छैन सार्वजनिक शाैचालय

छैन सार्वजनिक शाैचालय

भोजपुर : भोजपुर बसपार्कमा सार्वजनिक शौचालय नहुँदा यात्रुलाई सास्ती भएको छ। भोजपुर सदरमुकामको हटियालाइन, देउराली र पानीट्यांकी बस स्टेसनमा शौचालय नहुँदा टाढाबाट आएका यात्रुलाई दिसापिसाब गर्न समस्या भएको हो।

‘यात्राभर शौच गर्न पाइनँ, बसपार्क ओर्लनासाथ नजिकका होटलमा लाइन लागेर बस्नुपर्छ। कतिपय होटल व्यवसायीले यहाँ हुँदैन भनेर बन्देज गर्छन्’, आम्तेक बाँसबोटेका पर्शुराम ओझाले भने, ‘बसपार्कजस्तो सार्वजनिक स्थलमा शौचालय नहुँदा यात्रुलाई साह्रै समस्या भएको छ।’

यात्रुको चापसँगै होटल, पसल व्यवसायीले आफ्नो चर्पीमा शौच गर्न बन्देज गरेको पाइन्छ। जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयले पूर्ण सरसफाइ अभियानअन्तर्गत स्थानीय तहसँगको साझेदारीमा ४० प्रतिशत र खानेपानी तथा ढल निकास विभागको ६० प्रतिशत लगानीमा सार्वजनिक शौचालय बनाउने प्रावधान उल्लेख गरेको छ। यद्यपि, पौवादुङ्मा गाउँपालिका–३ स्थित तिवारीभञ्ज्याङ बस स्टेसनबाहेक अन्यमा शौचालय छैन।

गत वर्ष सिद्धेश्वर बलौटे बस स्टेसनमा पनि शौचालय निर्माण गर्ने निर्णय भए पनि मापदण्डअनुरूप बनाउन सकेको देखिँदैन। धनकुटाबाट भोजपुर हुँदै खोटाङ जोड्ने मध्यपहाडी लोकमार्गअन्तर्गत प्याउली, तिवारीभञ्ज्याङ, पानीट्यांकी, देउराली, हटियालाइन, बलौटे र अन्नपूर्णका बस स्टेसनमध्ये तिवारीभञ्ज्याङ र प्याउलीबाहेक अन्यमा शौचालयको व्यवस्था छैन।

सदरमुकामका तीनवटै बस स्टेसनमा जग्गा नपाएपछि शौचालय बनाउन नसकिएको जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयका सूचना अधिकारी खड्गबहादुर पौडेलले बताए। उनका अनुसार नगरपालिकाले साझेदारी लिन नमानेपछि शौचालयका लागि जग्गा खरिद हुन नसकेको हो। जग्गा उपलब्ध नभएपछि शौचालय निर्माणको योजना अरुण गाउँपालिकास्थित प्याउली बस स्टेसनलाई दिइएको अधिकारी पौडेलले सुनाए।

‘हामीले नगरपालिकासँग तीनपटक निर्णय गर्दा पनि जग्गा खरिदमा साझेदारी नभएपछि त्यो योजना प्याउलीमा दियौैं’, उनले भने, ‘तर, नगरपालिकाको माग आए र साझेदारी भए विभागसँग योजना माग गरेर सार्वजनिक शौचालय निर्माण गर्ने भएका छौँ।’

शौचालय बनाउन नगरपालिकाले पहल नगरेको र तत्कालका लागि बसपार्कनजिकै दुई होटलमा शौचालयको प्रबन्ध मिलाइएको भोजपुर बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तानले बताए। हटियालाइनको बसपार्क ईश्वर जोशीको जग्गामा भाडा तिरेर राखिएको छ। तत्कालीन भोजपुर गाविसले संघसँग सहमति नगरी बसपार्कका लागि कोदारस्थित जग्गा लिएको अध्यक्ष मोक्तानले सुनाए।

मेयर कैलाशकुमार आलेले भने संघलाई बसपार्क सार्न अनुरोध गरिए पनि अटेर गरेको बताए।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.