कुहिरोभित्र नेपाली सिनेमा
हीरासिंह खत्रीले नेपाली माटोमा एक्सन–कट गरेको मितिबाट गनी ल्याउँदा, नेपाली सिनेमाले ५० वर्षको उमेर नाघिसकेछ। बिस्तारै बूढो हुँदै गरेको नेपाली सिनेमाप्रति एउटा साझा गुनासो छ— यतिविघ्न उमेर खाइसक्दा पनि हाम्रो सिनेमाको चेतनामा विकास हुन सकेन। आफ्नो गाथा आफैं भजाएर आत्मरतिमा रमाउने राजशी स्वभावलाई तृप्त पार्न भनीकन सुरु भएको नेपाली सिनेमाको यात्रा थुप्रै मोड र गल्छेडाहरूबाट गुज्रँदै एउटा अस्पष्ट उद्योगको स्वरूपमा विकसित हुन त खोज्दै छ किन्तु एउटा लामो यात्रा पार गरिसक्दा पनि हाम्रो सिनेमा आफ्नो निजी स्वभावको खोजमा निरन्तर घिस्रिरहेको छ।
आफ्नै भाषा बोल्ने मान्छेहरू चल्मलाएको हेर्ने रहरैरहरमा राजाले बल गरेर आधा शताब्दीअघि सुरु भएको सिनेमाको संस्कार आजसम्म आइपुग्दा धेरै कुरा फेरिए। उहिले, वर्षौंको प्रतीक्षापछि बल्लबल्ल एउटा सिनेमा हात लाग्ने समय थियो। हिन्दी सिनेमाहरूले रत्याएर अम्मली बनाएका सहरिया दर्शकहरूलाई आफ्नै भाषामा सिनेमा पाउनु नै ठूलो कुरा हुँदो हो, उनीहरूले थुप्रो दोषसहित ती सिनेमाहरूलाई सर्लक्कै स्वीकार गरिदिए। तर, आधा शताब्दीपछि खेला फेरिएको छ। संख्यात्मक रूपमा नै सही, नेपाली सिनेमाले एउटा लामो छलाङ मारिसकेको छ। यति सानो भूगोलको परिधिमा एक सयभन्दा बढी संख्यामा बर्सेनि सिनेमा ओइरिनु सानोतिनो कुरा होइन। प्रत्येक हप्ता सहरका भित्ताहरू मसलेदार सिनेमाका रंगीन पोस्टरहरूले भरिन्छन्। केही दिनभित्रै ती रंगीन पोस्टरहरू खुइलिन्छन्, च्यातिन्छन्, भत्किन्छन्। कति सिनेमाहरू आएको गएको पत्तो हुँदैन। सीमित स्रोतसाधनको सहारामा, भद्रगोल बजारका सीमित सम्भावनाका बीच, ठेलमठेल सिनेमाहरूको पसारो लगाउने नेपाली सिनेमाको नियति उदेकलाग्दो छ।
टोलटोलमा सिनेमा खिच्दै गरेका मण्डलीहरूको तमासा देखिन्छ। गल्लीगल्लीमा सिनेमा निर्माण गर्न भनी खुलेका कम्पनीहरूका बोर्डमा आँखा ठोकिन्छ। पश्चिमी सभ्यताको सिको गर्दै महानगर बडेमानका कम्प्लेक्सहरू उमार्न थालेको छ र ती भीमकाय भवनको टुप्पोमा सिनेमाका परिस्कृत थिएटरहरू खडा हुँदैछन्। लाग्छ, सहरमा सिनेमाको स्पष्ट संस्कृति स्थापित छ। मिडियाहरूले बजाउने सिनेमासम्बन्धी मसलेदार आइटमहरू, यदाकदा बजार तताउने गसिपहरू र स्टारडमका उडन्ते चियागफहरू सुन्दा लाग्छ— हाम्रो देशमा सिनेमाको संस्कार एउटा प्रस्ट संरचनाहरूले सिर्जित समुन्नत उद्योगका रूपमा स्थापित छ। झ्वाट्ट बाहिरबाट हेर्दा न्यानो देखिने यो रंगीन संसारको गाथा भित्रबाट भने त्यसको विपरीत स्वरूपमा छ। सिनेमाका रंगरसको दुनियाँ, तातो सडकका मरीचिका जस्ता भ्रान्तिहरूले भरिएका छन्। यही मरीचिकाको लोभमा कति सपनाहरू सिनेमाको उराठ बगरमा आत्मदाह गरेर सकिए त्यसको कतै लेखाजोखा छैन। बत्तीको उज्यालोले लोभिएर ठोसिन आइपुग्ने सेता पुतलीहरूझैं कति सपनाहरू बत्तीमा ठोसिएर सकिए, कति पखेटा डढाएर फेरि भुइँबाट उठ्ने संघर्ष गर्दैछन्, त्यसको अभिलेख कतै छैन।
