थलिए पूर्वका हङकङ बजार
बिर्तामोड/दमक : एक दशक अघिसम्म पूर्वको हङकङ बजारको रूपमा परिचित झापाको धुलाबारी बजारमा कपडा र सजावटका सामान किन्न भारतीय चर्चित कालाकारदेखि सर्वसाधारणको भीड लाग्ने गथ्र्यो। नायक र नायिकाको किनमेलको पहिलो रोजाइ हुने गथ्र्याे सीमानाको यो नेपाली बजार। चलचित्रमा लगाउने पहिरन यहीँ बजारमा किनमेल हुन्थ्यो।
त्यतिबेला चीनबाट सोझै झापाको धुलाबारी बजारमा सामान आयात हुन्थे। सस्तो र राम्रो चिनियाँ सामान सोझै पुग्थ्यो भारततर्फ। सस्तो चिनियाँ सामान भारतीय रोजाइमा पर्ने भएकाले घुइँचो नै लाग्थ्यो। तर, धुलाबारीको त्यो साख धेरै कालसम्म टिक्न सकेन। अहिले सीमा वारी र पारीका उपभोक्ताको रोजाइ सीमा पारीकै बजार भएको छ।
स्थानीय व्यापारी राजीव जैन भन्छन्, ‘ती सामान नेपालभन्दा भारततर्फ सस्तो र गुणस्तरीय हुँदा हिजोआज सीमापारीका ग्राहक यहाँ आउँदैनन्।’ उनले कुनैबेला खुबै चम्किएको धुलाबारी अहिले निकै खस्किएको सुनाए।
‘कुनै समय चीनबाट सोझै झापाको धुलाबारीमा सामान आयात हुने गरेका थिए भने आजभोलि भारतीय बजारमा सोही सामान यहाँभन्दा सस्तोमा पाउने हुँदा भारतीय नागरिक किनमेलका लागि आउने कुरै भएन। नेपाली उपभोक्ता पनि भारततर्फको बजार जाने गरेका छन्’, व्यापारी जैन बताउँछन्।
धुलाबारीमा अर्का पुराना व्यापारी मित्तल श्रेष्ठ विगतका तुलनामा मानिसको चहलपहल घट्नुमा भारतसँगको खुला सीमाना पनि मुख्य कारण भएको बताउँछन्। ‘जताततैबाट चोरी गरी लैजाने र ल्याउने मार्ग प्रशस्तै छन्। नेपालका सस्ता सामान पनि सोझै भारत पुग्छ। भारतले पनि चीनसँग नाका खुलाएको छ। सबै सामान नेपालभन्दा भारतीय बजारमा छिटो पुग्छ। त्यही भएर धुलाबारीको बजार सुस्ताएको हो’, व्यापारी मित्तल भन्छन्।
भारत र चीनबीच द्विपक्षीय व्यापार नहुँदासम्म नेपालको हङकङ बजारको रूपमा नाम कमाएका पूर्वका धुलाबारी र मधुमल्लाह अहिले सुनसान बन्दै गएका छन्।
२०६१ सालमा भारतको सिक्मिबाट चीन जोडिने नाथुला नाका पुनः सञ्चालनमा आएपछि त्यतैबाट चिनियाँ सामग्री भारत जान थाले। नेपालमा चीनबाट भिœयाइएका सामान धुलाबारीका बजारमा सस्तोमा पाइने गरे पनि भारतले नाका खोलेपछि नेपालभन्दा कम मूल्यमा भारतीय बजारमा नै जान थाल्यो।
चीनबाट सोझै धुलाबारी आइपुग्ने सामान भारतीयकै लागि हुन्थ्यो। उताबाट आउनेले भन्सार नबुझाइ सोझै सामान भारततर्फ लैजान्थे। एक हिसाबले चिनियाँ सामानको अवैध कारोबारकै लागि धुलाबारी बजारमा चहलपहल भएको कतिपय व्यापारी बताउँछन्।
