आदिवासी जनजाति पत्रकार महासंघको महाधिवेशन सुरु
काठमाडौं : आदिवासी जनजाति पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाति पत्रकार महासंघको छैटौं संघिय महाधिवेशन काठमाडौंमा शुक्रबार सुरु भएको छ । महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका छन् ।
उपराष्ट्रपति नन्दबहादुर पुनले अनेकतामा एकता विविधतामा एकता भएको देशमा आदिवासी जनजातिको भूमिका महत्वपुर्ण रहेको बताए । समृद्ध नेपाल निर्माणमा मिडिया जिम्मेवार हुने र यसमा फोनिजको झन् ठुलो भूमिका हुने बताउँदै मिडियामा एजेण्डा सहित समावेशिताको पक्षमा लाग्नु पर्ने बताए ।
लोकतन्त्र बलियो भए मिडिया बलियो हुने र मिडिया बलियो भए लोकतन्त्र सुदृढीकरण हुने कुरामा उनको जोड छ । राज्यको चौथो अंग मानिने सञ्चार आवाजविहिनको आवाज, उत्पीडित तथा उपेक्षितको पक्षमा आवाज उठाउनुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकूलप्रसाद बाँस्कोटाले समावेशिता र प्रेसस्वतन्त्रतामा सरकारको कुनै हस्तक्षेप नहुने तर मिडिया हाउस पनि जिम्मेवार बन्नु पर्ने बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले अब कुनैपनि पत्रकारले सेवा, सुविधा र सूचना विभागको कार्ड लिनका लागि काठमाडौं धाउनु पर्ने बाध्यता हट्ने बताए । ५६ जिल्लाबाट चार सय बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागितासहित सुुरु महाधिवेशन शनिबारसम्म चल्ने छ ।
फोनिजमा सूचिकृत ५६ जातिका शेर्पा, तामाङ, गुरुङ, श्रेष्ठ, थारु, मगर, राई, लिम्बु, धामी, लगायत प्रत्रकार सहभागी छन् । त्यस्तै ९८ अल्पसंख्यक जाति भित्रका आदिवासी जनजातिका पत्रकार समेत समेटिएका छन् ।