विगतका केही वर्षदेखि सिनेमा बनाउने प्रथा ह्वात्तै बढेको छ। लगभग सयको संख्यामा प्रदर्शनमा आउने सिनेमामध्ये लगभग आधा दर्जनले मात्र स्पष्ट व्यापार गर्छन्। थप एक दर्जन सिनेमाले मुस्किलले आफ्नो लगानी उठाउछन्। बाँकी झरल सिनेमाहरू एकमुष्ठ गोलखाडी जाने अभूतपूर्व संस्कार बोकेर हाम्रो सिनेमा उद्योग निरन्तर प्रगतिपथमा उन्मुख छ।
खुलाबजारको दलदलमा थुप्रै स्वप्नद्रष्टा भासिएर सकिएका छन्। दर्शकको उपस्थिति, बजारको मागअनुसार नेपाली बजारले वर्षको कति सिनेमा थेग्न सक्ला ? सुन्दर सिनेमाका सर्जकहरूलाई कसरी सिनेमा निर्माणको बाढीले बगाएर लागेको छ ? कुनै निकायले यसको हिसाबकिताब गर्नु छैन। फिल्म निर्माण गर्न लागिपरेका समूहहरू भने जसरी हुन्छ आफ्नो सिनेमालाई पैसा कमाउने मेसिन बनाउन लागिपरेका छन्। बजारमा बेच्ने तनावमा घिसिपिटी मसलाहरू पिसेर बेजोड किमा बनाउन लागिपरेका छन्। साँघुरो बजारको मागलाई तृप्त गर्दैगर्दै जाँदा हाम्रा सिनेमाहरू, सिनेमाको स्वरूपभन्दा परपर भाग्ने क्रममा छ निरन्तर।
चलनचल्तीका सूत्रहरूबाट केही कदम अघि बढ्दा सिनेमा डुबिजाला कि भन्ने ठूलो डर छ। अनि बजारमा के बिक्छ भन्ने अवधारणामा ठसठस ती कन्दै सिनेमा सिर्जना गरिरहेका छन्। धेरै समयको अन्तरालमा एक सिनेमाले केही नयाँ तरिका भित्र्याउँछ र लामो समयसम्म त्यो फेरि सूत्र भएर बसिदिन्छ। हाम्रो सिनेमालाई सिनेमाका शिल्पगत सम्भावनाहरूको खोजमा लाग्नु छैन। यो उसको स्वभाव नै हैन।
हास्यरसले भरिएका द्विअर्थी संवादहरू, छमछमी नचाउने केही गानाबजाना, परिस्थितिअनुसार घुसाउन सकिने चुट्किलाहरूको भण्डार, अलिकति घम्साघम्सी, अलिकति रोनाधोना, एउटा मजाको सस्पेन्स अनि पुछारतिर आएर दिमाग फनक्कै घुमाउने ट्विस्ट— बस सिनेमा सुपरहिट। विगतका केही वर्षदेखि हाम्रा व्यावसायिक सिनेमाहरू यस्ता सूत्रका पछि लाग्न थालेका छन्। टेलिभिजनमा मान्छे हसाएर लोकप्रिय भएका, हास्यचेतमा निपूण सर्जकहरूले सिनेमाको मूलधारको काँध धान्न थालेदेखि हाम्रो सिनेमाको मूलधारको स्वरूप फेरिएको छ। मेसो मिलोस् नमिलोस्, चट्टसँग अनुप्रास मिलेका पञ्चलाइनहरू सिनेमाको आधारभूत आवश्यकता भइदिएको छ। यस्तो लाग्छ, हामी सिनेमा हैन ‘पन्चिङ मेसिन’ बनाउन लागिपरेका छौं। सीमित दर्शकहरू र उनीहरूका सीमित स्वादअनुसारको परिकार बनाउन