एक पटक कारोबारका हिसाबले धपक्कै बलेको धुलाबारी बजार अहिले पूरै सुकेको झापाका पुराना सञ्चारकर्मी तीर्थ सिग्देलको भनाइ छ। ‘भारतले नाका खोल्नुअघि धुलाबारीमा चाडपर्वको समयमा त छिर्नै सकिँदैन थियो, अन्य समय पनि चहलपहल बाक्लै हुन्थ्यो, अहिले त धुलाबारीभन्दा केही किलोमिटर पर भारतको पानीट्यांकीमा नेपालभन्दा सस्तोमा सामान पाउने हुँदा भारतीय त आउन छाडे नेपाली पनि सामान किन्न पारी जान्छन्’, पत्रकार सिग्देलले भने।
धुलाबारी बजारको बाटो हुँदै दैनिक हजारौं नेपाली लत्ताकपडा, दैनिक उपभोग्य सामान, विद्युतीय उपकरण किन्न भारतको पानीट्यांकी पुग्छन्। ‘पानीट्यांकी बजार सधैं भीडभाड, वारीको धुलाबारी सुनसान पहिलेभन्दा ठ्याक्दै उल्टो भएको छ’, काँकडभिट्टा चोकका नथुराम घिमिरे सुनाउँछन्। ‘६१÷६२ साल तिर भारतबाट आउनेको लर्को हुन्थ्यो, अहिले भारत जानेको लर्को हुन्छ’, घिमिरे भन्छन्।
कुनै समय सम्पूर्ण झापाको व्यापारिक केन्द्र धुलाबारीको चाडपर्वको बेलामा समेत स्थिति दयनीय हुने गरेको व्यापारी हरिनारायण पोदार बताउँछन्। व्यापार घट्नुको मुख्य कारण राज्यको कमजोर व्यापारिक नीति र स्थानीय राजनीतिक दलको कमजोरी भएको उनको ठहर छ। पोदार भन्छन्, ‘स्थानीय राजनीतिक दलले व्यापारीको समस्यालाई सम्बन्धित निकायमा पु¥याउन पहल गर्ने, सरकारले व्यापारीलाई सहुलियत ऋणको व्यवस्था गर्ने र सामान आयात गर्दा छुट दिने हो भने यहाँको व्यापार खस्कँदैन थियो।’
धुलाबारी बजारको व्यापार घट्नुमा ६ वर्षअघिको चोरी, व्यापारी आत्माराम अग्रवालको हत्या पनि मुख्य कारण भएको पुराना व्यापारी प्रकाश स्टोरका सम्पत जैन बताउँछन्। उनको हत्या भएपछि ठूला व्यापारी व्यापार छाडेर क्रमशः पलायन हुनुले पनि व्यापारमा कमी आएको उनको बुझाइ छ। जैनका अुनसार हङकङ बजारको रूपमा परिचित धुलाबारी बजारमा पहिलै भारतीय आएर प्रतिपसल दैनिक दुई लाखभन्दा बढीको सामान किन्थे। तर आजकल दैनिक पाँच हजारको कारोबार गर्न पनि हम्मेहम्मे छ।
नेपाल भिœयाउने सामानमा सरकारले बढी कर लगाएको र करसहित जोडेर सामान बिक्री गर्दा बढी मूल्य पर्ने र धुलाबारीमा पाइने सामान अन्य बजारमा पनि सोही मूल्यमा पाइने भएकाले आन्तरिक ग्राहक पनि घटेको व्यापारी बताउँछन्। ३÷४ वर्ष अघिसम्म पनि भन्सारले अहिलेको जति कडाइ नगर्दा भन्सार छलिका सामग्री पनि धुलाबारी बजारमा आउँदा केही कम मूल्यमा सामान पाउनाले ग्राहक आउने गरे पनि अहिले भन्सार कार्यालयले कडाइ गर्दा व्यापारको केही हिस्सा गुमेको धुलाबारीका स्थानीय प्रभाकर भट्टराई बताउँछन्।
धुलाबारी बजारको व्यापार घट्न थालेपछि यहाँका धेरै मारवाडी समुदायका व्यापारीले आफ्नो व्यापार भारतीय बजारमा सार्न थालेका छन्। कारोबारमा आएको मन्दीसँगै उनीहरू भारतीय बजार सिलिगुडी, दार्जिलिङलगयात स्थानतर्फ पलायन हुन थालेका छन्। पुराना मारवाडी समुदायका ६० प्रतिशत व्यापारी भारत पलायन भएको धुलाबारी बजारका वृद्ध व्यापारी युगानन्द पौडेलको भनाइ छ।
