बालिका बलात्कारको घटना प्रहरी चौकीमै मिलापत्र
वीरगन्ज : वीरगन्ज महानगरपालिका-३० लालपर्सामा १२ वर्षीया बालिका बलात्कृत भएको घटना मिलापत्र गराएर सामसुम पार्ने प्रयास गरिएको छ। चैत १२ गते भएको सो घटनालाई प्रहरी चौकी परिसरमै स्थानीय जनप्रतिनिधि र प्रहरीको उपस्थितिमा पञ्चायती (छलफल) गरी मिलापत्र गराएर सामसुम पार्ने प्रयास गरिएको हो। लालपर्साका २१ वर्षीय मन्दीप यादवले बालिकालाई चैत १२ गते राति ललाइफकाइ गरी गाउँ नजिककै मकैबारीमा लगेर बलात्कार गरिरहेको अवस्थामा बालिकाका बुबाले फेला पारेका थिए।
बालिकाका बुबा मकैबारीमा पुगेलगत्तै मन्दीप मकैबारीमै आफ्नो मोटरसाइकलसमेत छाडी भागेका थिए। बालिका बलात्कारको हल्ला गाउँमा फैलिएपछि पीडित बालिकाका अभिभावक र आरोपित युवक मन्दीपका अभिभावकबीच सोही राति झगडा भएको थियो।
पीडित बालिकाका अभिभावकले चैत १३ गते बिहान प्रहरी चौकीमा घटनाबारे उजुरी दिएका थिए। उजुरीमा मन्दीपले बालिकालाई अपहरण गरी बलात्कार गरेको व्यवहोरा उल्लेख थियो। पीडित पक्षको उजुरीका आधारमा चैत १३ गते नै प्रहरी चौकी परिसरमा घटना मिलापत्र गराउन पञ्चायती (छलफल) भएको थियो। छलफलमा आरोपित युवक मन्दीप, उनका अभिभावक, प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक चन्देश्वर सिंह, वडा नम्बर ३० का वडाध्यक्ष अमानत मियाँ अन्सारी, पीडित बालिकाका अभिभावक र गाउँका अगुवा सहभागी थिए।
उक्त छलफलमा आरोपित मन्दीप पक्षका व्यक्तिको बढी संख्या भएपछि र वडाध्यक्ष अन्सारीले पनि गाउँमै छलफल गरेर मिलापत्र गराउने भनी पीडितलाई दबाब दिएपछि पीडित बालिकाका अभिभावक र आफन्त घर फर्केका थिए। वडाध्यक्ष र पीडक पक्षको दबाब र धम्कीका कारण पीडितका अभिभावक घटनाबारे बोल्न चाहेका छैनन्। वडाध्यक्ष अन्सारीले भने प्रहरी चौकीमा भएको छलफलमा आफू सहभागी रहेको र छलफलमा दुवै पक्ष आपसमा मिल्छौं भनेर सहमति गरी घर फर्किएको बताए।
प्रहरी चौकी परवानीपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक सिंहले चैत १३ गतेको छलफलमा वडाध्यक्ष अन्सारीसँग आफू पनि सहभागी भएको स्विकारे। पीडित बालिकाका अभिभावकले आफ्नी छोरीलाई बलात्कार गरिएको भन्ने उजुरी दिए पनि छलफलमा मिलापत्रको कुनै लिखित कागजात नगराइएको उनले बताए।
उनले भने, ‘छलफलमा मैले यस्तो जघन्य अपराधको घटना मिलापत्र हुन सक्दैन भनँे तर पीडक र पीडित पक्षका अभिभावकले केटाकेटीको कुरा हो छोडिदिनुस्, पछि केटीको बिहे पनि गर्नु छ, इज्जत जान्छ भने।’ केटाकेटी दुवैलाई तिनका अभिभावकले आआफ्नो जिम्मामा लिएर गएको उनले बताए। भने, ‘तर मैले मिलापत्रका लागि कुनै दबाब दिएको छैन।’