सिनेमाका सर्जकहरू मेहनत गरिरहेछन। नगरून् किन ? उनीहरू औधी असुरक्षित छन्। हँुदोखाँदोको सम्पत्ति रित्याएर सडकमा पु¥याइदिने सिनेमा बजारको स्वभावको उनीहरू भुक्तभोगी हुन्। त्यसैले जे बिक्छ त्यही दिने हो। दर्शकलाई चित्त बुझाउने हो, पैसा सोहोर्ने हो। कौन सा अस्कारमा जानु छ र ? खेल खत्तम पैसा हजम। सिनेमालाई गम्भीर रूपमा लिएर नदुखेको जिन्दगी डोरीले बाँधेर दुखाउनु छैन। अनि यही संस्कारहरू स्पष्ट विकास हुँदै जाँदा हाम्रा सिनेमाहरू जीवनका काव्यहरूबाट टाढाटाढा इस्केपिस्ट न्यारेटिभको यात्रातर्फ उन्मुख हुँदैछन्।
सिनेमा निर्माण, प्रदर्शनका संस्कारहरू व्यवस्थित हुन नसक्नु, स्पष्ट नीतिनियमहरूको अभावले नयाँ सिनेकर्मीहरू मारमा परेका छन्। बजारका सम्भावना भन्दा चर्का लगानी खन्याएर उनीहरूले आफूलाई दाउमा लगाएका छन्। बजारले भरथेग गरिहाल्ला कि भनेर प्रचारप्रसारमा निर्माण खर्चजति नै खन्याइदिन्छन्। तर रूखो, निर्दयी बजारले कलिला सिनेकर्मीहरूको छाती कुल्चिएर हिँडेको छ। सीमित सम्भावनाहरूको मारमा सिनेकर्मीहरूलाई सिर्जनशील प्रयोग गर्न छुट छैन। पलपलमा दर्शकहरूलाई भुलाउने भारी बोकेर बजारमा निक्लने सिनेमाहरूबाट सिर्जनशील छलाङको अपेक्षा राख्नु व्यर्थ हुनेछ। जुन सिनेमाहरूको फगत उद्देश्य नै मान्छेलाई मनोरञ्जन थोपरेर पैसा असुल गर्ने हो, ती सिनेमाहरूले गम्भीर सांस्कृतिक दायित्व बोक्न सक्दैनन्। अझ जहाँ सीमित दर्शकहरू छन्, दर्शकहरूको सीमित स्वाद छन्, ती स्वादलाई तृप्त गर्न सीमापारिबाट अनेक रंग बोकेर प्रत्येक हप्ता, बिनालगाम विदेशी सिनेमाहरू भित्रने गर्छन्। हाम्रो कमजोर पँुजी र प्रविधिले बनेका सिनेमाहरूलाई विदेशी साँढेहरूसँग जुधाउन बजारमा हुलिन्छ— जा गएर मर भन्ने भावमा। अनि हाम्रा अविकसित सिनेमाहरू प्रत्येक हप्ता अँध्यारा थिएटरहरूमा आत्महत्या गर्न विवश छन्। यस्तो उकुसमुकुस वातावरणमा बसेर एक सिनेमाको सर्जकले समाजको भारी बोक्न सक्दैन। भनिन्छ, जब इकोनोमीले ढोका ढक्ढक्याउँछ, कला भन्ने जिनिस, झ्यालबाट हामफालेर कुलेलम ठोक्छ।
यी सबै निरस वातावरणभित्र पनि केही ऊर्जाका खानी बोकेका युवाहरू सिनेकर्ममा आफूलाई समर्पण गरेर लागिपरेका छन्। यो आफैंमा सम्मान योग्य कुरा हो। राज्यको उदासीनता, बजारको अस्तव्यस्तता र सीमित सम्भावनाले डाकेका अँध्यारो भविष्यलाई स्वीकार गर्दै सिनेमालाई आफ्नो भोकेसनको रूपमा अंगीकार गरेका सिनेकर्मीहरूलाई धाप मार्नुपर्छ। बेलाबेला संकटकालको रातो बत्ती बालेर आराम गर्न खोजेको सिनेमा उद्योगलाई केही सिर्जनशील युवाहरूको क्षमताले बचाइदिएको छ। धेरै सीमितताको बीचबाट विदेशी बलिया सिनेमाहरूलाई