यता मेची उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष अजय घिमिरे भने स्थानीय तह, राजनीतिक दल र राज्य संयन्त्रको सहयोग मिले धुलाबारीको साख पुनः फर्काउन सकिने बताउँछन्। उनी भन्छन्, ‘पहाडसँग जोडिएका बाटा र भद्रपुर जोड्ने बाटोलाई जोड्न सके व्यापार पुनः चम्किन सक्छ।’
झापाली अर्थतन्त्र र व्यापारको एक हिस्सा ओगटेको पुरानो बजार धुलाबारी सुस्ताउँदा अर्थतन्त्र र व्यापार चक्रमा समेत नकारात्मक असर परेको उनी बताउँछन्। करोडौंको व्यापार हुने बजारमा आएको मन्दीले यहाँको लगानी झापाका अन्य सहर र भारतीय बजारमा विस्थापित हुँदा स्थानीय तहलाई पनि नोक्सानी भएको पूर्वउपाध्यक्ष घिमिरेको विश्लेषण छ।
चीनमा बन्ने के सामान पाइँदैनथ्यो धुलाबारीमा ? लत्ताकपडा, क्यामेरा टीभी, झोला, जुत्ता, ब्याग, लाइट, लाइटरदेखि खेलौनासम्म। तर, एक दशक भयो पूर्वकै हङकङ भनेर चिनिएको बजार थलिएको। धुलाबारी बजारमा ४२ वर्ष अघिदेखि व्यापार गर्दै आएका जैन २०६३÷०६४ सालको तुलनामा आजभोलि व्यापारमा ह्वात्तै गिरावट आएको बताउँछन्। त्यतिबेला चाडपर्वका बेलामा यहाँका व्यापारीलाई खाना खाने फुर्सदसमेत हुँदैनथ्यो तर आजकल भने ग्राहक सामान किन्न आउँछन् कि भनेर बाटोमै गएर प्रतीक्षा गर्नु पर्ने अवस्था छ।
धुलाबारी मात्र होइन झापाकै अर्को बजार मधुमल्ला पनि अहिले प्राय सुनसान जस्तै छ। मधुमल्लाका राधेश्याम शाह (तेली) २००९ सालमा विराटनगरको कर्सियाबाट आमा बुवासँगै बसाइ सरेर मोरङको मधुमल्लामा आउँदा यहाँ खासै बस्ती थिएनन्। उनी त्यतिबेला सात वर्षका थिए। ‘मधुमल्लाको बजार भने निकै ठूलै लाग्दथ्यो’, उनी सम्झन्छन्, ‘पहाड र तराई सबैतिरका मानिसको जमघट हुन्थ्यो।’ अहिले उनले बुझेका छन् त्यो बेलाको मधुमल्ला पूर्वोत्तर मोरङ, दक्षिणी झापा, पाँचथर र इलामको तल्लो भेगका मानिसको लागि मात्र होइन भारततर्फको पनि व्यापारिक हब थियो।
२०२० सालदेखि व्यवसायमा लागेका साह अझै पनि व्यवसायमा नै छन्। पहिलाको बजार र अहिलेको बजार हेर्दा उनलाई कहाली लागेर आउँछ। धेरैले मधुमल्ला बजार बिर्सिसकेका छन्। नयाँ पुस्तालाई त यो ठाउँ मोरङको बजार हो भन्ने पनि थाहा छैन। स्थानीय ६८ वर्षीय रुपबहादुर खड्काले भने, ‘पूर्वी नेपालमा मधुमल्ला बजारको सानसौकत नै भिन्न थियो। मानिसहरू घोडामा चढेर बजार भर्न आउँथे। व्यापार खुब चलेको थियो।’
मुख्य बजारको दिन सोमबार भए पनि टाढा टाढाबाट व्यापार व्यवसायका लागि आउने गरेकाले आइतबारदेखि मंगलबारसम्म बजार लाग्ने गरेको थियो। अहिले सोमबार त्यही पनि सानो मात्र बजार लाग्छ। विशेष गरेर पहाडमा उत्पादन हुने आलु, घ्यू, अम्रिसो, अदुवा, फलफूल तथा जडीबुटीले त्यतिबेला बजार भरिभराउ हुने गरेको थियो।
