'१२ वर्ष भो टेबलटेनिस खेल्न थालेको'
काठमाडौं : पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शान्ति सम्झौतापछि निरन्तर टेबलटेनिस खेल्दै आएको बताएका छन्।विश्व टेबलटेनिस दिवसका अवसरमा ललितपुर जिल्ला टेबलटेनिस संघले आयोजना गरेको कार्यक्रममा दाहालले चितवनमा बीएससी पढ्दा टेबलटेनिस खेल्न सिकेको बताए। ‘शान्ति सम्झौता पछि १०-१२ वर्ष भो मैले निरन्तर टेबलटेनिस खेल्न सुरु गरेको। प्रधानमन्त्री हुँदा पनि खेल्न छाँडिन। बरु बालुवाटरमा टेबलटेनिसका लागि छुट्टै भवन बनाए’ अध्यक्ष दाहालले भने।
उनले अनुशासित र स्वस्थ समाज निर्माणका साथै राष्ट्रलाई एकताबद्ध गर्न खेलकुद महत्वपूर्ण क्षेत्र भएको बताउदै आफू दुवै पटक प्रधानमन्त्री हुँदा खेल क्षेत्रको विकासका लागि निरन्तर प्रयास गरेको बताए।
कार्यक्रमपछि दाहालले केक काट्नुका साथै राष्ट्रिय खेलकुद परिषद्का सदस्य समेत रहेका ललितपुर जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुदील शाहीसँग टेबलटेनिस खेलेका थिए।