पछार्दै उनीहरूले दर्शक कमाएका छन्। सिनेमा उद्योगको संस्कार बचाएका छन्। नेपाली सिनेमाको गहु्रँगो भारी आफ्ना दुब्ला काँधमा थामेका छन्। उनीहरूलाई सम्मान दिनुपर्छ। सौन्दर्यचेतना र कलात्मक शिल्पकारिताको वाण हानेर उनीहरूलाई विचलित पार्नु ठीक होइन। कला चेतनाको बाटो यो हुँदै होइन, उनीहरूलाई संस्कृतिको ठेक्का लिनु छैन, केवल अव्यवस्थित बजारमा आफू बच्ने जोहो गर्नु छ। सिनेमासम्बन्धी गम्भीर डिस्कोर्सहरू सहरमा भइरहँदा, अहिलेका चलनचल्तीका सिनेमाहरूको आत्मा, बजारमा बिक्न धेयमा अड्किएको छ भन्ने कुरा छुटेझैं लाग्छ।
नेपाली सिनेमाको परिधि फराकिलो बनाउनका लागि सबैभन्दा पहिले यसको बजार व्यवस्थापन गर्न जरुरी छ। खुला, बेलगाम बजारको नियमले सिनेमाको सौन्दर्यलाइ थिच्दै लानेछ। आफ्नो खल्तीबाट सकीनसकी खर्च गरेर सिनेमा निर्माण गर्नेहरू टाट पल्टने अनि बिचौलियाहरूको कमाई खाने भाँडोका रूपमा सिनेमा उद्योग जुन बेलासम्म रहिरहन्छ, त्यो बेलासम्म सुन्दर सिनेमा संस्कार निर्माण नहोला। मान्छेहरूलाई मुर्गा बनाएर आफ्नो दुनो सोझ्याउने संस्कार हावी रहुन्जेल, हाम्रा सिनेमाका गाथाहरू उराठलाग्दा हुनेछन्।
सिनेमालाई ग्रहण गर्न दर्शकको दायरालाई जति फराकिलो पार्न सकिन्छ, सिनेमाको स्वरूपले त्यति नै स्वरूप फेर्दै जान्छ। कहिल्यै सिनेमा नहेर्ने तहतप्काका मान्छेहरूलाई सिनेमा पनि हेरिने कुरा हो भनेर कसरी लोभ्याउने ? दर्शकहरूका दायरा फराकिलो हुँदो हो त सर्जकहरूलाई आफ्नो सिर्जनाको छनोटमा त्यति डराउनुपर्ने थिएन र हाम्रो सिनेमाको मूलधारको प्रवाहको जग बलियो हुने थियो।
अब सिनेमाका सम्पूर्ण बहस हिपोक्रेटका कर्मकाण्डमा सीमित रहनेछ। भविष्यमा हाम्रो सिनेमाको गाथा गौरवले होइन, खेदले लेखिनेछ।
जब मूलधारका व्यावसायिक सिनेमाले आफ्नो सही धरातल भेट्नेछ अनि मात्रै सिनेमाका फरक सम्भावनाहरूका ढोका खुल्नेछन्। मूलधारको संस्कार नै बलियो नहुन्जेल सिनेमा बजारको खेलाभन्दा माथि उठ्न सक्नेछैन। हाम्रो ज्ञानको दायरा सिनेमालाई मनोरञ्जन उद्योगका रूपमा मात्रै बुझ्ने साँघुरो चिन्तनमा अड्किएको छ। सिने साक्षरताको अभाव छ। मास मनोरञ्जनभन्दा धेरै गहिरो, व्यावसायिक मसलाहरूको भण्डारभन्दा धेरै परसम्म सिनेमाको चेतना फैलिएको हुन्छ। यो बोध हाम्रो संस्कृतिमा छैन। फगत, पैसा सोहोर्न पल्किएका बजारकेन्द्रित सिनेमाहरूलाई नै हामी सर्वेसर्वा ठानिदिन्छांै। सिनेमाका सम्पूर्ण अभीष्ट तिनै सिनेमाबाट पूरा हुने आशा गछौं। अनि निराश हुँदै सिनेमाहरू भड्किए भनेर गुनासो गर्छौं। केही इथिक्स र व्यवस्थाले बाँधेर बजारिया माललाई बजारमै छोडिदिँदा उचित हुनेछ। सिनेमाको