बर्डफ्लुप्रति उच्च सतर्कता
तौलिहवा : केही दिनदेखि भारतको महाराजगन्जको नौतुनवामा बर्डफ्लुको प्रकोप देखिएपछि कपिलवस्तुमा उच्च सतर्कता अपनाइएको छ। भारतीय सीमावर्ती क्षेत्रमा बर्डफ्लुको प्रकोप देखिएकाले जिल्लाका सीमानाकामा सतर्कता अपनाइएको हो। एक साताअघि भारतको उत्तर प्रदेशको महाराजगन्ज जिल्लाको सुनौलीदेखि नौतुनवा बजारको बीचका कुखुरा फर्ममा बर्डफ्लु देखिएको पशु चिकित्सकले जनाएका छन्।
खुला सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढंगबाट पक्षीजन्य उत्पादन जिल्ला भित्रिने गरेका छन्। सीमा जाँचमा कडाइ गर्दागर्दै भित्रिने कुखुरा, अन्डा आदिलाई बर्डफ्लुका कारण कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ। भारतीय सीमावर्ती क्षेत्रमा बर्डफ्लुको प्रकोप देखिएपछि जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठक तौलिहवामा बसेको छ।
बैठकले छिमेकी देश भारतको सीमाक्षेत्रमा बर्डफ्लुको प्रकोप देखिएकाले उक्त ठाउँसँग सीधा सम्पर्क भएका स्थानमा निगरानी र उच्च सतर्कता अपनाउने निर्णय गरेको प्रजिअ मदन भुजेलले बताए। ‘भारतको नौतुनवासँग जिल्लाको सीधा सम्पर्क छ। त्यसैले सीमामा उच्च सतर्कता अपनाउने निर्णय गरेका छौं’, समितिका अध्यक्षसमेत रहेका प्रजिअ भुजेलले भने। उनका अनुसार पक्षीजन्य उत्पादन सीमानाकाबाट अवैध रूपमा भित्रिन सक्ने भएकाले त्यसलाई रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ। ‘कुखुराका अन्डा र पक्षीजन्य उत्पादनको मूल्य भारतमा सस्तो छ, त्यसैले कारोबारीले खुला सीमाको फाइदा उठाउँदै नेपाल भिœयाउन सक्ने भएकाले नियन्त्रणका लागि प्रहरीले विशेष निगरानी गर्नुपर्छ’, प्रजिअ भुजेलले भने।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द रावतले जिल्लाभर रहेका सबै प्रहरी युनिटलाई भारतबाट हुने अवैध पक्षीजन्य निकासीलाई रोक्न निर्देशन दिएको बताए। ‘कपिलवस्तु पनि बर्डफ्लुको उच्च जोखिमा छ, भारतबाट अवैध पक्षीजन्य वस्तु भित्रिन सक्ने भएकाले त्यसलाई नियन्त्रण गर्न विशेष निगरानी बढाएका छौं’, रावतले भने। पशुपक्षी चेक क्वारेन्टाइन चेकपोस्ट कृष्णनगरका प्रमुख अखिलेश्वर पाण्डेयले नवलपरासी, रुपन्देही र कपिलवस्तुको सीमानाकामा विशेष निगरानी हुनुपर्ने बताए। यस विषयमा सबै निकाय गम्भीर हुनुपर्ने उनको भनाइ छ।
पशु सेवा कार्यालयले जिल्लाका १० वटै स्थानीय तहलाई लिखित जानकारी गराएको जनाएको छ। भारतमा जिउँदो कुखुराको मासु प्रतिकिलो ७० भारुमा पाइन्छ। जिल्लामा प्रतिकिलो १ सय ७० हाराहारीमा छ। यस्तै, भारतीय चल्ला प्रतिगोटा नेपालभन्दा ४० रुपैयाँ सस्तो छ। भारतमा बर्डफ्लु देखिएपछि त्यहाँ मासु र अन्डा झन् सस्तिएकाले जिल्लामा भित्रिन सक्ने सम्भावना झन् बढेको छ। व्यापारीले प्रहरी प्रशासनले भारतीय पक्षीजन्य उत्पादन भित्रिन नदिन विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।