व्यवस्थित बसपार्क बन्दै
स्याङ्जा : बसपार्क अभावका कारण सदरमुकामवासीले राजमार्गमै सवारीसाधन राख्नुपर्ने बाध्यता अब हट्ने भएको छ। झन्डै ३५ वर्षपछि सदरमुकाममा व्यवस्थित बसपार्क बन्ने भएपछि नगरवासी उत्साहित भएका छन्। पुतलीबजार नगरपालिका–१ स्थित विष्णुपँधेरामा निर्माणाधीन बसपार्क निर्माण अन्तिम चरणमा पुगेपछि यातायात व्यवसायी र नगरवासीको वर्षौंदेखिको समस्या अब समाधान हुने भएको हो।
गण्डकी बस व्यवसायी समितिको सक्रियतामा गण्डकी बसपार्क निर्माण एवं व्यवस्थापन समितिमार्फत बसपार्क निर्माणलाई तीव्रता दिइएको छ। समितिले ०५४/५५ मा विष्णुपँधेरामा जग्गाा खरिद गरेको थियो। सदरमुकाममा केही वर्षदेखि बसपार्क क्षेत्र विस्तार एवं निर्माणलार्ई चरणबद्ध रूपमा अगाडि बढाइँदै आएको छ।
साँघुरो पहाडी बस्ती, उचित जग्गा अभावका कारण भिरालो जमिन भर्दै र तटबन्ध कस्दै २ तहमा बसपार्क निर्माण गरिने भएको हो। क्षेत्रफलका आधारमा १० रोपनीभन्दा बढी जग्गा रहेको बसपार्कको तल्लो भागमा स्थानीय स्तरमा सञ्चालित सवारीसाधन मिनीबस, जिप एवं माथिल्लो भागमा राजमार्गमा गुड्ने ठूला यातायातका साधन पार्किङ गर्ने गरी बसपार्क निर्माण भइरहेको उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिए।
‘सदरमुकामसहित पुतलीबजार नगरपालिका समेत रहेको स्याङ्जाको मुख्य बजारमा बसपार्कको अभाव वर्षौंदेखि छ’, व्यवसायी प्रकाश शर्माले भने, ‘बसपार्क अभावमा पैदल यात्रु, व्यापारी, सवारीधनी र सवारीसाधनले धेरै समस्या भोग्दै आएको छ। अब यो समस्या छिट्टै समाधान हुन्छ।’
साँघुरो अनि मापदण्डविपरीत बनाइएको सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड प्रतिदिन व्यस्त बन्न थालेको छ। त्यत्तिकै मात्रामा बढेका निजी र सार्वजनिक साधनले राजमार्ग व्यस्त भएको हो। तर, सदरमुकाममा एउटा पनि पार्क बन्न नसक्दा यात्रु मात्र होइन, पैदलयात्रुसमेत प्रभावित बनेका छन्। पार्क अभावमा सडकमै पार्किङ गर्दा सवारीसाधन तोडफोड हुने गरेका छन्। राजमार्गका दायाँबायाँ सवारीसाधन लामबद्ध रूपमा पार्किङ गर्दा पैदल यात्रुलाई समेत हिँड्डुल गर्न कठिन हुने गरेको छ। यसले दुर्घटनासमेत बढ्ने गरेको निर्माण उपभोक्ता समितिका सचिव गुरुप्रसाद ढकालले बताए।
सहरी डिभिजन विकासको डिजाइनअनुसार बसपार्क निर्माण गरिएको छ। बसपार्कमा अहिले ढुंगा, गिट्टी र सोलिङको काम सकिएको छ। एक/दुई दिनमै पिचको काम सुरु हुने बताइएको छ। बसपार्क निर्माण गर्न सहरी विकासको ४० लाख र स्थानीय उपभोक्ता समितिको १२ लाख रुपैयाँ खर्च गरिएको छ। गण्डकी बस व्यवसायी समिति र सार्वजनिक जग्गा उपयोग गरी व्यवस्थित बसपार्क निर्माण गरिएको हो।
अब बन्ने बसपार्कको माथिल्लो भागमा १ सय ५० वटा सवारीसाधन र तल्लो भागमा सय वटा सवारीसाधन राख्न मिल्नेछ। बसपार्कको सुरक्षा प्रबन्ध एवं लामो तथा छोटो दूरीका लागि छुट्ने ठूला तथा मिनी, माइक्रोबसलगायतलाई व्यवस्थित गरिनेछ। बसपार्क निर्माणपछि सबैको सुरक्षाका लागि प्रहरी बिटको व्यवस्थासमेत गरिने गण्डकी बस व्यवसायी समितिका पूर्वअध्यक्ष भागवतप्रकाश मल्लले जानकारी दिए।