स्वरूपलाई सांस्कृतिक चेतनाको गहिराइसम्म जोड्नु छ भने नाफाघाटाको तनावग्रस्त उल्झनबाट यसलाई मुक्त पार्न सक्नुपर्छ। बजारका प्रतिस्पर्धामा अवतरण गरेर थिएटरबाट उत्रनासाथ आफ्नो आयु समाप्त हुने बजारकेन्द्रित सिनेमाहरूले यो धेय पूरा गर्नेछैनन्। खोज त अब यस्तो सिनेमाहरूको हो, जो हाम्रा समाजभित्रबाट निक्लेका प्रवाहलाई सिनेमाको शिल्पमा गहिरोसँग कुद्न सकोस्। समाजका काव्यिक प्रतिविम्ब बनेर चिरकालसम्म प्रभाव छाड्न सकोस्। हाम्रो सिनेमाको भाषा र शैलीहरू निर्माण हुन सकोस्।
देशमै सिनेमाको प्राज्ञिक अध्यन हुन थालेको एक दशक बित्दा, सिनेमालाई गहिरो साधनाका रूपमा अंगीकार गरेका, दर्जनौं सिनेकर्मीहरू उदाउँदा छन्। केही थोरै संख्यामा अघिल्लो पुस्ताका साधकहरू पनि आफ्नो अडानमा दृढ छन्। उनीहरूले स्वतन्त्र रूपमा सिर्जना गर्ने वातावरण पाए भने पक्कै हाम्रो सिनेमाको भाषा बजारको चापबाट मुक्त हुँदो हो। तर यो सम्भावनाको बोध गर्ने निकाय कतै छैन। स्वतन्त्र रूपमा पैसा लगानी गरेर सिनेमा बनाउने आधार बलियो छैन। किनकि बजारको सिनेमा चेतना धेरै साँघुरो छ। नयाँ आयामका नयाँ प्रवाहलाई बजारले बुझ्नेछैन। नयाँ शिल्प र भाषाका लागि गरिएका अनुष्ठानहरू खेर जानेछन् र सिनेमाको यात्रामा जीवन उत्सर्ग गर्ने सोचेको एक युवक निराशाको गुन्टागुन्टी पोको पारेर पलायन हुनेछ।
सिनेमाका फरक स्वादलाई ग्रहण गर्नसक्ने संस्कार हाम्रो यता विकसित भइसकेको छैन। हामीले जेजस्ता सिनेमाहरू हेर्दै सिनेमालाई बुझ्यौं, त्यो बुझाइ भ्यागुताको संसार बुझाइजस्तो छ। सिनेमाको अथाह सम्भावना र यसले बाँड्ने गहिरो आनन्दको रस लिन हामीले जानेनौं। किनकि हामीले त्यसको स्वाद चाख्नै पाएनौं। हामीलाई सीमित सूत्रहरू जोडेर आएका सिनेमाहरूले हुर्काउँदै लगे, हामीले सिनेमा यति नै त हो भनेर आफ्नो बुझाइमा बिर्को लगाइदियौं। फरक स्वादका सिनेमाको भोक हाम्रो मनमा गुज्रेन।
सिनेमाका भोक जगाउन सबैभन्दा पहिले सिनेमाहरू नै चाहिन्छन्। हेरिआएको चिल्ला, उडन्ते सिनेमाहरूभन्दा फरक गम्भीर र शान्त सिनेमा देखेर केही समय मानिसहरू छटपटाउनेछन्। आफ्ना वैयक्तिक स्वादभन्दा फरक स्वाद बोकी आउने सिनेमाहरू मान्छेहरूको माझ भिज्नका लागि एउटा समयको प्रतीक्षा गर्नुपर्नेछ। जस्तो कि भर्खर सिनेमा स्कुल छिरेको विद्यार्थीलाई पहिलोपटक अन्तर्राष्ट्रिय सिनेमा देखाउँदा छटपटाउँछ। विस्तारै त्यो सिनेमालाई मनभित्रैबाट स्वीकार गर्छ, बारम्बार हेर्छ र रमाउँछ। समाजमा सिनेमाको ग्रहण पनि अप्ठ्यारा प्रक्रियाहरूबाट गुज्रँदै मान्छेको मन जित्ने संस्कृतिको रूपमा स्थापित हुन समय लाग्नेछ। एउटा लामो प्रक्रियापछि