चौकीदार सार्दा कैदीबन्दी विरोधमा
विराटनगर : अकुत सम्पत्ति आर्जन र गैरकानुनी असुलीलगायत मुद्दामा मोरङ कारागारमा रहेका अभिषेक गिरीलाई सार्दा कैदीबन्दी त्यसविरुद्ध उत्रिएका छन्। विराटनगर क्षेत्रमा ‘गुन्डा नाइके’का रूपमा चिनिएका कारागारमा चौकीदारका रूपमा कार्यरत थिए।
उनलाई कारागार प्रशासनले शुक्रबार विराटनगरबाट सार्न लागेपछि कैदीबन्दी नाराबाजी गर्दै त्यसको विरोधमा उत्रिएका हुन्। कारागार प्रशासनले भने गिरीलाई सरुवा गरिएको विषयमा खुलाउन चाहेको छैन। कारागारको छत र छानामा उक्लिएर कैदीबन्दीले नाराबाजी गरेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
गिरी अवैध सम्पत्ति आर्जन, अपहरण, असुलीलगायत मुद्दामा कारागार चलान भएका थिए। कांग्रेसको भ्रातृसंगठन तरुण दलमा सक्रिय रहेका उनी अवैध धन्दामा लागेका थिए। उनले पछिल्लो समय कारागारको चौकीदारका रूपमा जिम्मेवारी पाएका थिए।
कारागारबाटै अवैध रूपमा आर्थिक गतिविधि थालेको आरोप लगाई विराटनगरबाट अन्यत्र सारिएको दाबी गर्दै उनकी दिदी रिना गिरी दाहालले गरिन्। भनिन्, ‘मेरो भाइलाई फसाउन नयाँ आरोप लगाएर जेल सारेका हुन्।’ उनको ज्यानको सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको उनले सुनाइन्।
हाटखोलास्थित कारागारका कैदीबैन्दीले गिरी सरुवाको विरोधमा नाराबाजी गर्न थालेपछि सडकबाट रमिता हेर्नेको भीड लागेको थियो। भीडका कारण ट्राफिक जाम भएको थियो।
जेलर शंकर पौडेलले आफू भर्खरै सरुवा भई विराटनगर आएको सुनाउँदै जेलको आन्दोलन तथा चौकीदार गिरीको सरुवाका विषयमा जानकारी नभएको बताए। भने, ‘मलाई यो विषयमा केही थाहा छैन।’ गिरीलाई काठमाडौं सारिएको भनिए पनि पौडेलले यसको पुष्टि गरेनन्।
प्रहरीले शुक्रबार दिउँसो ३ बजे व्यापक सुरक्षासहित रातो रंगको कारमा राखेर गिरीलाई जेलबाट बाहिर निकालेको थियो।