभएको हो’, प्रधानाध्यापक गिरीले भने, ‘तर, हालसम्म विद्यालयको सम्पर्क बाहिर हुनुहुन्छ ।’
विद्यालयमा उपस्थित नभए पनि तलब सुविधा भने लिइरहेका छन् । दुई जना शिक्षक नभएपछि आधारभूत विद्यालय एकजना शिक्षकको भरमा सञ्चालन भइरहेको छ ।सट्टा शिक्षक राखेर बिना हाजिर तलब सुविधा लिने गरेको प्रधानाध्यापक गिरीको भनाइ छ । पठनपाठन कार्य बन्द हुने भएपछि विद्यालय व्यवस्थापन समिति र स्थानीयको पहलमा दुई जनालाई सट्टा शिक्षक राखिएको हो ।
देवकी शाहको सट्टा डवल रोकाया, पार्वती शाहको सट्टा धनकृष्ण रोकायाले अहिले विद्यालयमा काम गरिरहेका छन् । सट्टा शिक्षकले उनीहरुले पाउने सुविधाको आधा रकम पाउने र बाँकी स्वयम् व्यतिmलाई बुझाउने गरेको पाइएको छ । सट्टा शिक्षक राख्न नमिल्ने प्रावधान रहेपनि विद्यालयमा पढाई प्रभावित हुने भएपछि कानुन विपरित काम गर्नुपरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलक रोकायाको भनाइ छ ।
‘हाजिर नभएसम्म तलब नदिने प्रयास गरेका थियौँ । तर, सफल भएनौँ’, प्रधानाध्यापक गिरीले भने । दुवै शिक्षक स्थायी दरबन्दीको परीक्षा दिने भन्दै गएपछि विद्यालयमा उपस्थित नभएका हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँगकै मिलेमतोमा शिक्षक विद्यालयमा उपस्थित नभएको केही अभिभावकले आरोप लगाएका छन् ।
व्यवस्थापन समितिका अध्यक्ष रोकायाले भने आफ्नो कुनै स्वार्थ नभएको बताएका छन् । कक्षा ५ पठनपाठन हुने विद्यालयमा तीन जनाको दरबन्दी छ । विद्यालयमा ४८ जना विद्यार्थी छन् ।