देशभरका ज्योतिषी बुटवलमा
बुटवल : मुलुकभरका ज्योतिषी बुटवलमा भेला भएका छन्। नेपाल ज्योतिष परिषद् तथा दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समितिको आयोजनामा सुरु भएको १६ औं राष्ट्रिय ज्योतिष तथा वास्तु सम्मेलनमा ज्योतिषी सहभागी भएका हुन्। दुई दिनसम्म चल्ने सम्मेलनले वैदिक सनातन धर्मको संरक्षण, प्रवद्र्धन र ज्योतिष विज्ञानको महत्वव पहिल्याउने विश्वास गरिएको छ।
सम्मेलनमा नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले ज्योतिष शास्त्रीको महत्वव र मृत्यु संस्कारमा विकृति र प्रा. श्रीकृष्ण अधिकारीले गोचरको उपादेयता विषयमा कार्यपत्र प्रस्तुत गर्दै छन्। उनले वैदिक सनातन धर्ममाथि सरकारबाटै हस्तक्षेप भएको भन्दै आलोचना गरे। सम्मेलन उद्घाटनमा ज्योतिषीले सरकारले हालै गरेको बिदा कटौतीको विषयमा आपत्ति जनाएका छन्। ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेयले सरकारले वैदिक सनातन धर्ममा हानि हुने गरी बिदा कटौती गरिएको आरोप लगाए। ‘संस्कृतिमा विकृति ल्याउने गरी सरकारले कतिपय सांस्कृतिक बिदा काटेको छ, त्यो मान्य छैन’, उनले भने।
सम्मेलनले वैदिक सनातन धर्मको बचाउ गर्न अबको रणनीति तय गर्दै लुम्बिनी घोषणापत्र पनि जारी गर्ने भएको छ। सम्मेलन उद्घाटन गर्दै वातावरण, उद्योग तथा वनमन्त्री लीला गिरीले देशमा रहेका धार्मिक परम्परालाई वैज्ञानिक हिसाबले परिमार्जित गर्दै लैजानुपर्नेमा जोड दिए। ‘समाजमा भएका विभिन्न प्रकारका विकृति चिर्ने काम ज्योतिषले गरिरहेको छ। ज्योतिषले मनोवैज्ञानिक उपचार गर्न सहयोग गरिरहेको छ। यसको अध्ययन संस्कृति बढाउनुपर्छ’, मन्त्री गिरीले भने।
निराधार कुरा गरेर विकृति फैलाउने काम बन्द गर्दै, शास्त्रीय आधार तथा अनुशासनको पालना गरी समाजलाई अनुशासित बनाएर शास्त्रीय आधारमा डोर्याउन सम्मेलनले भूमिका खेल्ने विश्वास गरिएको छ।
विश्व ज्योतिष महासंघका अध्यक्ष तथा नेपाल ज्योतिष परिषद्का संस्थापक अध्यक्ष डा. लोकराज पौडेलले ज्योतिष विज्ञानमा अनपढले विकृति निम्त्याएको भन्दै त्यस्ता विकृति हटाउन चुनौती देखिएको बताए। प्राध्यापक श्रीकृष्ण अधिकारीले ज्योतिषले शास्त्रसंगत मर्यादालाई पालन गर्दै फलितमा एकरूपता ल्याउनुपर्ने आवश्यकता रहेको तर्क गरे। निराधार कुरा गरेर विकृति फैलाउने काम बन्द गर्दै, शास्त्रीय आधार तथा अनुशासनको पालना गरी समाजका अन्य मानिसलाई अनुशासित बनाउन र समाजलाई शास्त्रीय आधारमा डोर्याउन सम्मेलनले भूमिका खेल्नुपर्ने उनले बताए।
शुक्रबार सुरु भएको सम्मेलनमा वास्तुविद् माधवमंगल जोशीले वास्तुसम्बन्धी प्रशिक्षण तथा सहप्रा. डा. अर्जुनप्रसाद भट्टराईले फलित ज्योतिषको दार्शनिक आधार र फलप्रतिपादनका आधारभूत मर्म विषयक कार्यपत्र प्रस्तुत गरेका छन्।