मात्र हाम्रोमा नयाँ सिनेफिलियाको विकास हुनसक्छ। सिनेमाको वाचकीमा खोजिएका सम्भावनाहरूले दर्शकहरूमा सिने साक्षरता फराकिलो हुँदै जानेछ। सिनेमा थिएटरसम्म जान नाक खुम्च्याउने वर्गलाई सिनेमाको लत लाग्नेछ। सिनेमाले नवीन दर्शक पाउनेछ र एउटा फरक सिनेफिलिया जन्मनेछ। अनि बल्ल बजारका चापहरूबाट मुक्त भएर स्वतन्त्र सिनेमाहरूले खोज्न थाल्नेछन् आफ्नो शिल्प र शैलीहरू। कला, संस्कृति, जीवन र जगत्का पारखीहरूले, आफूलाई तृप्त गर्ने सबैभन्दा सुन्दर समय अँध्यारा थिएटरहरूमा भेट्नेछन्।
सिनेमाको स्वरूपलाई सिनेफिलिक संस्कृतिमा गाभ्न केही सचेत अभियानहरू आवश्यक छन्। विद्यमान थिएटर र प्रदर्शन प्रणालीले सिनेफिलोक भावना बोक्न सक्नेछैनन्। घम्साघम्सी, भीडभाड र रंगरासभन्दा धेरै पर ससाना एकाइहरूमा कुनै शान्त शालीन नाटकघरजस्तो अथवा गहिरो ध्यान मुद्रामा लिप्त पुस्तकालयजस्तो स्वरूपमा नयाँ थिएटरहरू उम्रन आवश्यक छ। मूलधारका वितरण र प्रदर्शनलाई अनुसरण नगरीकनै फरक सिनेमाहरू, फरक दर्शकहरूमा, फरक तरिकाले पुग्ने, फरक संस्कृतिको आवश्यकता छ। सिनेमाको स्वरूपलाई सम्पूर्ण रूपमा पैसाको खेलामा टिकाउने मूलधारको तौरतरिकाविरुद्ध समानान्तर संस्कृतिको जग बस्न जरुरी छ।
जुनसुकै नयाँ आयाम स्थापित हुनका लागि एउटा पुस्ताको तीव्र इच्छाशक्ति र मेहनत चाहिन्छ र त्यो चिन्तनलाई साथ दिने निकायहरू चाहिन्छन्। चलिआएको गलत प्रवाहलाई छेकेर, थुनेर, खोला सोझ्याउने जिम्मा लिन अहिलेको पुस्ता तयार छ झैं लाग्छ। किनकि उसलाई चलिआएको सिनेमाको संस्कारप्रति तीव्र निराशा छ। उसले विश्व सिनेमाको स्वरूप र आयामहरू बुझेको छ। ऊ सिनेमाको अब्सुलुट स्वरूपको पक्षपाती हो। तर, ती सिनेमाका स्वादहरू हाम्रा संस्कारमा छिरेका छैनन्। अतः सिनेमा शिल्पको गम्भीर स्वरूपको जग हाम्रो संस्कृतिमा गाढेर नै छोड्छु भन्ने अठोट गरेको छ, यो पुस्ताले। तर, उसको आवाज मसिनो छ। उसको कद होचो छ। ऊ भीडमा देखिँदैन र ऊ कराएको सुनिँदैन। बजार थुप्रै गसिप र स्टन्टहरू भजाएर रमाएको छ। बजारलाई यो दृढ आवाज सुन्ने फुर्सद छैन।
अधिकांश देशमा नयाँ लहरको नेतृत्व सिनेमासम्बन्धी लेखक र क्रिटिक्सहरूले गरेका छन्। सिनेमा कस्तो बन्ने भनेर उनीहरूले बाटो देखाएका छन्। र, सिनेकर्मीहरू उनीहरूले देखाएको बाटो हिँड्दा सिनेमाले नयाँ स्वरूप भेटेको छ। तर, हाम्रा क्रिटिक्सहरूमा सिनेमालाई बाटो देखाउने क्षमता देखिँदैन। उनीहरू चलनचल्तीका सिनेमाको प्रवाहमा मिसिएर कुरा गरिदिन्छन्। केही विदेशी फर्मुलाहरूको अनुसरण गर्दै सानो वृत्तका साना सिनेमाहरूलाई तथानाम गाली गरेर, बजारका सम्भावनालाई निस्तेज पारिदिन्छन् र