भासिएको पुल परीक्षण कठिनाइ
गुलरिया : साउन अन्तिम साता बबई नदीमा आएको बाढीबाट क्षतिग्रस्त बर्दियाको जब्दीघाटस्थित पक्की पुल परीक्षणमा कठिनाइ भएको छ। पुलमुनिको पिलरको पाइल फाउन्डेसन वरपर पानी जमेपछि पुल परीक्षणमा समस्या भएको हो। बबईको बाढीले सदरमुकाम गुलरिया र बाह्रबर्दिया नगरपालिकाअन्तर्गत पूर्वपश्चिम राजमार्ग जोड्ने छोटो रुटमा अवस्थित जब्दीघाटमा निर्मित एक मात्र पक्की पुल हस्तान्तरण नहुँदै क्षति भएपछि सबैलाई सास्ती भएको छ। ‘पुलको पिलरको गहिराइ, कंक्रिटको मात्रालगायत माटो परीक्षण गर्दै छौं’, इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा प्रमुख नारायणप्रसाद गौतमले भने।
पुल परीक्षणसँगै सर्वे गर्ने कार्य पनि भइरहेकाले अपडेट भएपछि वास्तविकता आउने गौतमले बताए। हालसम्म पुल परीक्षणको डाटा आइसक्नुपर्ने भए पनि पानीको कारण ढिला भइरहेको उनको भनाइ छ। ‘अहिले पाइल पिलरको फाउन्डेसन हेर्ने काम भइरहेकाले करिब डेढ महिनासम्म माटो परीक्षणको रिपोर्ट आउँछ’, उनले भने। बाढी आएको ६ महिना बितिसक्दा पनि डिभिजन कार्यालय र ठेकेदार कम्पनीबीच पुल कसले पुनर्निर्माण गर्ने भन्ने विवाद कायमै रहँदा स्थानीय अन्योलमा छन्।
हस्तान्तरण नहुँदै जब्दीघाटको पक्कीपुल भासिएकाले निर्माण कम्पनी पप्पु कन्ट्रक्सनलाई पत्र काटेपछि उल्टै सर्वोच्चमा मुद्दा दर्ता गरिएको डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख अर्जुनकुमार बमले बताए। ‘हामीले पत्र पठाएपछि निर्माण कम्पनीबाट जवाफमा आफ्नो जिम्मेवारीमा पुल पुनर्निर्माण कार्य नपर्ने भन्ने पत्र आयो’, उनले भने। पुलका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको पनि उनले प्रस्ट्याए। सर्वोच्च अदालतमा बयानका क्रममा कार्यालयले निर्माण कम्पनीको दायित्व र निर्माण कम्पनीले आफ्नो जिम्मेवारी नरहेको बयान दिँदै आएको उनको भनाइ छ।
साउनमा आएको बाढीले बर्दियाबासीको विकासको सपना पुलसँगै भत्काइदिएको बाह्रबर्दिया नगरपलिका जब्दीगाउँका स्थानीय लक्ष्मण चौधरीले बताए। ‘विकासको नाममा बल्ल बल्ल ठडिएको पक्कीपुल गुणस्तरहीन भएकाले क्षति भएको हो’, उनले भने, ‘सरकारी निकाय र निर्माण कम्पनीको लापरबाहीका कारण पुलको दुर्गति भएको हो।’ पप्पु कन्स्ट्रक्सनले १६ करोड ६८ लाख ४ हजार रुपैयाँ लागतमा निर्माण गरेको पुलको पिलर भासिएपछि ४ सय ३५ मिटर लामो पुल अलपत्र परेको हो। अहिले गुलरिया र बाह्रबर्दिया नगरपालिकाबीचको सवारी आवागमन अवरुद्ध छ।
पुल परीक्षण गर्दै इन्जिनियर। अन्नपूर्ण