त्यस्तै पहाडबाट खसी, बाख्रा तथा कुखुरासमेत बेच्न आउनेको लर्काे नै लाग्ने गथ्र्याे। चोयाबाट बन्ने डोको, डालो, ढाकी, फुर्लुङ, घुमलगायत सामग्री पनि ठूलो व्यापार हुने गर्दथ्यो। तराईका विभिन्न ठाउँबाट अन्य उपभोग्य बस्तु आउने गर्दथे। विशेष गरेर विराटनगरको रंगेलीबाट खाद्यवस्तु दाल, चामल, नुन खरिद गरेर बेच्ने गरेको व्यापारी साहले बताए।
हालको मधुमल्ला–रवि सडकखण्ड त्यतिबेला पहाडबाट सामान ढुवानी गर्ने ढाक्रेको सबैभन्दा छोटो बाटो रहेकाले पनि बजारमा एकदमै ठूलो चहलपहल हुने गरेको व्यवसायी रमेशप्रसाद दाहाल बताउँछन्। उनी भन्छन्, ‘त्यतिबेला तराईमा ढुवानीको मुख्य साधन बयलगाडा नै थियो। मोरङको रंगेलीबाट दैनिक खाद्यबस्तु आयात हुने गथ्र्यो।’ विगत सम्झँदै साहले त्यतिबेला घ्यूमा नुन साट्ने चलन रहेको बताए।
पहाड र तराईको व्यापारिक केन्द्रको रूपमा रहेको पूर्वकै पुरानो मधुमल्ला बजार।
एउटा इतिहास बनाएको मधुमल्ला बजार अहिले प्रतिकको रूपमा मात्र सीमित छ। पहाड र तराईका उपभोग्य बस्तु किनबेच हुने गरेको पूर्वकै पुरानो बजार मधुमल्ला अन्य सहरको तीव्र विकाससँगै नाममा मात्र सीमित हुन पुगेको छ। उबेला १४ बिघा क्षेत्रफलमा पहाड तराई सबैतिरका हजारौं मानिसको भीडसँगै बजार लाग्ने गरे पनि अहिले त्यो अवस्था छैन।
यो बजारको सिधा कनेक्सन पहाडी जिल्ला र सीमावर्ती भारतको जोगवनीसँग थियो। भारतले तेस्रो मुलुकसँग खासगरी चीनसँग द्विपक्षीय व्यापार सुरु नगर्दासम्म नेपालको बाटो भएर चिनियाँ सामान भारत तस्करी हन्थे। भारतीयले मन पराउने चाइनिज पेन, टर्च लाइट मात्र होइन भारतका सादा कपडालाई चुनौती दिने चीनमा बनेका आकर्षक कपडासमेत नेपालको बाटो भएर भारत जान्थे। भारतसँग सीमा जोडिएका यस्ता बजारमा सामान तस्करीकै कारण गुल्जार थिए।
पूर्वका धरान, ईटहरी , बिर्तामोड , दमक सहरको विस्तारसँगै मधुमल्ला बजार बिरानो गाउँको बटुवा जस्तै ओझेलमा परेको छ। मधुमल्लाको विकास नहुनुको मुख्य कारण सडक सञ्जालको विस्तार रहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवी आचार्यले बताए। अन्य ठाउँबाट पहाड र तराई जोड्ने बाटो बनेपछि मधुमल्लाको अस्तित्व हराउँदै गएको उनको भनाइ थियो। अचार्यले भन्छन्, ‘ केन्द्रमा प्रभाव पार्ने राजनेता नजन्मिएकै कारण विकासमा पछि परेको हो।’ मधुमल्लाबाट पाँचथरको रवि जोड्ने सबैभन्दा छोटो मार्गसमेत निर्माण भएकाले अब मधुमल्ला बजार पहिलाकै अवस्थामा फर्कन सक्नेमा स्थानीय सन्तोष गौतम आशावादी छन्।