आफ्नो सफलतामा हाइसन्चो मान्छन्। समीक्षकको काम सिनेमालाई केलाएर यसका सुन्दर र कुरूप पक्षहरूको लेखाजोखा गर्नु नै हो तर हाम्रा समीक्षकहरू सिनेमालाई वस्तुगत तहमा केलाउनसक्ने क्षमता राख्छन् कि राख्दैनन् ? समीक्षाहरूको पनि समीक्षा गर्नुपर्छ कि झैं लाग्छ एकफेर। केही अपूरा अधुरा जार्गनहरू थुपारेर सिनेमालाई गाली गर्न पल्केको समीक्षक वृत्त, आफैं सिनेमा साक्षरताको चरम खडेरीबाट गुज्रेको छ। सिनेमाको मार्गनिर्देश गर्न मिडिया सम्हालेर बसेकाहरूमा नै गहिरो बोधको आवश्यकता छ। ता कि उनीहरू वस्तुगत रूपमा सिनेमालाई बाटो देखाउन सकून्।
सिनेमाका सौन्दर्यबोध भएका चिन्तकहरू, ती चिन्तनहरूमा साथ दिने सिनेमाहरू अनि ती सिनेमालाई साथ दिने सिनेफिलियाको संस्कार, जब एकअर्कासँग जोडिन्छन् अनि बल्ल एउटा नयाँ सिनेमा संस्कृतिको जग बस्नेछ। यी सबै कुरालाई गोलघरमा जम्मा गर्न सबैभन्दा पहिले राज्यको दृढ इच्छाशक्तिको खाँचो छ। तर, विडम्बना राज्यको सांस्कृतिक चेतना बोदो छ। ऊसँग शून्य कलाचेतना छ। बजारबाट आएको भत्ता खान पल्किएको उसलाई, सिनेमा बजारबाट उठेर कसरी राष्ट्रको सांस्कृतिक प्रतिनिधि बन्नसक्छ भन्ने कुरामा बेखबर छ।
सिनेमासम्बन्धी नीतिनिर्माणको ठेक्का बोकेर, धोबीखोलाको किनारमा एउटा भीमकाय महल खडा छ। भर्खर सिकार गरेर सुतेको बूढो बाघजस्तो ऊ चिर निद्रामा मस्त छ। उसलाई आफ्नो जिम्मेवारी त्यति राम्रोसँग थाहा छैन। आफ्नो कार्यक्षेत्रबारे भ्रमित छ। आफ्नो उद्देश्यमा विचलित छ। त्यसैले ऊ कहिले मान्छेहरूलाई विदेश घुम्न पठाएर रमिता गर्छ, कहिले फिल्म सिटी बनाउँछु भन्दै डाँडाडाँडा कुदिहिँड्छ। कहिले भने बेफ्वाँकका नियमहरूको पुलिन्दा अघि सारेर तमासा गर्छ। ऊ केही गर्न खोजेझैं गर्छ। तर, चुरो कुरो कहाँ अड्किएको छ, उसलाई त्यति मेसो छैन। समग्र सिनेमा संस्कृतिलाई मार्गनिर्देश गर्न बसेको निकाय आफैं बाटो नभेटेर रनभुल्लमा परेको छ। त्यसैले जुन निकायले एक धक्का लगाएर सिनेमाको स्वरूप निर्माण गर्नु थियो उसलाई नै एउटा बलियो धक्का दिन जरुरी भएझैं लाग्छ।
सिनेमासँग जोडिएका प्रत्येक निकाय तह र तप्कामा सिनेमा साक्षरताको अभियान जरुरी भएको छ। सिनेमाका गहिरा सम्भावनाको बोध र त्यसलाई स्थापित गर्न विविधि तप्काबाट सचेत सहकार्य हुन सकेमा मात्र हाम्रो सिनेमाको स्वरूप बस्न सक्ला। होइन भने, बिनालगाम, भद्रगोल बजारको चापमा सिनेमा, जीवन र जगत्, कलाचैतन्यबाट विमुख हुँदै एउटा उडन्ते सपनामा बाँचेका मात्रै रहनेछन्। सिनेमाका सम्पूर्ण बहस हिपोक्रेटहरूका कर्मकाण्डमा सीमित रहनेछन्। अनि भविष्यमा हाम्रो सिनेमाको गाथा गौरवले होइन, खेदले लेखिनेछ।