कुदुवासी भेरीको धमिलो पानी खान बाध्य

कुदुवासी भेरीको धमिलो पानी खान बाध्य

 

जाजरकोट : भेरी नगरपालिका १३ कुदुकी शर्मिला विश्वकर्मा हिँडेर भेरी नदी किनारमा पुग्छिन्। नदी सङ्लो भए खुसी हुन्छिन्। धमिलो भए मन खिन्न हुन्छ, उनको। तर, नदीको पानी धमिलो भए पनि पानी नभरे सुखै छैन।

‘धमिलो भएको दिन गाग्रीमा कपडाले छानेर पानी ल्याउँछु’, उनले भनिन् ‘कहिलेकाहीँ पानीसँगै काठ, झारपात र अँगारसमेत आउँछ।’ डोल्पाको दुनै हुँदै ठूलीभेरी बग्छ भने रुकुम मुसिकोट हुँदै सानीभेरी बग्छ। जाजरकोटको रिम्नामा दुवै नदी मिसिएर बनेको भेरीनदी किनारमा सयौं बस्ती छन्।

कतिपय ठाउँका शौचालयका र अन्यका ढल सीधै उक्त नदीमा मिसाइएको छ। जसले गर्दा नदी दिनप्रतिदिन प्रदूषित भैरहेको छ। तर, विकल्प नुहँदा कुदुवासी भने त्यही पानी खान बाध्य छन्। सदरमुकाम खलंगा नजिकैको गाउँ हो, कुद। यहाँका करिब चार सय परिवारले वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका छन्।

पानी त दूषित छ नै कुदुवासीका लागि साँझबिहान पानी बोक्नै बित्छ। एक गाग्री पानी बोक्न तीन घन्टा हिँड्नुपर्ने बाध्यता छ।

स्कुले विद्यार्थीदेखि उमेरले नेटो काटिसकेका महिलाहरू पनि खानेपानी बोक्न बाध्य छन्। कुदुकी ६७ वर्षीया कमला आचार्य पानीको कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउने गरेको बताउँछिन्। बिहान उठ्ने बित्तिकै भेरी किनारमा पुगेर पानी ल्याउने उनको दैनिकी बनेको छ। खानेपानीको साह्रै समस्या भयो हजुर हाम्रो समस्या सरकारले कहिल्यै देखेन न त नेताहरूले सुने।

 सदरमुकाम खलंगा नजिकैको कुदु गाउँका चार सय घर वर्षौंदेखि भेरी नदीको पानीमा निर्भर छन्।

उनले भनिन, ‘कुदुमा खानेपानीको निकै समस्या छ, नदीको धमिलो पानी खान बाध्य छौं, हिउँ पग्लिन थालेपछि नदी धमिलो हुन्छ। नदीमा मान्छे जलाउने घाट भएकाले पनि पानी सफा हुँदैन।’ कुदुवासीले घाटबाट आएको अँगारसहितको पानी खानुपर्ने बाध्यता छ। चुनावताका खानेपानी समस्या समाधान गर्ने गरी गरिएको प्रचार अहिले शून्य भएको छ।

स्थानीय महिला तथा बालबालिकाको साँझबिहानको पूरै समय पानीको जोहो गर्नमै बित्ने रहेको स्थानीय वासुदेव शर्माले बताए। उनले पुरुषहरू अन्य काममा गएपछि महिला र स्कुले विद्यार्थी पानीको जोहो गर्न घण्टौं समय बिताउन बाध्य भएको बताए। खानेपानी समस्याले काकाकुल बासिन्दाले नदीकै धमिलो पानी खाँदा विभिन्न सरुवा रोगको संक्रमण देखिने गरेको छ।

गाउँमा भएका पानीका मुहान सुकिसके, पुराना खानेपानी आयोजनाको पानी पनि आउन छाड्यो तर नयाँ योजना नबनेका कारण कुदुमा खानेपानी समस्या बढेको हो। विद्यालय र स्वास्थ्य संस्थामा पनि खानेपानी समस्या उस्तै देखिएको छ।

गाउँमा खानेपानी योजना नपरेको पनि होइन। खानेपानी आयोजना निर्माणको जिम्मा लिएका उपभोक्ता समितिको लापरवाहीले समयमै काम नगरेको स्थानीय नरबहादुर बस्नेतको भनाइ छ।

गाउँको खानेपानी समस्या समाधानका लागि गत वर्ष नै जिल्ला खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालयबाट ४ करोड रुपैयाँ लागतको खानेपानी आयोजना सञ्चालनमा छ। तर, निर्माण जिम्मा लिएका उपभोक्ता समितिका पदाधिकारीको लापरवाहीले अहिलेसम्म खानेपानीको इन्टेक मात्र बनेको खानेपानी तथा सरसफाइ सब डिभिजन कार्यालय प्रमुख महेशी महतो बताउँछन्।

कुदुमा खानेपानीको चरम समस्या हुँदाहुँदै पनि काम गर्ने इच्छाशक्ति देखिएन उनले भने, ‘मैले काम नगर्ने भए सम्झौता भंग गरेर अन्यत्रै लैजाने चेतावनी दिएको छु। अब पनि काम गरेनन् भने उपभोक्ता समितिको विकल्प सोच्नुपर्छ।’ उपभोक्ताबाट निर्माण गर्ने गरी गत आवमै कुदु बृहत् खानेपानी आयोजनाको काम सुरु भएकोमा अहिलेसम्म काम कछुवागतिमा भइरहको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.